१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ असार २३ मंगलबार ०६:२८:००
Read Time : > 4 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड–१९ पछिको स्वास्थ्य : सतर्क स्वास्थ्यकर्मी, सचेत बिरामी

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ असार २३ मंगलबार ०६:२८:००

कान्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रभाकर शाहको दैनिकी कोभिड–१९ महामारीपछि फेरिएको छ । बिहानैदेखि अस्पतालमा व्यस्त रहने उनलाई अहिले बिरामीको फोन उठाउन भ्याइनभ्याई हुन्छ । लकडाउनअघिसम्म अस्पतालमा बिरामी लामबद्ध हुन्थे, अहिले फोनमा पालो पर्खिन्छन् । अस्पतालमा आकस्मिक बिरामी मात्र पुग्छन् । अन्य बिरामीले फोनबाटै चिकित्सकको परामर्श लिन्छन् ।

‘लकडाउनयता अस्पतालको वातावरण निकै फेरिएको छ,’ डा. शाह भन्छन्, ‘चिकित्सक र नर्सको दैनिकी परिवर्तन भएको छ । अस्पतालमा बिरामीसँग भौतिक दूरी सम्भव हुँदैन । त्यसैले ड्युटी अवधिभर मास्क र पन्जा लगाउँछौँ । बारम्बार हात धुँदै स्यानिटाइजर प्रयोग गर्छौं ।’

वीरगन्जस्थित नेसनल मेडिकल कलेजका डा. असरफ हुसेन उपचार क्रममा पर्याप्त सावधानी अपनाउँछन् । वार्डका बेडलाई पहिलेभन्दा टाढा फिट गरिएको छ । श्वासप्रश्वास, ज्वरो, रुघाखोकीका बिरामीलाई अलग्गै वार्डमा राख्न थालिएको छ । ‘आकस्मिक र शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा कोभिड–१९ को रिपोर्ट कुर्न सकिँदैन । गुणस्तरीय पिपिई लगाएर सावधानीपूर्वक उपचार गर्छौं,’ डा. हुसेन भन्छन् ।

महामारीले स्वास्थ्यकर्मीमा मात्र होइन, आममानिसको सोचाइमा पनि परिवर्तन ल्याएको छ । ‘नन–कोभिड’ समस्याका बिरामी अस्पताल गएर उपचार गर्न डराइरहेका छन् । ‘अधिकांश बिरामी तत्काल उपचार गर्न चाहँदैनन्,’ डा. शाह भन्छन्, ‘यो कोभिड–१९ ले आममानिसमा सिर्जना गरेको मनोवैज्ञानिक असर हो ।’

                                                                                    .........

रामेछापकी २७ वर्षीया सिर्जना सुनुवारलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि गत साता परोपकार प्रसूतिगृहमा भर्ना गरियो । समयअघि नै व्यथा लागेकाले उनको सिजेरियन डेलिभरी गरियो । ढिलो अस्पताल ल्याइएकाले दुई दिन विशेष हेरचाहमा राख्नुपर्‍यो । उनलाई ढिलो अस्पताल ल्याउनुको कारण थियो, कम भीडभाड रहने स्थानीय स्वास्थ्य संस्थामै डेलिभरी गराउने परिवारको चाहना । ठूला अस्पतालको भीडभाडले कोरोना संक्रमण हुने डर परिवारमा थियो । स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि मात्र उनलाई काठमाडौं ल्याइयो । ‘जन्मेको बच्चाको स्वास्थ्य कमजोर थियो, पाँच दिन अस्पताल बस्दा कोरोना सर्ने डर भइरह्यो,’ सिर्जनाकी नन्द बन्दना भन्छिन्, ‘धन्न सकुशल घर फर्कियौँ ।’

काठमाडौं कलंकीका ४८ वर्षीय अर्जुन बाँस्कोटालाई महिनादिनदेखि पेट दुख्ने र पिसाब पोल्ने समस्या थियो । अस्पताल जाँदा कोरोना सर्ने डरले उनी औषधिबाटै दुखाइ कम गर्ने प्रयासमा लागे । पेट अत्यधिक दुख्ने र पिसाब रोक्नै नसक्ने भएपछि मात्र उनी अस्पताल गए । परीक्षणमा पिसाबनलीमा पत्थरी देखियो । तत्काल शल्यक्रियापछि उनी अहिले अस्पतालमै छन् ।

सकेसम्म अस्पताल जानु नपरोस् भन्ने मनोविज्ञान बिरामीमा देखिन थालेको छ । आकस्मिक अवस्थाबाहेकका बिरामीलाई अलि पछाडि हेर्न पाए हुन्थ्यो भन्ने मनोविज्ञान चिकित्सकमा पनि देखिन्छ ।
                                                                       

                                                                              ............

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन महामारीपछि आममानिसमा स्वास्थ्यप्रतिको धारणामा निकै परिवर्तन आएको देख्छन् । समय–समयमा हात धुने, आपसमा दूरी राखेर बस्ने, स्वास्थ्य परीक्षण गराउनेजस्ता आधारभूत सावधानी बढेको उनको ठम्याइ छ, जुन महामारीअघि कम थियो ।

‘कोभिड–१९ महामारी कहिलेसम्म रहने भन्ने निश्चित नहुँदा कोरोनासँगै बाँच्नुको विकल्प नभएको बहस भइरहेको छ,’ डा. पुन भन्छन्, ‘स्वाइनफ्लुजस्तै कोरोना पनि सिजनल रूपमा देखिन सक्छ, जसले हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन ल्याउनेछ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी महामारीपछिको परिदृश्य अहिले नै देखिरहेका छन् । ‘डाक्टर र बिरामी दुवै सतर्क देखिन्छन् । सकेसम्म अस्पताल जानु नपरोस् या घरमै उपचार गर्न पाए हुन्थ्यो भन्ने मनोविज्ञान बिरामीमा देखिन थालेको छ,’ उनी भन्छन्, ‘आकस्मिक अवस्थाबाहेकका बिरामीलाई अलि पछाडि हेर्न पाए हुन्थ्यो भन्ने मनोविज्ञान चिकित्सकमा पनि देखिन्छ ।’

खोप तयार भएर केही नियन्त्रणमा आउने सम्भावना रहे पनि कोभिड–१९ मानव जीवनकै अंगका रूपमा रहिरहने उनको ठम्याइ छ । ‘स्पेनिस फ्लु, कोभिड–१९ जस्तै भविष्यमा अन्य महामारी पनि आउन सक्ने कुरामा सरकारी निकाय भने सचेत देखिएनन्,’ उनी भन्छन्, ‘स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा यो महामारीले सिकाउन सकेन । सरकारी निकायले सिक्न सकेनन् ।’

                                                                               ............

मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भने सहरका सीमित र व्यवस्थित स्वास्थ्य संस्थाले मात्र महामारी नियन्त्रण गर्न सक्दैनन् भन्ने पाठ कोभिड–१९ ले सिकाएको बताउँछन् । ‘स्वास्थ्य सेवा प्रणाली सहज र छरितो रहेका तथा समयमै व्यवस्थापन गर्न सकेका मुलुकमा महामारी नियन्त्रणमा आएका उदाहरण छन्,’ डा. कोइराला भन्छन्, ‘समस्या आइपर्दा मात्र व्यवस्थापनमा लाग्ने र संकटलाई छिटो बिर्सने सामाजिक चरित्र भएका नेपालजस्ता मुलुकमा महामारी व्यवस्थापन गर्न सकिँदैन भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ ।’

उनको भनाइमा स्वास्थ्य मन्त्रालयले रोग नियन्त्रण तथा रोकथाम केन्द्र, फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन र एम्बुलेन्स सेवालाई राष्ट्रिय स्तरबाट सञ्चालन गर्ने नीति, नियम र कार्यविधि बनाउन थाल्नुको मुख्य कारण कोभिड–१९ महामारी हो । ‘यो महामारीले जरैदेखि स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनुपर्ने पाठ सिकाएको छ,’ उनी भन्छन् ।

पर्याप्त परीक्षण अभाव देखिएको वर्तमानले मुलुकको स्वास्थ्य क्षेत्रको अन्योलपूर्ण भविष्य चित्रित गरेको स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । ‘विदेशबाट फर्किने लाखौँ नागरिकलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने विषयमा पूर्वतयारी भएको पाइँदैन,’ उनी भन्छन्, ‘सुरुमै विदेशबाट भित्रिएका नागरिकको स्वास्थ्य परीक्षण गर्न नसक्नु मुख्य कमजोरी साबित भएको छ ।’ दैनिक १० हजार पिसिआर परीक्षण आवश्यक रहेको विषय छलफलमै सीमित रहनुले पनि स्वास्थ्य क्षेत्रको भविष्य अन्योलपूर्ण देखिएको उनको ठम्याइ छ ।

                                                                               ............

क्यान्सररोग विशेषज्ञ डा. राजेन्द्र बराल कोभिड–१९ महामारीलाई संक्रामक युगको सुरुवात मान्छन् । ‘सात महिनामा विश्वभर भाइरस फैलिनु र संक्रमितको संख्या करोड नाघ्नुले अबको समयलाई संक्रमणको युग भन्न सकिन्छ,’ उनी भन्छन्, ‘कोभिड–१९ ले निकट भविष्यमा संक्रामक रोगलाई हाइलाइटमा ल्याउने देखिन्छ ।’ उनका अनुसार कोभिड–१९ अघि विश्वले नसर्ने रोगको प्रकोप खेपिरहेको थियो । नेपालजस्ता विकासोन्मुख मुलुकमा दीर्घरोगको प्रभाव बढी थियो ।

‘जुनसुकै समयमा जोकोहीमा संक्रमण हुन सक्ने तथा औषधि र खोप टुंगो नलागेकाले संक्रामक रोगको समयलाई स्विकार्नुपर्ने देखिन्छ,’ डा. बराल भन्छन्, ‘निश्चित औषधि बन्न लामो समय लाग्न सक्छ । औषधि बनिहाले पनि तत्काल संसारभर पुर्‍याउन सहज छैन ।’

मनोचिकित्सक डा. सरोज ओझाका अनुसार कोभिड–१९ ले विश्वको आधा जनसंख्यामा मानसिक समस्याको जोखिम बढाएको छ । कोभिड–१९ अघिसम्म एक्युट डिमेन्सिया र सिजोफ्रेनियालाई मात्र मानसिक रोग मानिन्थ्यो । कोभिड–१९ ले एन्जाइटी र डिप्रेसनको दर बढाएको छ, जसलाई अहिलेसम्म सामान्य समस्या मात्र मानिन्थ्यो । ‘लामो लकडाउनले निम्त्याएको आर्थिक, सामाजिक संकटले एन्जाइटी र डिप्रेसन पनि मुख्य मानसिक समस्याका रूपमा देखिएका छन्,’ डा. ओझा भन्छन्, ‘मानसिक स्वास्थ्यप्रति मानिस सचेत देखिनु कोभिड–१९ ले ल्याएको सकारात्मक परिवर्तन हो ।’