१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार २२ सोमबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जकै बजारमा रोकिए उपभोक्ता 

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १८:१८:००

लकडाउन अघिसम्म सुनसानजस्तै देखिने वीरगन्जका पसलहरूमा लकडाउन खुकुलो भएपछि भने चहलपहल हुन थलेको छ । दुई देशको सीमानाका सिल भएपछि भारतीय सीमावर्ती बजार जाने उपभोक्ता वीरगन्जकै बजारमा रोकिँदा चहलपहल बढेको हो । 

सीमा सिल भएपछि खाद्यवस्तु र लत्ताकपडा खरिदका लागि भारतीय सीमावर्ती बजारमा जान नपाएपछि वीरगन्जको बजारमा कारोबार पनि निकै बढेको व्यापारीहरूको भनाइ छ । किराना, खाद्यान्न, कपडा, रेडिमेड, कस्मेटिकलगायत सामग्री खरिद गर्नेहरू यतैको बजारमा रोकिने गरेको उनीहरूको भनाइ छ । 

नगद कारोबार 
बजार खुलेयता नगदमा मात्रै कारोबार हुन थालेको व्यवसायीहरूले बताएका छन् । तीन महिनापछि बजार खुलेकाले उधारोमा कारोबार गर्न समस्या भएको उनीहरूको भनाइ छ । खरिद–बिक्री सबै नगदमै हुन थालेको वीरगन्ज– १० स्थित साहाना फेन्सीका सञ्चालक अलि आलमले बताए । 

रक्सौलमा व्यापार ठप्प
सीमावर्ती बजार रक्सौलका कैयौँ पसल नेपाली उपभोक्ताको भरमा सञ्चालित थिए । सरकारले सीमा सिल गरेका कारण ती पसलमा व्यापार ठप्प छ । 
रक्सौलको बजारमा काठमाडाैं, पोखरा, नारायणगढ, हेटौँडा, जितपुर, सिमरा, परवानीपुरपूर्वको सर्लाहीसम्मका नेपाली उपभोक्ता पुग्थे । तर, सीमा बन्द हुँदा यहाँको व्यापार चौपट भएको रक्सौलका व्यापारीको भनाइ छ ।