Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
धनकुमारी सुनार
२०७७ असार २४ बुधबार ०८:५३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सरकारी खातामा मलर सदा र सूर्यबहादुर तामाङहरू 

कोरोना भाइरसभन्दा खतरनाक रहेछ भोक, बलात्कार र जातको नाममा हुने सामूहिक हत्या अनि हिंसा

Read Time : > 5 मिनेट
धनकुमारी सुनार
२०७७ असार २४ बुधबार ०८:५३:००

बितेका तीन महिना मुलुकमा मानिस घरभित्र बन्द मात्र भएनन्, बरु बन्दाबन्दीमा गरिब, महिला, दलित, जनजाति र अल्पसंख्यक भोक, रोग र हिंसाबाट आक्रान्त बने । समृद्घ नेपाल र सुखी नेपालीको महान् गफ यात्रामा रहेका खड्गप्रसाद ओलीको सरकारलाई जनताको नाउँमा सिन्को नभाँची उखानटुक्काको महारथमा अर्को एक सजिलो बहाना भयो बन्दाबन्दी । कोरोना कहर संसारभरका नालायक शासकलाई झैँ हाम्रोमा पनि लाज ढाक्ने माध्यम बन्यो । हुनेखाने र मुठीभर शासकबाहेकलाई बन्दाबन्दी खान पाउने अधिकारको हरण, अर्थ आर्जनको हरण र भुइँमान्छेको त जीवनकै हरण बन्दै छ । कोरोना कहरले गरिब, दलित, महिला र जनजातिको वर्ग र वर्ण पनि सर्लक्कै छुट्यायो । कोरोना भाइरसभन्दा खतरनाक रहेछ, भोक, बलात्कार र जातको नाममा हुने सामूहिक हत्या अनि हिंसा ।

बेनाम सदा र तामाङहरू : बन्दाबन्दीको डेढ महिनामा भोकमरीले मारिनेमा पहिलो खाता खोल्ने व्यक्ति बने दलित मुसहर मलर सदा, जसले जेठ ५ मा सप्तरी पथरीमा भोकमरीकै कारण प्राण त्यागे । जात व्यवस्थालाई सामान्यीकरण गर्दै सबै समान छौँ, हाम्रो रामराज्यमा कुनै भेदभाव छैन भन्ने भ्रम छर्दै गरेका वर्तमान शासकलाई मलर सदाको मृत्युले पक्कै गिज्याएको हुनुपर्छ । चार दिनसम्म घरमा चुलो नबलेपछि मलर सदा घरबाट कोदालो र छाता लिएर सिदहा (खाद्यान्न) लिन हिँडेको केही बेरमै नजिकैको खेतमा लडे र कहिल्यै नब्युँझने गरी सदाका लागि बिदा भए । तथ्य भन्छ- तराईका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् ५ लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तीमध्ये पनि २ लाख ३४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् १ लाख ८५ हजारसँग घर बनाउने भूमिसमेत छैन । र, राष्ट्रको औसत खाद्यान्न पर्याप्तता ७७ प्रतिशत रहँदा मधेसी दलितको ५३.७ प्रतिशत मात्रै छ । ४६ प्रतिशत मधेसी दलितले वर्षभर दुई छाक पूरा खान पाउँदैनन् । मधेसी दलित सयौँ वर्षदेखिको आर्थिक र सामाजिक हिंसामा मारिएको-मारियै छन्, तिनैमध्ये एक हुन्, मलर सदा। 

मलर सदाको भोकमरीबाट मृत्यु भएको पाँच दिनपछि राजधानीस्थित कीर्तिपुरमा जेठ १० गते सूर्यबहादुर तामाङ सडककिनारामा मृत भेटिए । संयोग मात्रै होइन, मधेसमा प्रथम दलित र दोस्रोमा तामाङको बेवारिसे मृत्यु हुनु । समाचारमा जनाइएअनुसार सूर्यबहादुर वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्थेे । उनको मृत्युको दुई महिनाअघिबाट सुरु भएको लकडाउनले उनलाई बेरोजगार बनाइदियो । उनले काम त गुमाए नै आफ्नो थातथलो पनि जान नसक्ने भए । अन्ततः उनी सदाका लागि यो संसारबाट विश्राम लिन बाध्य भए । 

मृत्युपर्यन्त राज्यसँग कुनै नाता कायम गर्न नसकेका मलर सदा र सूर्यबहादुर तामाङहरू सरकारको खातामा हिजो पनि गुमनाम थिए, आज पनि गुमनाम र बेनामे छन् 

अर्धमनुवादको वर्णवादी समाजमा मधेसी दलित तथा तामाङहरूको गरिबी र भोकका कारण मृत्यु हुनु स्वाभाविक हो । त्यसैले भोक, रोग र गरिबीको एकमुष्ठ उपहार पाए सूर्यबहादुर तामाङले । मृत्युपर्यन्त राज्यसँग कुनै नाता कायम गर्न नसकेका सूर्यबहादुर सरकारको खातामा हिजो पनि गुमनाम थिए, आज पनि गुमनाम र बेनामे छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन्, ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ प्रधानमन्त्री ओली भाषणपिच्छे उर्दी जारी गर्छन्, ‘अब यो देशमा भोक र जाडोले कोही मर्नेछैन ।’ तर,सरकारको भनाइ र गराइमा गज्जबको नाटकीय विरोधाभास तब देखिन्छ, जब मलर सदा र सूर्यबहादुर तामाङहरू भोक र गरिबीले भकाभक मर्छन् । यसो हेरिल्याउँदा कथित कम्युनिस्टको दलाल, घुसखोरी झुण्डले यसैगरी लुट र भ्रम मच्चाइराख्ने हो भने सरकारी अरिंगालबाहेकका हामीजस्ता सर्वसाधारणको भागमा मलर सदा र सूर्यबहादुरकै जस्तो मरण निश्चित छ । 

दलितको शवलाई पनि अपमान : धनुषा सबैला-१२ का ट्र्याक्टर चालक शम्भु सदालाई ट्र्याक्टर मालिकको भतिजोले दुर्घटना गराई मारिएकी महिलाको अपराध आफ्नो थाप्लोमा लिन बाध्य बनाइयो । ट्र्याक्टर मालिकको भतिजोको लाइसेन्ससमेत थिएन । ट्र्याक्टर मालिकको अनुरोधमा शम्भुलाई पक्राउ गरी हिरासतमा हालिन्छ । १२ दिनसम्म उनलाई यातना दिइन्छ । गर्दै नगरेको अपराध कबुल गर्न नमानेपछि कुटेर मारिन्छ । र, जेठ २७ मा शम्भु सदाले प्रहरी कार्यालयभित्र झुन्डिएर आत्महत्या गरेको नाटक मञ्चन गरिन्छ । नाटकको मञ्चन प्रहरी इन्स्पेक्टर, ट्र्याक्टर मालिक र वडाका जनप्रतिनिधि मिलेर गरिन्छ ।

शम्भुको हत्यापछि राति ३ बजे शम्भुका आमा र श्रीमतीलाई लिन प्रहरी र ट्र्याक्टर मालिक आउँछन् । आमालाई जबर्जस्ती प्रहरी कस्टडीमा शम्भुले आत्महत्या गरेको हो भन्ने कागजमा सही गर्न भनिन्छ । शम्भुको आमाले ‘दिउँसोसम्म सग्लो भेटेको छोराले आत्महत्या गर्न नसक्ने र आफूले सही नगर्ने’ बताएपछि स्वास्थ्यकर्मीको सहयोगमा बेहोस पारेर उनको औँठा छाप लगाइन्छ । त्यति मात्र होइन, शम्भुकी आमा स्यालीदेवीका अनुसार उनले प्रहरी, ट्र्याक्टर मालिक र वडा अध्यक्षको कुरा नमानेपछि मृतक शम्भुको शवलार्ई लात्तीले हान्दै ‘यो मुसहरलाई मार्दा के हुन्छ र?’ भनेर आमाकै अगाडि मृतकको अपमान गरिन्छ । जात व्यवस्था कतिसम्म कठोर र घृणित चिन्तन रहेछ त ? मरेको मान्छेलाई समेत लात्ताले हानेर अपमानित गर्ने विकृत मनोविज्ञान कहाँबाट आउँछ होला, कथित ठूला भनिएका जातलाई ?

अंगिराको बलात्कार स्वाभाविक हो ? : नेपाली समाजमा एउटा आमकथन छ– ‘सेक्स चल्ने, तर पानी नचल्ने’ अर्थात् दलित महिलासँग यौनाकांक्षा मेट्न सकिने, तर उसले छोएको पानी नचल्ने । रुकुममा दलितको नरसंहारसँगै रुपन्देहीको देवदहमा जेठ १० गते १३ वर्षीया मधेसी दलित किशोरी अंगिरा पासीलाई २५ वर्षीय कथित माथिल्लो जातको युवाले ललाइफकाइ बलात्कार गर्छ । उनीहरूको विषयलाई लिएर गाउँमा कचहरी बस्छ । कचहरीको नेतृत्व वडाकै अध्यक्षले गर्छन् । र, अन्त्यमा अंगिरालाई बलात्कारीको जिम्मा लगाइन्छ । बलात्कारीको पछि लागेर जब अंगिरा युवकको घर पुग्छिन्, उनी तल्लो जातको भएकाले दुत्कारिन्छिन् । घरभित्र छिर्न दिइँदैन र अन्ततः १३ वर्षीया अबोध बालिकाको विकल्प मृत्यु बन्न पुग्छ ।

कतिसम्म विडम्बना हो यो, हामी बाँचेको अहिलेको समाज, राजनीतिक व्यक्ति र राज्यका जनप्रतिनिधिले १३ वर्षे बलात्कृत बालिकाको जीवनको फैसला बलात्कारीकै हातमा सुम्पिदिन्छन् । घटनाको पृष्ठभूमिअनुसार अंगिराले गरेको भनिएको अपराधको छिनोफानो गर्न वडा अध्यक्षसहित बसेको कचहरीको समय जम्मा ५ मिनेटको थियो । छलफलले किशोरी अंगिरा र २५ वर्षीय युवाबीच विवाह गराउनु नै समाजका लागि उत्तम देख्छ । त्यहाँ न्याय भन्ने शब्दको कुनै अस्तित्व छैन । दलित परिवार र अबोध अंगिराको न्यायको पक्षमा बोलिदिने कोही हुँदैन । समाजको निर्णय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा झुन्डिएको अवस्थामा भेटिन्छिन् । प्रस्ट छ, यो समाज र राज्यद्वारा नै उनी मारिइन्, किनकि उनी दलित र गरिब थिइन् । 

प्रदेश नम्बर ५ को राजधानी रहेको रूपन्देहीको देवदह केपी ओलीको समृद्घिको सपनाका उत्तराधिकारीका रूपमा रहेका नेकपा स्थायी कमिटीका सदस्य छविलाल विश्वकर्माको निर्वाचन क्षेत्र हो । दलित किशोरी अंगिराको बलात्कारपछिको हत्याले किञ्चित पोल्यो कि पोलेन होला उनलाई ? अंगिराको न्यायका लागि लडिरहेका स्थानीय न्यायप्रेमीका अनुसार अहिलेसम्म छविलाल विश्वकर्माले अंगिराको घटनामा कुनै चासो देखाएका छैनन् । दलित समुदायको काँध चढेर सत्तामा गएका उनी वास्तविक उत्पीडनमा रहेका दलितका लागि शासकमुनिका अर्का शासक भएका छन् । जसरी जाजरकोटमा नवराजलगायत ६ जनाको जातीय नरसंहारमा शक्ति बस्नेत लामो समयदेखि मौन बसेका छन्, त्यसैगरी छविलाल पनि मौन छन् । 

रुकुम घटनामा शक्ति बस्नेत मार्काको मौनतालाई जात व्यवस्थामा उत्पीडकका हिसाबले स्विकार्न सकिएला, तर छविलालको मौनताले के संकेत गर्छ ? हुन त सधैँ नेकपामा दलितको कोटामा सांसद, मन्त्री र पार्टीमा हैसियत बनाएका छविलालको विशेष क्षमता भनेकै अन्यायमा मौनता साध्नु हो, अर्थात् सत्ता र शक्तिदेखि बेदखल हुन नचाहनु हो । देशभरि दलित समुदायमाथि हत्या–हिंसा हुँदा पनि वर्णवादी पार्टी नेतृत्वको उर्दी मानेर सशक्त प्रतिरोध गर्न नसकेका नेकपाका दलित नेताहरू बल्ल एक महिनापछि सडकमा निस्किनुले उनीहरूको चरम लाचारीपनलाई नै छर्लंग पार्छ ।

उपेक्षामा महिला स्वास्थ्य र सुरक्षा : बन्दाबन्दीयता महिलामाथि हुने घरेलु र अन्य खालका हिंसा ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । बन्दाबन्दी घोषणा गरिएको चैत महिनामा मात्रै ५३ जना सुत्केरी महिलाले ज्यान गुमाए । जबकि अघिल्लो वर्षको त्यसै अवधिमा भने मातृमृत्यु संख्या शून्य थियो । बन्दाबन्दीका कारण एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर छन् । चैतदेखि जेठ १० सम्म प्रहरीकै रेकर्डअनुसार दुई सय ७४ वटा बलात्कार र ६२ वटा जबर्जस्ती करणी प्रयासका घटना बाहिर आएका छन् । घरेलु हिंसाका घटना तीन सय ७४ वटा छन् । कोभिड-१९ कै कारण पहिलो ज्यान गुमाउने व्यक्ति सुत्केरी आमा नै थिइन् । 

संकटका वेलासमेत राज्यको ढुकुटीमा राइँदाइँ र चरम कमिसनखोरी भइरहँदा सुत्केरी गरिब महिला मातृ स्वास्थ्यको आधारभूत उपचार नपाएर मर्न बाध्य भए । गरिबहरू खाना र उपचार नपाएर मरिरहेका छन्, अर्कोतिर देशको अभिभावकको स्थानमा विराजमान राष्ट्रपतिको भवन सजावटमा करोडाँैको खर्चमा महँगा र विलासी गलैंचा खरिदका कथाहरू बाहिरिएका छन् ।

क्वारेन्टाइन स्थलहरू लैंगिकमैत्री बन्न नसक्दा महिलाले अनेकन् पीडा खेप्दै आएका छन् । कोभिड-१९ रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय संयन्त्र सिसिएमसीमा एकजना पनि महिला प्रतिनिधि छैनन् । महिला क्वारेन्टाइन स्थलमा सामान्य चुकुलको व्यवस्था नहुँदा कैलालीको चुहामा एक महिलाको सामूहिक बलात्कार हुन्छ । क्वारेन्टाइनको सुरक्षा र स्वास्थ्य सेवाका लागि खटिएका व्यक्ति नै सामूहिक बलात्कारजस्तो जघन्य अपराधमा होमिनुले के सन्देश दिन्छ ? क्वारेन्टाइनमा रहने बच्चासहितकी आमा, महिनावारी भएको र गर्भवती महिलाको विशेष अवस्था सम्बोधन गर्ने वातावरणको सुनिश्चितता जरुरी छ । तर, त्यसका लागि पनि धैरै ढिलो भइसक्यो । 

अन्त्यमा : डा. सन्जीव उप्रेती लेख्छन्– अहिलेसम्म विभिन्न किसिमका (जात, लिंग र वर्गको) विशेष संरचनात्मक लाभांश लिनेले आफूलाई अप्ठेरो र आत्मालोचनात्मक प्रश्न गर्न डराउँछ । किनकि यस्ता प्रश्नले हाम्रो वर्गीय, जातीय, लैंगिक परिचयलाई खलबल्याउँछ । आफ्नो वर्ग, लिंग, जात आदिसित जोडिएका स्वार्थलाई समेत चुनौती दिन्छ । आफूले पाएका संरचनात्मक लाभांशबारे अप्ठेरा प्रश्न नगर्ने भएकै कारणले हाम्रा संरचनात्मक असंवेदनशीलतासमेत झांगिँदै गएका छन् । हाम्रो समाज महिला, दलित, मधेसी र जनजातिलाई सयौँ वर्षदेखि चुप लगाएर विकसित भएको हो । त्यसैले थोरैले बोल्ने र धेरैले सुन्नुपर्ने बाध्यात्मक संस्कृतिको अन्त्य गर्न जरुरी छ । आफैँलाई र अरूलाई पनि आलोचनात्मक प्रश्न गर्न नडराऔँ । तमाम असमानता, विभेद र विकृतिविरुद्घ प्रश्न गर्ने वेला हो यो ।