Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २१ आइतबार २०:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

सुदूरपश्चिममा कोरोना संक्रमित साढे तीन हजार नाघे 

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार २०:२६:००

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या साढे तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार देशभर १५ हजार सात सय ८४ जनामा संक्रमितमध्ये सुदूरपश्चिममा मात्रै तीन हजार पाँच सय ३८ छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा आइतबार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असारयता सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र बनेको हो । गत शुक्रबार मात्रै सुदूरपश्चिमा चार सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणकै कारण यस प्रदेशमा हालसम्म सातजनाको मृत्यु भइसकेको छ ।
प्रदेशका नौमध्ये तीन जिल्लामा संक्रमितको संख्या पाँच सय नाघेको छ । कैलालीमा सबैभन्दा धेरै नौ सय ४६ जनामा संक्रमण पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यस्तै संक्रमितको संख्या अछाममा पाँच सय ५४ जना, डोटीमा पाँच सय १४ जना, कञ्चनपुरमा चार सय २८ र बाजुरामा तीन सय ९० पुगेको छ । बैतडीमा दुई सय ८३, बझाङमा एक सय ३९, डडेल्धुरामा दुई सय ६७ र दार्चुलामा १७ जनामा संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए । संक्रमितमध्ये साढे आठ सयजना महिला छन् । ६ सय ६२ जना डिस्चार्जपछि घर फर्केको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशबाट हालसम्म २२ हजार सात सय १७ वटा नमुना जाँच गरिएको छ भने विभिन्न जिल्लाबाट संकलन गरिएका दुई हजार चार सय ९५ नमुना परीक्षण हुन बाँकी छ । भारतबाट फर्केका सात हजार सात सय ५३ जना क्वारेन्टाइनमा छन् ।