मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २४ बुधबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार

प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार ०८:२९:००

प्रहरीले धरान उपमहानगरपालिका– ७ भानुचोकस्थित सुमन फार्मेसीका सञ्चालक विनयकुमार गुरुङलाई मंगलबार पक्राउ गरेको छ । प्रतिबन्धित औषधि लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फार्मेसीबाट प्रिगावालिन ४० पत्ता, प्रेगास्टार ४० र डाइसाइक्लोमिन ४० पत्ता बरामद गरेको जानकारी दिए । ‘औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सनविना औषधि बेच्ने गरेको सूचना थियो । लामो अनुसन्धानपछि पक्राउ गरेका हौँ,’ डिएसपी बस्नेतले भने, ‘धरानमा केही औषधिपसलेले लागुऔषध प्रयोगकर्तालाई यस्ता औषधि बिक्री गर्ने गरेको सूचना आएकाले निगरानीमा राखेका छौँ ।’

औषधि व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार फार्मेसीमा छापा मार्दा लागत मूल्यभन्दा तीन गुणा बढी पैसा असुल गरी चिकित्सकको प्रेस्क्रिप्सनविना लागुऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको पाइएको छ । फार्मेसी सञ्चालक गुरुङले एपाबालिन–७५ कम्पनीको ‘प्रिगावालिन’, ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधि बिक्री गरेको पाइएपछि पक्राउ गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीले बताए । उल्लिखित औषधि विभागमा दर्ता भए पनि चिकित्सकले प्रेस्क्रिप्सन लेखिदिएमा मात्र बिक्री गर्न पाइने उनको भनाइ छ ।

यी औषधि नसाको समस्या भएका बिरामीले प्रयोग गर्छन् । तर, हिजोआज विभिन्न औषधि मिसाएर लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्दै आएका छन् । ५० देखि ६० रुपैयाँ पर्ने औषधि फार्मेसी सञ्चालक गुरुङले दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । उनलाई औषधि ऐन, २०३५ को दफा १८ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।