मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना परीक्षण गराउन आउनेको भिड । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गरेपछि घरबेटीले पिसिआर रिपोर्ट मागेपछि टेकु अस्पातलमा भिड बढेको छ । साथै, सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम पनि उच्च देखिएको छ ।
अर्जुन अधिकारी काठमाडाैं
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ असार २४ बुधबार ०४:०८:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना संक्रमितले भरिए काठमाडौंका कोभिड अस्पताल

अस्पतालमा क्षमताभन्दा बढी संक्रमित आएपछि उपचारमा समस्या, चिकित्सक भन्छन्– उपत्यकामा कोरोनाको जोखिम कायमै

Read Time : > 4 मिनेट
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ असार २४ बुधबार ०४:०८:००

संक्रमित थपिँदै छन्, तर बेड नहुँदा समस्या छ : डा. अनुप बाँस्तोला, कोभिड चिकित्सक

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यानभएको देखिएन । 

करिब दुई महिना खाली भएका काठमाडौं उपत्यकाका कोभिड अस्पताल फेरि भरिएका छन् । उपत्यकामा दैनिक कोरोना संक्रमित बढ्न थालेको एक हप्तामै कोभिड संक्रमितको उपचार गर्न तोकिएका तीन अस्पताल भरिएका हुन् ।

कोभिड उपचारका लागि सरकारले उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेभल टु अस्पतालका रूपमा तोकेको छ । केही दिनयता उपत्यकामा कोभिड संक्रमित बढ्न थालेपछि तीन अस्पताल भरिएको जनाएको छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार कोभिडका लागि तय भएका बेडहरू भरिएका छन् । 

सरकारले शंकास्पद व्यक्तिका लागि कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र र भक्तपुरको खरिपाटी विद्युत् प्राधिकरणको तालिम केन्द्रमा एक हजार बेड क्षमताको आइसोलेसन कक्ष बनाउने तयारी गरेको थियो । तर, काम अघि नबढ्दा अब शंकास्पद व्यक्तिलाई राख्न कोभिड अस्पताललाई समस्या भएको छ । कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाका अनुसार सरकारले शंकास्पद व्यक्तिको उचित व्यवस्थापनमा ध्यान नदिए गम्भीर समस्या आउनेछ । 

चिकित्सकहरूले उपत्यकामा हिँड्डुलमा लापरबाही भइरहेकाले जोखिमको चेतावनी दिँदै आएका छन् । झन् तीनवटै अस्पताल भरिएपछि चिकित्सक पनि तनावमा छन् । 

‘टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ,’ डा. बाँस्तोलाले भने । अझ विदेशबाट ल्याएका मानिसलाई होटेलमा राखिएको बताए पनि कुन होटेलमा कसरी बसिरहेका छन् भन्ने कसैले ध्यान नदिएकाले जोखिम बढेको उनको भनाइ छ । 

टेकु अस्पतालमा आइसोलेसनका लागि एक सय बेड तय गरिएको भए पनि दूरी कायम गर्दा ३५ बेड मात्रै तयार भएका छन् । निर्देशक डा.राजभण्डारीका अनुसार आइसियू २० बेड, भेन्टिलेटर नौ, तालिमप्राप्त स्वास्थ्यकर्मी १० जना, एम्बुलेन्स एक, एक्सरे दुई र अत्याधुनिक सिटिस्क्यान एउटा छ । अहिले ३५ जना संक्रमितको उपचार भइरहेको छ भने सातजना आइसियूमा भर्ना भएका छन् । 

त्यस्तै, पाटन अस्पताललाई सरकारले सुरुवाती दिनबाट कोभिड अस्पताल अर्थात् लेभल टु अस्पतालका रूपमा सूचीकृत गरेको थियो । ६ सय बेड रहेको पाटनमा संक्रमितका लागि ४५ बेड आइसोलेसन, शंकास्पदका लागि १५ बेड आइसोलेसन र आइसियू २१ बेड गरी ८१ बेड छुट्याएको छ । त्यस्तै, भेन्टिलेटर १५ छन् । अस्पतालका डा. आशिष श्रेष्ठले ८१ मध्ये संक्रमितका लागि राखिएको ४५ बेडको आइसोलेसनमा ४९ जना भर्ना छन् । 

त्यस्तै, शंकास्पद व्यक्ति राख्न बनाइएको १५ बेडको आइसोलेसनमा दोब्बर संक्रमित राखिएको छ । एउटा रुममा दुईजना संक्रमित राखिएको डा. श्रेष्ठले बताए । सोमबार मात्रै ४९ जना संक्रमित भर्ना भएका छन् । संक्रमितमध्ये चारजनालाई आइसियूमा भर्ना गरिएको छ । बेड अभाव हुँदा केहीलाई इमर्जेन्सीमा राखिएको छ । क्षमताभन्दा बढी संक्रमित आएपछि अस्पतालले एक सय वार्ड कोभिडका लागि खोल्ने तयारी गरेको जनाएको छ । 

सोमबार मात्रै पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । ‘अब उनीहरूलाई कहाँ र कसरी राख्ने भन्नेमा हामी अन्योलमा छौँ,’ डा. श्रेष्ठले भने । पाटनमा ४० स्वास्थ्यकर्मी तालिमप्राप्त छन् भने कोभिडका लागि एक एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । अस्पतालमा चारवटा एक्सरे मेसिन, दुई सिटिस्क्यान र एक एमआरआई मेसिन रहेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालले एक सय २० बेड कोभिड बिरामीका लागि छुट्याएको छ । सोमबार साँझसम्म ६३ जना संक्रमित उपचाररत छन् । त्यस्तै, २० जना शंकास्पद व्यक्ति आइसोलेसनमा छन् । अस्पतालका अनुसार कोभिडका लागि २० बेड आइसियू र १० वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । आठ स्वास्थ्यकर्मी तालिमप्राप्त रहेका छन् । सशस्त्र प्रहरी अस्पतालले तीन एम्बुलेन्स तयारी राखेको छ । त्यस्तै, दुइटा एक्सरे मेसिन र एउटा एमआरआई मेसिन सञ्चालनमा छ । यसैगरी, काठमाडौं मेडिकल कलेजको भक्तपुरस्थित दुवाकोट अस्पताल १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

लकडाउन खुकुलो भएसँगै टेकु अस्पतालमा मात्रै दैनिक एक हजार मानिस कोरोना परीक्षणका लागि आउने गरेका छन् । ‘उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा राज्यले नै सोचेको छैन,’ डा. बाँस्तोला भन्छन् । होटेल र घरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको कसैले थाहा नपाउने गरी तरकारी किन्नेदेखि विभिन्न नाममा खुला रूपमा बाहिर निस्किने गरेको र कतिपय जबर्जस्ती घर जाँदा त्यहाँ पोजेटिभ देखिएको उनले बताए । ‘उपत्यकामा केस बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यान भएको देखिएन,’ डा.बाँस्तोलाले भने, ‘व्यवस्थित आइसोलेसनदेखि अटोमेटिक कार्डको व्यवस्था नभए लक्षणविहीन संक्रमितले अन्य कैयौँलाई सार्नेछन् ।’

चार जिल्ला कोरोनामुक्त

स्वास्थ्य मन्त्रालयले चार जिल्लालाई कोरोनामुक्त घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ७७ वटै जिल्लामा कोरोना भाइरस संक्रमण देखिए पनि तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमण शून्य भएको बताए । तर, कुनै पनि समय जोखिम हुने भन्दै सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । 

संक्रमित घट्दो क्रममा 

२४ घन्टामा थप दुई सय चारजनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ  । संक्रमितमध्ये सात हजार चार सय ९९ जना निको भएका छन् । कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

केही दिनयता अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढ्न थालेको छ । गम्भीर बिरामी नभएका कारण लक्षणविहीनहरू औसतमा १५ दिनपछि निको भएको पाइएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले संक्रमित हुने क्रम घटिरहेको बताए । गत आइतबार नौ हजार दुई सय तीनजना आइसोलेसनमा थिए । सोमबार नौ हजार एक सय १८ र मंगलबार आठ हजार ६ सय ३४ आइसोलेसनमा उपचार गराइरहेका छन् । प्रदेश र स्थानीयस्तरबाट डिस्चार्जको एकिन विवरण नपठाउँदा निको हुनेको संख्या बढेको थिएन । 

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा भने कोरोना जोखिम कायमै देखिएको बताए । विदेशबाट आएर होटल तथा अन्य विभिन्न ठाउँमा बसेका व्यक्तिहरूबाट जोखिम बढेको मन्त्रालयको निष्कर्ष छ । अन्य जिल्लामा संक्रमित घट्दै गएका बेला उपत्यकामा बढ्दो क्रममा छ । मंगलबार मात्रै काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चारजना गरी कुल २८ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ असारबाट घटेको पिसिआर परीक्षण दर भने मंगलबार बढेको छ । २४ घन्टामा पीसीआर विधिबाट ६ हजार एक सय ३३ वटा परीक्षण भएको छ । हालसम्म ८० जना स्वास्थ्यकर्मी र ४२ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । तर, कुन कुन अस्पतालका भन्नेबारे एकिन विवरण बनाइएको छैन । 

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी 

सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक यातायात सञ्चालनको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । स्वास्थ्य सुरक्षाको प्रोटोकल लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागिएको हो । एक मन्त्रीका अनुसार सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)लाई यससम्बन्धी तयारी गर्न जिम्मेवारी दिइएको छ ।

भारतलगायत कतिपय देशले मापदण्ड बनाएर सार्वजनिक यातायात चलाएका छन् । सिट क्षमताभन्दा आधा यात्रु राखेरसमेत कतिपय देशमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ । नेपालमा पनि लकडाउन अझै केही महिना लम्बिने भएकाले सार्वजनिक यातायात पनि सञ्चालन गर्न लागिएको हो । यातायात व्यवसायी र मजदुरले पनि सार्वजनिक यातायात सञ्चालनका लागि दबाब दिँदै आएका छन् । ट्याक्सी सञ्चालन गर्न दिने तयारीबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । एक मन्त्रीका अनुसार स्वास्थ्य मापदण्ड पालना गराएर एक मात्र यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी भइरहेको छ । यससम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी सिसिएमसीलाई दिइएको छ । 

नेपालमा लकडाउन सुरु भएको एक सय ६ दिन भइसकेको छ । कोरोना संक्रमणको जोखिम बढे पनि आर्थिक क्षेत्र अस्तव्यस्त हुँदै गएपछि गत २९ जेठदेखि लकडाउन खुकुलो बनाइएको छ । निजी र मालबाहक सवारीसाधन जोर÷बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको छैन । त्यस्तै, आन्तरिक हवाई क्षेत्र पनि ७ साउनपछि खोल्नेबारे छलफल अघि बढाइएको एक मन्त्रीले बताए ।