मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २२ सोमबार १६:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरको ६० लाख सहयोग

Read Time : > 1 मिनेट
२०७७ असार २२ सोमबार १६:०४:००

काठमाडौं महानगरपालिकाले ६ वटा फुटबल क्लबलाई दश–दश लाख रुपैयाँ सहयोग गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को बजेटबाट महानगरले आफ्नो क्षेत्रभित्र रहेका ‘ए’ डिभिजन माध्यता प्राप्त ६ वटा क्लबलाई ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम सम्बन्धित क्लबलाई हस्तान्तरण गरे । 

महानगरले मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेलमण्डल (एनआटी), संकटा क्लब र मनाङमर्स्याङ्दी क्लबलाई सहयोग गरेको हो । मेयर शाक्यले खेलकुद विकास तथा प्रवर्द्धनका लागि क्लबहरूलाई गरिने आर्थिक सहयोगलाई निरन्तरता दिइएको बताए । 

उनले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको बताए । ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, हरियाली प्रवर्द्धनलगायतका क्षेत्रमा काम गर्दै आएको छ,’ उनले भने, ‘त्योसँगै हामीले खेलकुद, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेका छौँ ।’ 

उनले खेलकुदको विकासका लागि क्लबहरूसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेकोसमेत बताए । महानगरले गत वर्ष भने ‘बी’ डिभिजन क्लबलाई तीन लाख रुपैयाँ र ‘सी’ डिभिजन क्लबलाई दुई लाख रुपैयाँका दरले सहयोग गरेको थियो । यस वर्ष भने ‘ए’ डिभिजन प्राप्त क्लबले मात्रै सहयोग पाएका छन् । मेयर शाक्यले बी र सी डिभिजन क्लबलाई पनि आगामी दिन सहयोग गरिने बताए । 

उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरले खेल क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखिएको बताइन् । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले काठमाडौं महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे । उनले टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्नका लागि समेत छलफल भएको बताए । 

मछिन्द्र क्लबका अध्यक्ष प्रबाेधवीर सिंह कंसाकारले महानगरको सहयोगले क्लबलाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।