१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २२ सोमबार १५:२३:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

सिंहदरबारभित्रको ऐतिहासिक स्टेट हल, पुरानै शैलीमा फर्काउने प्राधिकरणको तयारी

Read Time : > 3 मिनेट
२०७७ असार २२ सोमबार १५:२३:००

श्री ३ महाराज भएका चन्द्रशमशेरले आफू शक्तिमा आएलगत्तै निजी प्रयोजनका लागि सिंहदरबार निर्माण सुरु गरे । सिंहदरबारको निर्माणसँगै राणाले विशिष्ट पाहुनाको स्वागतका लागि ग्यालरी बैठक (स्टेट हल) को पनि निर्माण गरेका थिए ।

सिंहदरबारको पश्चिमपट्टि रहेको स्टेट हल विगत १८ वर्षदेखि भने प्रयोगविहीन बन्दै आएको छ । यसको प्रमुख कारण हो सरकारी निकायले यसप्रति चासो नदेखाउनु । 

कुनै वेला एसियाकै उत्कृष्ट मानिएको स्टेट हल प्रयोगविहीन बन्दा विगतदेखि नै विशिष्ट पाहुनाको स्वागत तथा बैठक तारे होटेलहरूमा हुन थालेको छ । 

अन्य देशका विशिष्ट पाहुनाको स्वागत आफ्नो संस्कारअन्तर्गत नभई तारे होटेलमा सीमित हुँदा स्वागत गर्ने नेपाली मौलिक परम्परा हराउँदै गएको छ भने खर्च पनि बढ्ने गरेको छ । त्यति मात्र होइन, सुरक्षा चुनौती पनि थपिने गरेको छ भने ट्राफिक व्यवस्थापनमा पनि असर पर्दै आएको छ । 

यसकारण आउन सकेन प्रयोगमा 
यो स्थान तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको सबैभन्दा मनपर्ने ठाउँ रहेकाले उनले यस हलमा एकदमै निकट ‘भिआइपी’  पाहुनाका लागि भेट्ने गर्थे ।

आजभन्दा १८ वर्ष पहिले स्टेट हलभित्र स्वागत पाउने अन्तिम विदेशी पाहुना थिए– तत्कालीन चिनियाँ प्रधानमन्त्री झु रोङ्जी । 

उनले नै अन्तिमपटक त्यस स्टेट हलको स्वागतमा सहभागी हुने सुनौलो अवसर पाएका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २ जेठ ०५८ रोङ्जीको सम्मानमा त्यस्तै स्टेट हलमा रात्रिभोजको आयोजना गरेका थिए । 

गणतन्त्रपछि केही समय यस हल राजदूतहरूको ओहाेदाको प्रमाणपत्र बुझ्ने समारोहका लागि प्रयोग हुन थालेको थियो ।

तत्कालीन प्रधानमन्त्री कोइरालाले राष्ट्राध्यक्षको हैसियतमा यही हलमा विभिन्न मुलुकका राजदूतबाट ओहाेदाको प्रमाणपत्र ग्रहणसमेत गरेका थिए ।

पछि पाहुनाहरूका स्वागतको लागिभन्दा पनि प्रमाणपत्र ग्रहण वितरण गर्ने थलोमा मात्र सीमित भयो– स्टेट हल ।

प्रयोगकै समयमा पनि भुइँ थर्कने बाजुत पनि प्रयोगमा आइरहेको स्टेट हल पछिल्लो समयमा भौतिक संरचनाकै कमजोरीले प्रयोगविहीन हुन थालेको बताइन्छ ।

भूकम्पले झनै क्षति
वि.सं. ०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प गयो । 

उक्त भूकम्पले लाखौँ संरचनाहरू ध्वस्त भए । हाम्रा ऐतिहासिक संरचनामा ठूलो क्षति पुऱ्यायो । केही सम्झनामा मात्र सीमित बन्न पुगे भने केही थिलो थिलो भएर रहे । 

भूकम्पले क्षति पुऱ्याएका कतिपय ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण प्राधिकरणले पुनः पुनर्निर्माण गर्दै छ । 

यिनै ऐतिहासिक भौतिक संरचना क्षति हुनेमा सिंहदरबार पनि हो । 

चन्द्रशमशेरले बनाएको  सिंहदरबार अहिलेको  जीवित इतिहासको भौतिक संरचनामध्येको एक मान्न सकिन्छ । 

भूकम्पले सिंहदरबारभित्र निर्माण भएको स्टेट हलमा पनि क्षति भएको थियो ।

पुनर्निर्माण प्राधिकरणका अनुसार स्टेट हल भूकम्पपछि पूर्ण रूपमा क्षति भएको थियो । 

पहिला नै भुइँ हल्लिने समस्याका कारण  कमजोर बनेको संरचना भूकम्पले स्टेट हलको ऐतिहासिक सजावटका लागि राखिएका समानहरूमा समेत क्षति पुगेको पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले बताए । 

हाल पुनर्निर्माण प्राधिकरणले समग्र सिंहदरबारलाई दुई चरणमा विभाजन  गरेर पुनर्निर्माण गर्ने भएको छ ।

सिंहदरबारको पश्चिमपट्टि रहेको ऐतिहासिक संरचनालाई जोगाइराख्नका लागि पुरानै संरचनामा आधारित भएर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख  अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । 

भूकम्प गएपछि स्टेट हलभित्रका संरचनामा चिराचिरा पारेको, पुराना कलाले कुँदिएका संरचनाहरूमा धेरै असर पारेको ज्ञवालीले बताए । 

भूकम्पपछि पुनर्निर्माणको जिम्मा पाएको पुनर्निर्माण प्राधिकरणले स्टेट हलभित्रको ऐतिहासिक सजावट सामान हाल थुपारेर सुरक्षित रूपमा राखेको छ । 

सिंहदरबारको पश्चिमपट्टिको पुनर्निर्माण कार्य भर्खर मात्र अगाडि बढाएको ज्ञवालीले जानकारी दिए । 

उनले भने, ‘हामीले भूकम्पपछि त्यहाँ भएका ऐतिहासिक सामान सेभ गरेर राखेका छौँ, निर्माण कार्य सम्पन्न भएपछि पुनः जस्ताको तस्तै प्रयोगमा आउने गरी बनाउने तयारी भइरहेको छ ।’   

पुरानै शैलीमा पुनर्निर्माण
ऐतिहासिक बोकेको स्टेट हल पुरानै संरचनामा ल्याइने भएको छ । 

पुनर्निर्माण प्राधिकरणका अनुसार ऐतिहासिक महत्वलाई जोगाइराख्नका लागि भए पनि पुरानै शैलीमा निर्माण गर्न लागिएको प्राधिकरणका प्रमुख ज्ञवालीको भनाइ छ । 

पुनर्निर्माणका विज्ञहरूले स्टेट हल भत्काएर नयाँ शिराबाट बनाउने प्रस्ताव ल्याएको भए पनि यस्ता ऐतिहासिक महत्व बोकेको संरचनालाई बचाउनका लागि भए पनि राख्न लागेकोे ज्ञवालीले बताए ।

‘हामीले स्टेट हल जोगाउनुपर्छ भनेरै पुरानै शैलीमा निर्माण गर्न लागेका छौँ । पुरानोजस्तै हुन्छ र प्रयोगमा पनि आउँछ,’ ज्ञवालीले भने । 

बेलायती भवन पनि पुरानैशैलीमा निर्माण हुने
स्टेट हलसँगै रहेको अर्काे उत्तिकै महत्वपूर्ण बेलायती बैठक कक्षको प्रयोग पनि पछिल्लो समय हुन छाडेको छ । 

प्रयोगविहीन बनेको बेलायती भवन पनि यतिवेला पुनर्निर्माणको चरणमा छ ।

बेलायती कक्षमा नेपाली समकक्षीसँग अन्तिम कुराकानी गर्ने अवसर पनि चिनियाँ प्रधानमन्त्री नै जुरेको थियो । 

१ माघ ०६८ मा एक दिने भ्रमणमा नेपाल आएका चिनियाँ समकक्षी वेन जिआबाओसँग वार्ताका लागि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बेलायती बैठक कक्षमा बसेर भेटवार्ता गरेका थिए । 

त्यतिवेलादेखि बेलायती कक्ष प्रयोगविहीन बन्दै आएको थियो । त्यतिवेलादेखि प्रयोगविहीन बनेको त्यस बेलायती भवन १२ वैशाख २०७२ सालमा आएको भूकम्पले थप क्षति हुन पुगेको थियो ।

बेलायती कक्षलाई पनि पुरानै शैलीमा निर्माण गर्न लागिएको प्राधिकरणका प्रमुख ज्ञवालीले बताए । 

‘हामीले बेलायती भवनलाई पहिलाकै अवस्थामा फर्काउनका लागि त्यसअनुरूपको अध्ययन गरिरहेका छौँ,’ ज्ञवालीले भने, ‘प्रधानमन्त्रीलगायत विशिष्ट पाहुनाका लागि आमन्त्रण गर्ने स्थल, साथै चियापान गर्ने सानो सभाहल निर्माणको तयारीमा छौँ ।’

ठूलो स्टेट हल बनाउने तयारीमा प्राधिकरण
पुनर्निर्माण प्राधिकरणले पुरानो स्टेट हललाई यथास्थितिमा राखेर आधुनिक तरिकाले नयाँ ढंगको स्टेट हल बनाउने तयारी भइरहेकोे ज्ञवाली बताए । 

पुरानो स्टेट हललाई ऐतिहासिक रूपमा जोगाउने र प्रधानमन्त्रीले प्रयोगमा ल्याउन सक्नेछन् । 

अहिले पहिलाको जस्तो सानो स्टेट हलले धान्न नसक्ने भएकाले नयाँ स्टेट हल बनाउने तयारी भइरहेको  ज्ञवालीको भनाइ छ । 

‘हामीलाई स्टेट हलको निर्माण गर्नका लागि भनेर परराष्ट्र मन्त्रालयबाट पत्र आएको छ, अब कस्तो कति क्षमताको बनाउने भनेर अध्धयन गरिरहेका छौँ,’ ज्ञवालीले भने ।

प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार सिंहदरबारको पहिलेको संसद् भवनअगाडिको कुनै ठाउँमा आधुनिक स्टेट हलको निर्माण गरिनेछ । 

‘हामीलाई पत्र मात्र  आएको छ, हामीले  कस्तो बनाउने भन्ने कुरा बजेटमा भर पर्छ,’ ज्ञवालीले भने ।