Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:१७:००
Read Time : < 1 मिनेट
सेयर बजार

‘एक ब्रोकर एक डिम्याट खाता’ नियमपछि सेयर बजारमा तनाव

अब एक डिम्याट खाताका लागि एउटै ब्रोकरमार्फत मात्र कारोबार गर्न सकिने, लगानीकर्ताहरू अन्योलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:१७:००

एक ब्रोकर एक डिम्याट (अभौतिकीकरण गरिएको सेयर) खाताको प्रावधानपछि सेयर बजारमा लगानीकर्ता तनावमा देखिएका छन् । यो प्रावधानपछि एक डिम्याट खाताका लागि एउटै ब्रोकरमार्फत मात्र कारोबार गर्न सकिनेछ । 

एउटा खातामा रहेको सेयर कारोबारका लागि एक ब्रोकर मात्र जोडिएपछि अन्यबाट सेयर कारोबार गर्न सकिँदैन । यसअघि एउटा लगानीकर्ताले धेरै ब्रोकरमार्फत कारोबार गर्दै आइरहेका थिए । तर, पछिल्लो समय लगाइएको यस नियमका कारण बजारमा लगानीकर्ता तनाव देखिएका छन् । 

एउटा लगानीकर्ताले दुईवटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । यस हिसाबले नयाँ प्रावधानअनुसार एक लगानीकर्ताले बढीमा दुई ब्रोकरमार्फत मात्र कारोबार गर्न सक्नेछन् ।    

‘लगानीकर्ताले कुन ब्रोकर र कुन डिम्याट खातामा जोडिएका छन् भनेर जानेका हुँदैनन्,’ ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘५–६ वटा ब्रोकरसमक्ष बुझ्नुपर्ने अवस्थाले पनि समस्या परेको हो ।’  

नेप्सेले भने लगानीकर्ताले कारोबार गर्न लागेको ब्रोकर र उपलब्ध गराएको सेयर एउटैमा भए–नभएको यकिन गरेर मात्रै कारोबार गर्नुपर्ने जनाएको छ । सेयर बिक्री गर्न खोज्ने लगानीकर्ताको केही ब्रोकरले कारोबार सीमा तोकिएको छ । यसकारण पनि कारोबार गर्न नपाएर समस्या परेको छ ।  

‘ठूला लगानीकर्ता अहिले बैंक धितोमा राखेको सेयर बिक्री गर्न नपाएकोमा नेप्सेविरुद्ध लागेका छन्,’ नेप्सेका एक अधिकारीले भने, ‘ब्रोकरहरूले समेत कारोबार सीमा राखेर बदमासी गरेको भेटेका छौँ, यसको अनुसन्धान गरिरहेका छौँ ।’ 

नेप्सेले प्रेस विज्ञप्तिमा समेत ब्रोकरहरूले यस्तो कारोबार सीमा राखेको हुन सक्ने भएकाले ब्रोकरमार्फत यसबारे यकिन गरेर मात्र कारोबार गर्न आग्रह गरेको छ । सेयर बिक्री आदेशमा यस्तो सीमा नलगाइने गरेको रानाभाट बताउँछन् । धेरै लगानीकर्ताले भने कारोबार गर्ने क्रममा सीमा लगाइएको सूचना आएको र कारोबार गर्न नसकिरहेको गुनासो गरेका छन् ।