मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार ०७:०३:००

लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले सुरक्षा प्रोटोकल कार्यान्वयनमा कडाइ गरेको छ । घरबाहिर निस्कँदा सामाजिक दूरी कायम गर्दै मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । 

संक्रमण बढ्दासमेत सुरक्षा मापदण्ड पालना नभएपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गरी कडाइ गर्न निर्देशन दिएको हो । नियम नमान्नेलाई पक्राउ गरेर संक्रामक रोग ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको गृहका उपसचिव उमाकान्त अधिकारीले बताए । 

‘निश्चित सर्तका आधारमा सरकारले लकडाउन खुकुलो बनाएको हो,’ अधिकारीले भने, ‘तर, सामाजिक दूरी तथा स्वास्थ्य मापदण्ड कार्यान्वयनको नियम धेरैले उल्लंघन गरकाले यस्तो निर्देशन दिइएको हो ।’ कोरोना संक्रमण भयावह रूपमा फैलिने जोखिम बढेपछि गृह प्रशासन कठोर बन्नुपरेको अधिकारीले बताए । 

रेस्टुरेन्ट र सैलुनसमेत खुले 

लकडाउन खुकुलो बनाए पनि सरकारले सैलुन खोल्न रोकेको छ । तर, उपत्यकाका धेरैजसो सैलुन खुलेका छन् ।

कतिपयले न्यूनतम स्वास्थ्य प्रोटोकलसमेत पालना गरेका छैनन् । सैलुन बन्द गराउन पनि प्रशासनले चासो दिएको छैन । 

त्यस्तै, रेस्टुरेन्टहरूलाई ‘टेक अवे’ सुविधा मात्र दिन भनिए पनि भिडभाड हुने गरेको छ । गृह मन्त्रालयका उपसचिव अधिकारीले सैलुन र रेस्टुरेन्ट खोल्ने निर्णय नभएकाले स्थानीय प्रशासनले कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै, बैंकहरूमा पनि भिडभाड हुने गरेको छ । यातायात, मालपोतजस्ता सरकारी कार्यालयमै सामाजिक दूरीको नियम पालना गरिएको छैन । जसबाट संक्रमणको जोखिम बढेको छ । 

जोर–बिजोर उल्लंघन गर्नेे ४१ हजार सवारीसाधन कारबाहीमा 

लकडाउन खुकुलो भएसँगै सवारीसाधन सञ्चालनमा लागू गरिएको जोर–बिजोर प्रणाली उल्लंघन गर्ने ४१ हजारभन्दा धेरै सवारीसाधन कारबाहीमा परेका छन् । 

३० जेठदेखि सोमबारसम्म ४१ हजार पाँच सय आठ सवारीसाधन कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार मात्रै एक हजार ६ सय ११ वटा दुईपाङ्ग्रे, चार सय १५ भाडाका ट्याक्सी र तीन सय १९ वटा साना तथा ठूला सवारी गरी दुई हजार तीन सय ४५ सवारीसाधनलाई उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

सोमबार नै दुईजना सवार दुई हजार ८३ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिई सम्झाइबुझाई गरी छाडिएको महाशाखाले जनाएको छ ।