मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौंको न्युरोडस्थित मारवाडी सेवा समितिको भवनमा औषधि प्याक गरिँदै । तस्विर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
सागर चन्द काठमाडौं
२०७७ असार २३ मंगलबार ०४:०८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रमाणिकता र दर्ता नभएको औषधि बाँड्न सरकारकै तोक

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै ‘आर्सेनिकम एल्बम ३० सी’ औषधि ६० लाखभन्दा बढी मानिसलाई बाँडियो

Read Time : > 4 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ असार २३ मंगलबार ०४:०८:००

गैरकानुनी काम हो : प्रा.डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय

मैले पहिलेदेखि नै यो गैरकानुनी काम भएको भन्दै आएको हुँ । अहिले जुन उपयोगका लागि भनेर बाँडिएको छ, त्यसअनुसार यो औषधि औषधि व्यवस्था विभागमा दर्ता छैन । यो भ्रम फैलाउने काम मात्र हो ।

गम्भीर लापरबाही भयो : शरद वन्त, जनस्वास्थ्यविद्

कोरोना भाइरस निको पार्ने र संक्रमणबाट जोगाउने औषधिको अहिलेसम्म पहिचान भएको छैन । यस्ता औषधिले फाइदा वा बेफाइदाभन्दा पनि हाम्रो स्वास्थ्य प्रणालीमा कसरी कोही मनलाग्दी प्रवेश गर्न सक्छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो संकटको समयमा जनस्वास्थ्यमाथि यति गम्भीर लापरबाही हुँदा पनि स्वास्थ्य मन्त्रालयले कुनै एक्सन नलिनु चिन्ताको विषय हो । जसले पायो त्यसले औषधि बाँड्नु नै गम्भीर समस्या हो । औषधि बाँड्ने निकाय हुन्छन् । औषधिको प्रमाणिकता र विश्वसनीयता हुन्छ । तर, अहिले औषधिको सामान्य मापदण्डसमेत पूरा नगरेर जथाभावी वितरण गरिएको छ । यसले कस्तो असर देखायो भनेरसमेत कसैलाई थाहा छैन । कसले बाँड्यो, कसले खायो भनेरसमेत तथ्यांक छैन । 

गल्ती भएकै हो : डा. मुनकर्ण थापा, सूचना अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

हामीले निर्देशिका बनाएर स्वास्थ्य मन्त्रालय पठायौँ । र, स्विकृत पनि भयो । देशका कतिपय आइसोलेसन र क्वारेन्टाइनमा डाक्टरको निगरानीमा यो औषधि दिइएको हो । पछि मारवाडी परिषद् र समितिले पनि बाँड्न थाले । उनीहरूले सुरुमा औषधिको प्याकेटमा कोरोना नै निको हुने लेखेका थिए । छलफलपछि प्रतिरोध शक्ति बढ्छ भन्नेसम्म ठीकै छ भन्यौँ । यस विषयमा मन्त्रालयले पनि सोधपुछ गरेको छ । औषधि वितरणमा लापरबाही भएको नै हो । प्रोटोकल बनाउँदा र कार्यान्वयनमा जाँदा डाक्टरको निगरानीमा औषधि दिनुपर्छ भनेर लेखेकै छौँ । केही कमजोरी भएकाले नियन्त्रणको प्रयास भइरहेको छ । अहिले सिलबन्दी नभएको प्याकेटमा औषधि बाँडिएको छ, यसको नाममा कसैले जनस्वास्थ्यमाथि प्रतिकूल असर पर्ने काम ग¥यो भने के हुन्छ भन्ने चिन्ता लागेको छ ।

                                                            ............

कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै दुई निजी संस्थाले अप्रमाणित औषधि गैरकानुनी रूपमा वितरण गरिरहेका छन् । ‘आर्सेनिकम एल्बम ३० सी’ नामक औषधिले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै दुई मारवाडी संस्थाले देशभर निःशुल्क औषधि वितरण गरेका हुन् । त्यस्ता औषधि नियन्त्रण र नियमन गर्नुको साटो मन्त्रिपरिषद्को निर्णयबाटै तोक लगाएर केही आइसोलेसन केन्द्र र क्वारेन्टाइनमा समेत वितरण भएको पाइएको छ । 

नेपाल राष्ट्रिय मारवाडी परिषद् र नेपाल मारवाडी सेवा समितिले ७७ वटै जिल्लामा ६० लाखभन्दा बढी मानिसलाई औषधि वितरण गरेको परिषद्का अध्यक्ष पवन मित्तलले जानकारी दिए । 

‘आर्सेनिकम एल्बम ३० सी’ औषधि डायरिया, कन्सिटपेसन, छाला, खोकीजस्ता रोगका लागि प्रयोग हुने भन्दै औषधि व्यवस्था विभागमा दर्ता छ । तर, अन्य प्रयोजनका लागि दर्ता भए पनि यसलाई कोरोना प्रतिरोधी भन्दै वितरण भइरहेको छ । ‘यो गैरकानुनी काम भएको मैले पहिलेदेखि नै भन्दै आएको हुँ । अहिले जुन उपयोगका लागि भनेर बाँडिएको छ, त्यसअनुसार यो औषधि औषधि व्यवस्था विभागमा दर्ता नै छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ पत्रिकासँग भने । 

गौतमले गैरकानुनी उल्लेख गरेको औषधिलाई स्वास्थ्य मन्त्रालयकै आर्युवेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना प्रतिरोधी भन्दै अन्य तीन औषधिसहित निर्देशिकामा समावेश गरेको थियो । विभागले तयार पारेको ‘नेपालमा कोभिड–१९ को रोकथामका उपाय तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका’लाई गत १५ वैशाखको मन्त्रिपरिषद् बैठकले पास गरेको थियो । त्यसपछि औषधिको वितरण तीव्र रूपमा भएको देखिन्छ ।

‘सुरुवातमा नेपाल सरकारले यसलाई प्रोटोकलमा नराखेकाले खुला रूपमा वितरण गर्न पाइरहेका थिएनौँ,’ परिषद्का अध्यक्ष मित्तलले भने, ‘प्रोटोकलमा सरकारले यो औषधि खायो भने इम्युनिटी बढाउँछ भनेपछि अनि हामीले यसलाई ठूलो परिमाणमा बाँडेका हौँ ।’

औषधि वितरण गर्दा कोरोनाप्रतिरोधी भनिएको तर्कप्रति औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले आपत्ति जनाए । उनले औषधिको प्रमाणिकता नभएको बताए । ‘कोरोना निको पार्ने वा इम्युन सिस्टम बढाउने हो भने त्यसको वैज्ञानिक आधार त चाहियो नि । प्रमाण नै छैन त्यसैले यसमा दाबी गर्न पाइँदैन,’ उनले भने । 

एकातिर औषधिको प्रमाणिकता छैन भने अर्काेतर्फ औषधि उत्पादनमा मान्नुपर्ने सामान्य सर्तसमेत पूरा गरिएको छैन । औषधि व्यवस्था विभागका अनुसार कुनै पनि औषधिमा औषधि उत्पादक कम्पनीको नाम, उत्पादन मिति र औषधिको म्याद नाघ्ने मिति प्रस्टसँग लेखिएको हुनुपर्छ । तर, समिति र परिषद्ले वितरण गरेको यो औषधिमा यी कुनै कुरा उल्लेख छैनन् । वितरकहरूले भारतबाट ठूलो मात्रामा औषधि ल्याएर पोलिथिनको सानो प्याकेट र प्लास्टिकको सानो बट्टामा राखेर बाँड्दै आएका छन् ।

वितरित औषधिको कुनै प्रमाणिकता छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले ‘आर्सेनिकम एल्बम ३० सी’ औषधिको कुनै प्रमाणिकता नभएको र मन्त्रालयबाट स्वीकृतिसमेत नलिएको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा.गौतम भन्छन्, ‘यसको कुनै एप्रुभल छैन । कुनै प्रमाणिकता पनि छैन । त्यसैले यो भ्रम फैलाउने काम मात्र हो ।’ 

औषधि व्यवस्था विभागका अनुसार ठूलो मासमा औषधि वितरण गर्दा मन्त्रालय र विभागको अनुमति लिनुपर्ने हुन्छ । ‘औषधि वितरणका लागि निवेदन आएपछि हामीले औषधिको वैज्ञानिक प्रमाणिकता, किन वितरण गर्ने, कसलाई वितरण गर्नेजस्ता प्रश्नको ठोस प्रमाणिक उत्तर भेटेपछि मात्र अनुमति दिन्छौँ,’ विभागका सूचना अधिकारी केसीले भने ।

राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष मित्तल भने औषधि वितरणमा सरकार र राजनीतिज्ञको साथ भएको दाबी गरे । ‘लिखित रूपमा हामीलाई अहिलेसम्म कसैले केही भनेको छैन । तर, स्वास्थ्य मन्त्रालय हाम्रो फेभरमा छ । राजनीतिक नेता र नेतृत्व कन्भिन्स छ । यसबाट कुनै साइड इफेक्ट पनि छैन,’ उनले भने । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकै अधिकारी पनि औषधि वितरणमा लापरबाही भएको बताउँछन् । विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले चिकित्सकको निगरानीमा मात्रै वितरण गर्ने भनिए पनि अहिले औषधि वितरण नियन्त्रणबाहिर गएको बताए । ‘यहाँ केही ल्याप्स भएका छन् । नियन्त्रण गर्ने प्रयास भइरहेको छ । तर, अब चिन्ता के छ भने, औषधिले कसैलाई केही भइहालेमा कसले यसको जिम्मा लिने ?’ उनले भने ।  

औषधि वितरणको पृष्ठभूमि : भारतको सिको गर्दै, नेपालमा भ्रम फैलाउँदै 

‘आर्सेनिकम एल्बम ३० सी’ भारतमा पनि बिक्री भएको थियो । त्यहाँ कोरोनाको औषधि भन्दै प्रचारसमेत गरिएको थियो । भारतको आयुष मन्त्रालयले २९ जनवरी (१५ माघ २०७६) मा विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न होमोप्याथीको ‘आर्सेनिकम एल्बम ३० सी’ औषधि लिन सल्लाह दिएको थियो । तर, भारतका चिकित्सकले कोरोना निको पार्न वा संक्रमणबाट जोगाउन यो औषधिको कुनै परीक्षण नभएकाले प्रयोग नगर्न सल्लाह दिए । त्यसपछि मात्र आयुष मन्त्रालयले आफ्नो गल्ती सच्याउँदै यो औषधिले कोरोना संक्रमण निको नहुने स्पष्ट पार्‍यो । 

भारतको सिको गर्दै नेपालमा पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको नेतृत्वमा निर्देशिका तयार पारिएको हो । सुरुवाती दिनमा यसलाई पनि भारतमा जस्तै कोरोनाको औषधि भन्दै वितरण गरिएको थियो । स्वास्थ्य मन्त्रालयले २७ जेठको प्रेस ब्रिफिङमा कोरोना उपचारमा कुनै औषधि तथा खोप पत्ता नलागेको भन्दै त्यसलाई खण्डन गरेको थियो ।

आर्सेनिकम औषधिलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले ‘अन अप्रुभ्ड’ अर्थात् प्रमाणीकरण नगरिएको औषधिको सूचीमा राखेको छ । यो औषधिले रोग निको पार्छ भन्ने कुनै वैज्ञानिक आधार अहिलेसम्म फेला नपरेकाले अप्रमाणित औषधिको सूचीमा राखिएको एफडिएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । १ अप्रिल २०२० मा अमेरिकामा कोरोनाको औषधि भन्दै भ्रम फैलाएर यो औषधि बिक्री गरेको भन्दै एफडिएले होममार्ट इन्डिवाई र द आर्ट अफ क्युर नामका कम्पनीलई कारबाही नै गरेको थियो ।

जनस्वास्थ्यमाथि खेलबाड 

सामाजिक कार्यका लागि दर्ता भएका परिषद् र समितिले अनधिकृत रूपमा औषधि वितरण गरेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दासमेत सरोकारवाला निकायले चासो नदेखाएकोमा जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । खाद्यान्न र लत्ताकपडा बाँडेजसरी औषधि बाँडिएको भन्दै जनस्वास्थ्यविद् शरद वन्त भन्छन्, ‘सरकारी निकायको अनुमति छैन । चिकित्सकको निगरानी छैन । खाद्यान्न, लत्ताकपडा बाँड्याजसरी जसले पनि औषधि बाँड्दै हिँडेको छ । यो त जनस्वास्थ्यमाथि भएको गम्भीर खेलबाड हो । मन्त्रालयले तुरुन्तै एक्सन लिनुपर्छ ।’

स्वयंसेवकले बाँडिरहेको यो औषधि चिकित्सकको निगरानीबेगर बिक्रीवितरण गर्न नमिल्ने होमियोप्याथिक चिकित्सक डा.प्रेमनारायण श्रीवास्तव बताउँछन् । ‘चिकित्सको निगरानी नभई त वितरण गर्न मिल्दैन । बिरामीको विवरणअनुसार चिकित्सकले औषधिको मात्रा तय गर्छन् । चकलेट हो र जसले पायो त्यसले बाँड्न,’ उनले भने ।

महामारीको समयमा व्यापारीहरू सामेल सामाजिक संस्थाले भ्रम फैलाउँदै औषधि बाँड्नुलाई ‘माल मेडिकल प्राक्टिस’ अर्थात् गलत मेडिकल अभ्यासका रूपमा अथ्र्याउँछन् चिकित्सा मानवशास्त्री डा.सचिन घिमिरे । धेरै मानिसलाई एकैपटक वितरण गरिने औषधि प्रमाणित हुनुपर्छ । प्रमाणित होइन भने औषधि सेवनकर्ता चिकित्सको निगरानीमा हुनुपर्छ र चिकित्सकै निगरानीमा वितरण गर्नुपर्छ । तर, परिषद् र समितिले भने दैनिक साढे दुई लाख मान्छेलाई पुग्ने गरी प्याकेजिङ गरी स्वयंसेवक, जनप्रतिनिधि, राजनीतिक दलमार्फत औषधि वितरण गर्दै आएको छ ।