मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २२ सोमबार १३:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नाग्म–गमगढी सडकखण्ड : हिलाम्य सडक, वर्षौंसम्म बनेन पुल, यात्रुलाई सकस

Read Time : > 1 मिनेट
२०७७ असार २२ सोमबार १३:५०:००

कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधन मात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् ।  जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तराेन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुन्छ, तर कामै नभएर  फ्रिज हुने गरेको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।  उनले भने, ‘यो सडक प्रदेश र संघीय सरकार निर्माण गर्ने भनिएकाले  स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन । बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।’

त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । भन्छन्, ‘गाउँपालिकाअघिको जुगाड खण्ड सधैँ हिलाम्य हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौँ, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेरुजु  देखायो ।’ संघीय सरकारअन्तर्गत  सडक ग्राभेलका लागि टेन्डर भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुन सकेको छैन । 

ठेकेदारले अटेर गरेपछि  ग्राभेलको काम अलपत्र
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल हुँदा सडक यात्रा कष्टकर बनेको छ ।

हिम्दुङथोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक सात करोड ९० लाख ९५ हजार एक सय ७७ रुपैयाँमा थोदुङ कन्स्ट्रक्सनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दशैँअघि नै काम सम्पन्न गर्नुपर्ने थियो ।   बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।

नाग्म–गमगढी राजमार्गको सिञ्जा सडकखण्डअन्तर्गत अधिकांश स्थानमा अत्यधिक हिलो र खाल्डाखुल्डीले गाडी फस्ने भएकाले अधिकांश गाडी जानै मान्दैन ।  यसले गर्दा यात्रुले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताए । उनका अनुसार सिञ्जा क्षेत्रमा दिनभरमा तीन किलोमिटरसमेत गाडी गुड्न सक्दैनन् । 

यातायात समस्याकै कारण माथिल्लो सिञ्जा र मुगुका यात्रुहरू बीच बाटोमै बास बस्न बाध्य छन् ।  नाग्म गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डअनुसारको ग्राभेल नहुँदा यात्रुलाई सास्ती भएको छ ।

सात वर्ष बित्दा पनि हिमा नदीमा बनेन पुल
निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि सिँजा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिल्लर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्माणका लागि ०६९ मै चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो ।  ०७० देखि निर्माण थालिएको थियो । तर, एउटा पिल्लर ठडिएपछि निर्माण रोकिएको स्थानीय हंश सार्कीले बताए । 

स्थानीय बासिन्दाले पुल निर्माणका लागि पटक–पटक माग पनि गरेका छन् । जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि, पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका दुई सय बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ ।  छड, गिट्टी, बालुवा पनि अलपत्र छन् । 

पुल नबनेकै कारण पाँच सय रोपनी खेत बाँझै
हिमा नदीमा पुल बनाउन सुरु गर्दा सिँचाइ कुलाे भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । जसका कारण सिँजा–२ रनुखाना गाउँको पाँच सय रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरे । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।