मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिरुवा उपहार दिँदै हरित अभियन्ता हेमन्तराज काफ्ले ।
२०७७ असार २३ मंगलबार १०:००:००
Read Time : > 1 मिनेट
नयाँCity

हरित सहरका अभियन्ता

Read Time : > 1 मिनेट
२०७७ असार २३ मंगलबार १०:००:००

हरित अभियन्ता हेमन्तराज काफ्लेको स्थायी थातथलो कैलाली टीकापुर हो । नेपालगन्ज–१८ मा बस्दै आएका उनी ११ वर्षको छँदै हरित अभियानमा लागेका हुन् । हालसम्म ११ हजारजनाभन्दा बढीलाई बिरुवा वितरण गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले उनीबाट बिरुवा उपहार पाएका छन् । पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डित, अभिनेता राजेश हमाल, सांसद तथा गायिका कोमल ओली, अभियन्ता महावीर पुन, पर्यटन व्यवसायी विक्रम पाण्डेलगायत उपहार पाउनेको लामो सूची छ ।

सबैभन्दा पहिले बहिनीलाई जन्मदिनमा नीमको बिरुवा उपहार दिएका थिए । त्यसयता साथीभाइको जन्मदिनमा बिरुवा उपहार दिन थाले । अब उनी लागिपरेका छन्, नेपालगन्जलाई हरियाली बनाउने अभियानमा । घर–आँगन र करेसाबारीमा रूख रोप्नुपर्ने चेतना जगाउँदै हिँडेका छन् । आफ्नो अभियानबाट प्रेरित भएर नेपालगन्जसहित देशका प्रमुख सहरमा ६० हजार बिरुवा रोपिएको उनी बताउँछन् ।

जन्मदिन, वैवाहिक वर्षगाँठ, व्रतबन्ध र चाडपर्वको अवसर पारेर नीम, जामुन, शीतलचिनी, कोइरालो र कागतीका बिरुवा उपहार दिन्छन् । यस अभियानमा काफ्लेले करिब एक लाख रुपैयाँ खर्च गरिसकेका छन् । सुरुमा नर्सरीबाट किनेर उपहार दिन्थे । केही समययता भने आफ्नै करेसाबारीमा उत्पादन गरेर वितरण गर्छन् ।

जिल्ला वन कार्यालय, जिल्ला वनस्पति कार्यालयसँग समन्वय गरेर बिरुवा ल्याउँछन् । त्यतिले नपुग्ने भएपछि करेसाबारीमा शीतलचिनी, नीम, कोइरालोलगायत बिरुवा उत्पादन गर्छन् । उनी शिक्षण पेसामा आबद्ध छन् । फुर्सद मिल्नासाथ बिरुवाको स्याहारसुसारमा जुट्छन् । ‘बिरुवा उपहार दिन पाउँदा स्वर्गीय अनुभूति हुन्छ,’ काफ्ले भन्छन्, ‘हरेक दिन बिरुवा उपहार दिने गर्छु ।’ उनले उपहार दिने बिरुवा बहुउपयोगी छन् । उनका अनुसार शीतलचिनीको पात, जरा, बोक्रा र फल तीन सयभन्दा बढी रोगको औषधि बनाउन प्रयोग हुन्छ ।

‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानमा उनी आबद्ध छन् । भारतको समरस्ता इन्टरनेसनल अवार्ड तथा युक्रेनको ग्रिन युथ अवार्डबाट उनी सम्मानित भएका छन् । यस्तै, वन मन्त्रालयले उनलाई हरित अभियन्ता राष्ट्रिय सम्मान दिएको छ । ‘बास ब्राइट्ल्यान्ड अवार्ड’बाट पनि उनी सम्मानित भएका छन् ।

हरित अभियानमा एकोहोरो भएर लाग्दा उनले ‘पागल’ संज्ञा पनि नपाएका होइनन् । तर, उनी त्यसबाट हतोत्साहित भएनन्, अभियानमा निरन्तर लागिरहे । काफ्लेको अभियानको सकारात्मक प्रभाव देखिन थालेपछि समाजले उपनाम दिएको छ, ‘मोरिंगा बाबा’ । शीतलचिनीलाई स्थानीयस्तरमा मोरिंगा पनि भनिन्छ । उनले शीतलचिनी नै बढी उपहार दिने भएकाले यस्तो उपनाम पाएका हुन् ।

‘द बिलियन ट्रिज’ नामक संस्थाको स्वयंसेवक पनि हुन्, उनी । सामान्यतया उपहार दिएको वस्तुको माया हातमा हुन्जेल मात्र रहन्छ । अर्काको हातमा दिइसकेको वस्तुप्रति उपहार दिने व्यक्तिलाई चासो कमै हुन्छ । काफ्लेको कुरा अलग्गै छ । उनलाई आफूले उपहार दिएका बिरुवाप्रति बिछट्टै मोह छ । सम्झीसम्झी उनी आफूले उपहार दिएका बिरुवाको अवस्था हेर्न घर–घरमा पुग्छन् । र, स्याहारसुसार गर्ने विधि सिकाउँछन् । बिरुवाविना जीवन देख्दैनन्, उनी । भन्छन्, ‘वनस्पतिविना मानव सृष्टि एक पल पनि चल्न सक्दैन ।’