Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २२ सोमबार १९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले भन्यो- कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा जाँदैनौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २२ सोमबार १९:०१:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रस्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रस्ट पारेको हो ।

प्रधानमन्त्री केपी ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रस्ट पारेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । 

प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्दर्भमा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर, मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’

उनले थपे, ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रूपमा हेरिरहेका छौँ । प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा । तर, त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ । अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ, किनकि जनताले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यान्डेट दिएका छन् ।’

कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे ।  प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अन्य नेताहरूले पनि देउवासँग भेटघाट गरे पनि नेकपाको आन्तरिक द्वन्द्वमा कांग्रेस यो वा त्यो पक्षमा नउभिने उनले बताए । 

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए । जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटलाई जिम्मेवार प्रतिपक्षको रूपमा घनीभूत ढंगले निर्वाह गर्ने उनको दाबी छ । सरकारले गरेका राम्रा कामको समर्थन र कमजोरी गर्दा औँला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनको तर्क छ । 

संसद् अधिवेशन अन्त्य हुनुभन्दा एक दिनअगाडि सभापति देउवासँग भेट भए पनि त्यो विषयमा कुनै पूर्वसूचना प्रधानमन्त्रीले नदिएको उनले स्पष्ट पारे । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए । उनले राष्ट्रपतिलाई संस्थाहरूको रूपमा नभएर व्यक्तिको रूपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको पनि बताए । 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका नेताहरूले महाधिवेशनको कार्यतालिकालगायत पछिल्ला राजनीतिक घटनाक्रमहरूका विषयमा पनि आफ्ना विचार राखिरहेको बताए ।