मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २२ सोमबार १९:४९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छिमेकमा शान्ति प्रयास  : गलवान उपत्यकाबाट सेना पछि हटाउन भारत र चीन सहमत

Read Time : > 2 मिनेट
२०७७ असार २२ सोमबार १९:४९:००

भारत र चीनले गलवान उपत्यकाबाट आ–आफ्ना सैनिक पछि हटाउने विषयमा उच्चस्तरीय तहमा सहमति गरेका छन् । सीमासम्बन्धी भारतका विशेष प्रतिनिधि एवं राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विशेष प्रतिनिधि एवं स्टेट काउन्सिलर वाङ यीबीच आइतबार साँझ भएको दुई घन्टा लामो टेलिफोन संवादमा सीमा क्षेत्रबाट आ–आफ्ना सैनिक क्रमबद्ध रूपमा पछि हटाउने र शान्ति कायम राख्ने सहमति भएको हो ।

भारत र चीनका विदेश मन्त्रालयले सोमबार अपराह्न जारी गरेको बेग्लाबेग्लै विज्ञप्तिमा विशेष प्रतिनिधिस्तरीय संवादको जानकारी दिएका छन् । दुवै देशका सैनिकबीच १ असारमा गलवान उपत्यका क्षेत्रमा भएको हिंसात्मक झडपमा भारततर्फ कर्णेलसहित २० सैनिकको मृत्यु भएको थियो । त्यसपछि भारत र चीनबीच कूटनीतिक र सैन्य तहमा आरोप–प्रत्यारोप तथा वार्ता हुँदै आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि दिल्लीमा सर्वदलीय बैठक आयोजना गरेका थिए भने मोदी केही दिनअघि लद्दाख भ्रमणमा गएर विस्तारवाद स्वीकार्य नभएको अभिव्यक्ति दिएका थिए । घटनापछि भारतमा चिनियाँ सामान बहिष्कारको लहर चलेको छ भने भारतले ५९ वटा चिनियाँ मोबाइल एप्स बन्द गराएको छ । 

भारतीय विदेश मन्त्रालयद्वारा सोमबार जारी तीनबुँदे विज्ञप्तिअनुसार विशेष प्रतिनिधिहरूले दुवै देशबीच हाल भइरहेको सैन्य तथा कूटनीतिक वार्ताहरूमा भएको प्रगतिको स्वागत गरेका छन् । ‘दुवै देशबीच सीमा क्षेत्रको शान्तिका लागि निरन्तर वार्ता र परामर्श जारी राख्ने पनि सहमति भएको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘सीमा सुरक्षाकर्मीहरूको उच्च तहमा सैनिक फिर्ता गर्ने भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा दुवैबैले जोड दिएका छन् । सीमा क्षेत्रबाट सेना पछि हटाउने प्रक्रिया चाँडै सम्पन्न गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।’ 

उनीहरुबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न सीमा क्षेत्रमा शान्ति कायम गर्नु अपरिहार्य रहेको भन्ने शीर्ष नेताहरूबीच भएको सहमतिका आधामा अघि बढ्ने सहमति भएको छ । दुवैले विवादलाई मतभेदमा बदल्न दिनु नहुनेमा जोड दिएका छन् । 

उनीहरूबीच पूर्ण शान्तिका लागि लाइन अफ एक्च्युएल कन्ट्रोल (एलएसी) बाट फौज आ–आफ्नो सीमाक्षेत्रभित्र चरणबद्ध र क्रमबद्ध रूपमा हटाउने प्रक्रियालाई चाँडै पूर्णता दिने पनि सहमतिमा उल्लेख छ । भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले सीमा क्षेत्र (एलएसी) को यथास्थिति उल्लंघन हुने गरी कुनै पनि एकतर्फी निर्णय नलिन सहमति जनाएका छन् र एलएसीको सम्मान तथा नियमन गर्न पनि सहमत भएका छन् ।’

यसअघि सैन्य अधिकारीहरूको तहमा भएको वार्तामा दुवै पक्षबीच सीमा क्षेत्रबाट करिब डेढ किलोमिटरभित्र आ–आफ्ना सैनिक फिर्ता गर्ने सहमति भएको छ । दुवै पक्षले एक ब्रिगेडभन्दा बढी सैनिक सीमा क्षेत्रमा तैनाथ गरेका छन् । दुवैतर्फ एयरफोर्सले पनि निगरानी बढाइरहेका छन् । भारत–चीन सीमा मामिलामा समन्वय तथा परामर्श गर्ने संयन्त्रमा उनीहरूबीच संवाद जारी रहने पनि सहमति भएको छ । 

चिनियाँ विदेश मन्त्रालयका अनुसार काउन्सिलर यीले यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ भएको उल्लेख गर्दै सम्बन्धमा आउने उतारचढावले विकासको गतिमै प्रभाव पर्ने बताएका थिए । भारत–चीन सीमाको गलवान उपत्यकामा भएको झडपबाहेक द्विपक्षीय सम्बन्ध र विकासबारे छलफल भएको थियो । चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीन आफ्नो क्षेत्रीय सम्प्रभुता र सीमा क्षेत्रको रक्षा एवं सीमा क्षेत्रमा शान्तिका लागि प्रतिबद्ध छ ।’  चिनियाँ विदेश मन्त्रालयका अनुसार स्टेट काउन्सिलर यीले विकास तथा समृद्धि प्राप्ति चीन र भारत दुवैको पहिलो प्राथमिकता भएको र भारतसँग दीर्घकालीन रणनीतिक साझा हितमा सहकार्य गर्नेसमेत बताएका थिए । दुवै पक्षले एक–अर्काविरुद्ध खतरा उत्पन्न नगर्ने गरी रणनीतिक निर्णयको पालना गर्नु जरुरी रहेको चीनको भनाइ थियो ।
अहिलेको परिस्थितिलाई सामना गर्दै जतिसक्दो परिस्थिति सामान्य बनाउन भारतसँग सहकार्य गर्न चीन तयार रहेको पनि यीको भनाइ थियो । दुई देशका जनताको सुझाब तथा हितका लागि सहकार्यमा चिनियाँ जोड थियो । ‘चीन–भारत सम्बन्धको समग्र परिस्थितिलाई सहज बनाउन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘दुवै देशको सीमा क्षेत्रको मामिलासम्बन्धी वर्तमान स्थितिलाई सहज बनाउने दिशामा दुवै पक्षबीच खुलेर गहन ढंगले विचार आदान–प्रदान भएको छ र एक सकारात्मक सहमतिमा हामी पुगेका छौँ  ।’ 

दुई देशका नेताहरुद्वारा गरिएको महत्वपूर्ण सहमति पालना गर्न दुवै पक्ष सहमत भएका छन् । ‘द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासका लागि सीमा क्षेत्रमा शान्ति कायम राख्नु जरुरी भएकोमा दुवै नेता सहमत भएका छन्,’ चिनियाँ विज्ञप्तिमा भनिएको छ ।