चौरजहारी नगरपालिका– १४ स्थित स्वास्थ्य चौकी भवन पहिरोले पुरेको छ । साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्य चौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो ।
पहिरोले भवनसहित स्वास्थ्य चौकीका सबै औषधिसहित अन्य सामग्रीमा पुरेको स्वास्थ्य चौकी इन्चार्ज छवि खड्काले जानकारी दिए । केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । भवन पहिरोले पुरिएपछि स्थानीयको घरमा कोठा भाडामा लिएर सेवा दिइरहेको इन्चार्ज खड्काले बताए ।
स्वास्थ्य चौकी भवनमाथि रहेको पाखो भिरालो जमिन डोजर लगाएर सम्याई पर्खाल लगाएको र सोही भाग खसेर स्वास्थ्य चौकी भवन पुरिएको हो । इन्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनुको विकल्प नभएको बताए । वडाध्यक्ष अतिराम विष्टका अनुसार नगरका विभिन्न वडामा पहिरोको जोखिम बढेको छ । ठूलो बिरालगाउँकी सुधा खड्काको घर पहिराले पुरेको र सानो बिरालगाउँका १० घर पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ ।
नगरपालिकाको भवन पनि पहिरोको जोखिममा
आठबिसकोट नगरपालिकाको कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ । वडा नम्बर ९ को राडीबजारनजिकै रहेको कार्यालय भवनमाथिको राडीपाखाबाट निरन्तर माटो खसिरहेको छ । कार्यालयलाई गिजागाड खोलाको समेत जोखिम छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा सामान्य क्षति भएको थियो ।