मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पी थिएटरद्वारा शनिबार पाटन दरबार क्षेत्रमा आयोजित ‘अभिभावकविहीन जनता’ अभियानमा अभिनय गर्दै रंगकर्मी । तस्बिर : दीपेन्द्र ढुंगाना / नयाँ पत्रिका
नवीन प्यासी काठमाडाैं
२०७७ असार २२ सोमबार ०८:४०:००
Read Time : > 4 मिनेट
सप्तरंग

विकल्प खोज्दै रंगकर्मी

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार २२ सोमबार ०८:४०:००

लकडाउन नभएको भए मण्डला थिएटरमा ११ चैतयता तीनवटा नाटक मञ्चन भइसक्थे । दयाहाङ राई, राजन खतिवडालगायत त्यसको तयारीमा जुटेका थिए । ती सबै कोभिड–१९ महामारीको मारमा परे । थिएटरको नियमित खर्च भने उस्तै छ । आम्दानी रोकिँदा नियमित कर्मचारीको तलब पनि रोकिएको छ ।

खर्च घटाउने उद्देश्यले कलाकार र प्रशिक्षार्थी गरी मण्डलाले करिब दुई सयजनालाई स्थिति सामान्य नहुन्जेलसम्मका लागि बिदा दियो । ‘हामी ऋणमा पुगिसकेका छौँ,’ मण्डलाका सचिव विजय बराल भन्छन्, ‘यो एकदमै कठिन समय हो ।’ मण्डलाको आयस्रोत नै हलभाडा र नाटक मञ्चनका क्रममा वितरण गरिने टिकटको रकम हो । मण्डलासँग जोडिएका अधिकांश कलाकार आ–आफ्नो गाउँघर पुगेका छन् । काठमाडौंमा रोकिएका कलाकारको नियमित आम्दानी केही छैन । ‘प्रतिभावान् कलाकार पलायन हुने भय छ,’ बराल भन्छन् ।

केही साताअघि कौसी थिएटरले सडक नाटक प्रदर्शन गर्‍यो । दलितका मुद्दालाई विषयवस्तु बनाइएको नाटकमा अभिनय गर्न कलाकार थिएटरसम्म पैदल आए । ‘थिएटरले नै लगानी गरेर सडक नाटक प्रदर्शन गर्‍यौँ,’ थिएटरकी अध्यक्ष आकांक्षा कार्की भन्छिन्, ‘लगानीको प्रतिफल केही थिएन । तर पनि नाटक प्रदर्शन गर्‍यौँ ।’

नयाँ प्रोजेक्टमा काम गर्न नपाउँदा रंगकर्मीहरू विकल्प खोज्न थालेका छन् । धेरै रंगकर्मी भिडियो बनाएर युट्युबको प्लेटफर्म खोजिरहेका छन् ।

यसअघि कौसी थिएटरले रकम संकलन गरेर नाटक मञ्चन गर्थे । थिएटरमा आयोजना हुने कार्यक्रमबापतको हलभाडा र टिकटको आम्दानीबाट थिएटर चलेको थियो । कलाकारले पनि त्यही रकमबाट पारिश्रमिक पाउँथे । अहिले सबै गतिविधि ठप्प छन् ।

केही रंगकर्मीले विद्यालयमा अध्यापन गरेर जीविका चलाएका थिए । विद्यालयका नियमित कक्षा पनि चलेका छैनन् । रंगकर्मकै विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन्, नाट्यकर्मी ।

कौसी थिएटरको एउटा प्रोजेक्टमा कलाकार र प्राविधिक गरी २० जनासम्म जोडिन्थे । सोही टिमले नाटक मञ्चन गथ्र्यो । नयाँ प्रोजेक्टमा काम गर्न नपाउँदा उनीहरू विकल्प खोज्न थालेका छन् । ‘अहिले धेरै रंगकर्मी भिडियो बनाएर युट्युबको प्लेटफर्म खोजिरहेका छन्,’ कार्की भन्छिन् ।

शिल्पी थिएटरको अवस्था पनि त्यसभन्दा फरक कहाँ छ र ! शिल्पीसँग आबद्ध अधिकांश कलाकार गाउँ फिरेका छन् । शिल्पीमा मासिक तलब बुझ्ने १२ कर्मचारी थिए । दुई दर्जनभन्दा बढी कलाकार नियमित सक्रिय रहन्थे । प्रशिक्षार्थी पनि उत्तिकै थिए । ‘आयस्रोत नै नाटक मञ्चन हुँदाको टिकट र हलभाडा थिए । ती सबै रोकिएपछि ठूलो संकट आइपरेको छ,’ शिल्पीका अध्यक्ष घिमिरे युवराज भन्छन् ।

अब कसरी अगाडि बढ्ने भन्ने अन्योलमा छन्, उनी । ‘नाटक रिहर्सल हुन्थे, कविता वाचन हुन्थे र अन्य साहित्यिक गतिविधि गथ्र्यौं,’ घिमिरे भन्छन्, ‘ती सबै रोकिएका छन् । एउटा मुभमेन्ट नै रोकिएको छ । शून्यता छाएको छ ।’

संकटबीच नाटकलाई ब्युँताउने प्रयास शिल्पीले थालेको छ । केही समयअघि बत्तीसपुतली र शनिबार पाटन दरबार क्षेत्रमा शिल्पीले सडक नाटक प्रदर्शन गर्‍यो । मूलतः सरकारलाई खबरदारी गर्नु नाटकको उद्देश्य थियो । यस अभियानलाई नाम दिइएको छ, ‘अभिभावकविहीन जनता’ । 

करिब १० मिनेटको नाटकमा लकडाउनका कारण रोग र भोकमरीबाट पिल्सिइरहेका जनताको मनोदशा प्रस्तुत गरिएको थियो । कलाकार रवीन्द्र श्रेष्ठका दुई चित्र र कार्टुनिस्ट रवि मिश्रका कार्टुन पनि प्रदर्शनस्थलमा राखिएको थियो । लकडाउनको शून्यतामा मनोरञ्जन भर्न यो अभियान चलाइएको घिमिरे बताउँछन् । भन्छन्, ‘सरकारलाई जवाफदेही बनाउन र आममानिसलाई आइसोलेनबाट बाहिर ल्याउन अभियान चलाएका हौँ ।’

लकडाउनबीचमा कीर्तिपुरस्थित थिएटर मलको अगुवाइमा ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ आयोजना भयो । उत्सवमा पहिले मञ्चन भइसकेका देशी–विदेशी नाटकको भर्चुअल प्रस्तुति गरिएको थियो । लकडाउनमै लालाबाला रंगमञ्चले स्कुले विद्यार्थीलाई केन्द्रित गरेर भर्चुअल नाटक प्रतियोगिता आयोजना गर्‍यो । शैली थिएटरले विश्व बालकविता र बालनिबन्ध महोत्सव आयोजना गर्‍यो । कौसी थिएटर र मञ्जरी थिएटरले भर्चुअल प्लेब्याक थिएटर आयोजना गरिरहेका छन् ।

आ–आफ्नो हिसाबबाट काम गरिरहेका रंगकर्मीहरूलाई ‘थिएटर हब’ले जोड्दै आएको छ । हबसँग हालसम्म ७० वटा नाट्य समूह सम्पर्कमा आएका छन् । र, ती सबैसँग करिब एक हजार चार सय रंगकर्मी जोडिएका छन् ।

११ असारमा थिएटर हबको संयोजनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई नौबुँदे ज्ञापनपत्र बुझाइयो, जसमा देशभरका ४९ वटा नाट्य समूह सहभागी थिए । ज्ञापनपत्रमा स्वतन्त्र नाट्य संस्था र रंगकर्मीको समस्या सम्बोधन गर्दै अभिभावकत्व ग्रहण गर्न प्रतिष्ठानलाई आग्रह गरिएको छ । ‘चासो लिनुपर्ने प्रतिष्ठानले नै हो,’ रंगकर्मी घिमिरे भन्छन्, ‘तर, यस्तो विकराल अवस्थामा प्रतिष्ठान मौन रहेकाले ध्यानाकर्षण गराएका हौँ ।’ प्रतिष्ठानले विकल्प दिनुपर्ने रंगकर्मी सुनील पोखरेल बताउँछन् । भन्छन्, ‘सरकारसँग बजेट मागेर भए पनि प्रतिष्ठानले रंगकर्मीका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ।’

प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा रंगकर्मीको समस्याबारे छलफल भइरहेको बताउँछन् । ‘कसरी अगाडि जाने भन्नेमा अन्योल छ,’ उनी भन्छन्, ‘सिंगो रंग क्षेत्रलाई कसरी अगाडि लैजाने भन्नेबारे गम्भीरतापूर्वक सोचिरहेका छौँ ।’ 

धेरै कलाकार गाउँतिर

रंगकर्मी विजय बरालका अनुसार रंग क्षेत्रमा संघर्षरत नयाँ पुस्ता ठूलो संख्यामा छ । यस क्षेत्रमा सक्रिय रंगकर्मीमध्ये करिब आधा त नयाँ र उत्साहित युवायुवती छन् । उनीहरू यही क्षेत्रमा करिअर बनाउन चाहन्छन् । ‘प्रतिभावान् रंगकर्मीबारे अहिले नै चासो नलिने हो भने धेरै राम्रा कलाकार गुमाउनुपर्नेछ,’ बराल भन्छन् ।

‘काठमाडौंमा रहँदा सिर्जनशील हुन सकिएन । कोठामा बस्दा उकुसमुकुस भइयो,’ उनी भन्छन्, ‘त्यही भएर रिफ्रेस हुन गाउँ आएँ ।’

तीमध्ये अधिकांश लकडाउनलगत्तै गाउँ फिरेका छन् । फेरि सहर फर्किने–नफर्किने दोधारमा छन् । परिस्थिति सहज नबनुन्जेल सहर आउनुको पनि औचित्य छैन । सर्वनाम थिएटरका कृष्ण खड्का तिनैमध्ये हुन्, जो वैशाखमै सिन्धुलीस्थित घर पुगे । ‘काठमाडौंमा रहँदा सिर्जनशील हुन सकिएन । कोठामा बस्दा उकुसमुकुस भइयो,’ उनी भन्छन्, ‘त्यही भएर रिफ्रेस हुन गाउँ आएँ ।’

उनी कम्तीमा तिहारपछि मात्र काठमाडौं आउने योजनामा छन् । त्यतिन्जेल घरमै अभिनय अभ्यास गर्दै छन् । ‘गाउँमा रहँदा एकदमै सिर्जनशील महसुस गरिरहेको छु । काठमाडौंमा जस्तो आर्थिक व्यवस्थापनको तनाव यहाँ छैन,’ उनी भन्छन्, ‘एकैपटक तिहारपछि नयाँ नाटकमा काम गर्ने हिसाबले सहर फिर्छु ।’

मण्डला थिएटरकी पूर्वविद्यार्थी केनिपासिंह पहाडी अहिले काठमाडौं चप्पलकारखानास्थित घरमै सर्ट मुभी र म्युजिक भिडियोमा काम गरिरहेकी छन् । थिएटरको काम ठप्प छ । यस क्षेत्रबाटै पलायन हुनुपर्ने चिन्ता छ, उनलाई । ‘अगाडि ठूलो समस्या देखिरहेकी छु,’ उनी भन्छिन् । अहिलेकै अवस्थाबाट गुज्रिन उनलाई चुनौतीपूर्ण लागेको छ । ‘यस्तो अवस्थामा अग्रजहरूको भूमिका र साथको खाँचो छ,’ पहाडी भन्छिन्, ‘कलाकारहरूमा एन्जाइटी र डिप्रेसनको जोखिम पनि देखिरहेकी छु ।’

भ¥याङ नाट्यमञ्चमार्फत स्वतन्त्र ढंगले नाटकमा काम गरिरहेका खोटाङका कवि राई काठमाडौंमै चुपचाप बसेका छन् । स्वतन्त्र रूपमा काम गर्ने कलाकारलाई अझ बढी समस्या देखेका छन्, उनले । भन्छन्, ‘हामी मूलधारका रंगकर्मीसँग नजोडिएकाले पनि समस्यामा छौँ ।’

संगठित नभइसकेका राईजस्ता कलाकारका लागि आगामी यात्रा सहज देखिँदैन । कुनै न कुनै थिएटरमा आबद्ध रंगकर्मी नै समस्यामा छन् । ‘स्वतन्त्र रंगकर्मीको समस्या भनेकै आफ्नो समस्या बाहिर ल्याउने प्लेटफर्म नहुनु हो,’ उनी भन्छन्, ‘यस्तो समस्या पहिले पनि थियो । अहिले परिस्थिति अझ जटिल बनेको छ ।’