१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एरिक रेनहार्ट
२०७७ असार २३ मंगलबार १०:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना भाइरसको विस्तार  कम गर्न अनावश्यक पक्राउ रोक

Read Time : > 2 मिनेट
एरिक रेनहार्ट
२०७७ असार २३ मंगलबार १०:००:००

अमेरिकामा जेलले कोरोना भाइरस विस्तारमा प्रमुख भूमिका खेल्न थालेको छ । प्रहरी तथा न्यायिक प्रशासनले अपराधीहरूलाई पक्राउ गर्नु स्वाभाविक हो । अहिले जेल प्रशासनले कसुरको स्तर हेरेर साना कसुरमा संलग्न रहेका कैदीलाई रिहा गरिरहेको छ । यो काम ठूलो स्तरमा भइरहेको छ । अमेरिकामा दैनिक हजारौँ कैदी यस नीतिअन्तर्गत रिहा भइरहेका छन् । तर, पक्राउ गर्ने क्रम भने रोकिएको छैन । यसले समस्या उत्पन्न गरेको छ । 

आज विश्वभर ठूलो संख्यामा मानिस पक्राउ परिरहेका छन् । तीमध्ये न्यून कसुरकर्तालाई रिहा गर्ने क्रम चलिरहेको छ । यस क्रममा रिहा भएका कैदीले थाहै नपाई बाह्य संसारमा भाइरस फैलाइरहेका छन् । म र मेरा सहकर्मी डेनियल चेनले सिकागोस्थित कुक काउन्टी जेलमा गरेको अध्ययनबाट यो विषय पत्ता लगायौँ । अमेरिकामा कसुरकर्ता जेलमा आउने–जाने चक्र भाइरस विस्तारका लागि सबैभन्दा प्रमुख कारण बन्दै गएको पायौँ । सिकागो सहरमा प्रत्येक ६ संक्रमितमध्ये एकजना कारवासबाट फर्किएको पाइयो ।

यसपछाडिको कारण बुझ्न कठिन छैन । साना कसुरमा पक्राउ परेकाहरूको कागजातको काम भिडभाडयुक्त जेलमा हुने गर्छ । भिडभाडयुक्त बन्द वातावरण संक्रमणका लागि सबैभन्दा उपयुक्त हुने गर्छ । जेलमुक्त भएपछि घर फर्किंदा तिनले अन्जानवश भाइरस फैलाउँछन् । पक्राउ, कारावास र रिहाको चक्र कोरोना विस्तारमा नश्ल, गरिबी, जनसंख्या घनत्व र सार्वजनिक परिवहन आदिभन्दा बढी जिम्मेवार छन् । कुक काउन्टी जेलबाट रिहा भएका प्रत्येक व्यक्तिले रिहा भएको तीन, चार हप्ताभित्र औसतमा २.१४९ अतिरिक्त केस बढाएको हाम्रो अध्ययनले देखायो । प्रत्येक वर्ष कुक काउन्टी जेलमा एक लाख व्यक्ति आउने–जाने चक्र चल्छ । (तीमध्ये ७५ प्रतिशत अश्वेत छन् । ) 

साना कसुरमा जेल गएका मानिस जेलमा कोरोना संक्रमित भएर समाजमा फर्किने र पछि तिनबाट समुदायमा संक्रमण फैलिएको देखिएको छ
 

अमेरिकाभर एक वर्षमा पचास लाख मानिस जेल आउजाउ हुन्छ । कोरोना भाइरसअघि कुक काउन्टी जेलका ९४ प्रतिशत कैदी अहिंसात्मक कसुरको आरोपमा पक्राउ परेका थिए । कुक काउन्टी जेलमा दुई महिनाको अवधिमा सात सय कैदी संक्रमित भए र सातको ज्यान यसैका कारण गयो । रोगकै कारण दुईजना अधिकारीको समेत ज्यान गयो, अन्य सयौँ संक्रमित भए । कारागार अधिकारीले जेलभित्र महामारी फैलन रोक्नका लागि प्रभावकारी कदम नउठाएका होइनन् । तर, दैनिक रूपमा ठूलो संख्याको पक्राउबाट जेलमा बढ्ने घुइँचोले जेलबाट हुने भाइरस विस्तार रोक्न अत्यन्त कठिन भइरहेको छ । तर, सार्वजनिक स्वास्थ्यमा गम्भीर जोखिम रहँदा पनि साना कसुरका लागि मानिस पक्रिने क्रम रोकिएको छैन । 

अमेरिकाको कुल पक्राउका घटनामा गैरहिंसात्मक कसुरसम्बन्धी पक्राउको हिस्सा ९५ प्रतिशत देखिन्छ । यीमध्ये अधिकांश पक्राउ सामुदायिक सेवा, खाद्य सहयोग, मानसिक स्वास्थ्य सिफारिस, आवास तथा अन्य वैकल्पिक कानुनी कारबाहीमार्फत प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ । सिकागोको हाम्रो अध्ययनले के देखायो भने हालको पक्राउ तथा कैद नीतिका कारण रोक्न सकिने भाइरसको विस्तार पनि फैलिरहेको छ । यो नीतिले अहिले कैदीलाई मात्र होइन, समग्र अमेरिकालाई नै हानि पुर्‍याइरहेको छ । अन्य देशमा पनि कारागार केही हदसम्म कोरोना विस्तारको कारण बन्दै गएको छ । 

अमेरिकामा प्रहरीको अत्यधिक निगरानीमा रहेको अश्वेत समुदायमा कोरोना संक्रमण उच्च देखिनुको पछाडिको कारण कारागारा आउजाउ नै हो । भाइरसले कुनै समुदाय विशेषलाई मात्र प्रभावित नगर्ने भएकाले ती सगम्र देशमा फैलिरहेको छ । समाजमा धेरै अपराधको समाधान पक्राउ र कारावास हो भन्ने बुझाइ छ । यो बुझाइले पक्राउको स्तर रोक्ने कार्य अलोकप्रिय रहने गरेको छ । तर, यसले जेलका प्रशासकमाथि अत्यधिक दबाब पारिरहेको छ । भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन समय लाग्ने र कति मानिसमा संक्रमणका लक्षण नै नदेखिने भएकाले हाल जेलभित्र परीक्षण वृद्धि गर्ने तथा कैदीको संख्या घटाउनेजस्ता कदम प्रभावकारी हुन सकेका छैनन् । धेरै कैदीको भिड भएका जेलमा कुनै एक व्यक्ति संक्रमित भयो भने त्यहाँ रहेका अन्य कैदी स्वाभाविक रूपमा संक्रमणको जोखिममा पर्छन् । पछि जेलबाट रिहा हुँदा तीसँगै भाइरस समुदायमा पुग्छ । मुख्यतः छुटेका कैदीका परिवार र सम्पर्कमा रहेका मानिस सबैभन्दा बढी जोखिममा हुन्छन् । 

अनावश्यक भाइरस संक्रमण रोक्ने र मानिसको ज्यान जोगाउने हो भने नीति–निर्माताले जेल भित्र–बाहिर गर्ने अहिलेको चक्रलाई रोक्न ध्यान दिनुपर्छ । महाव्याधिको समय आपराधिक न्याय सुधारका लागि सबैभन्दा उपयुक्त समय हो । यसले सर्वसम्मति पनि पाउनेछ । भाइरसको विस्तार रोक्नका लागि तत्कालै साना कसुरमा मानिसलाई पक्राउ गर्ने र जेल पुर्‍याउने काम बन्द गर्नुपर्छ । यो सुधारविना न्याय प्रणाली कोरोना भाइरसको प्रमुख विस्तार क्षेत्र हुन छाड्नेछैन । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

एरिक रेनहार्ट युनिभर्सिटी अफ सिकागोका चिकित्साका विद्यार्थी हुन्, त्यस्तै उनी हार्वडका मानवशास्त्रमा पिएचडी गर्दै छन् ।