मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १७:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानीमन्त्रीले भनिन्– अब मेलम्ची खानेपानी दन्तेकथाको अन्त्य भएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १७:१३:००

खानेपानीमन्त्री विना मगरले अब मेलम्ची खानेपानी दन्तेकथाको अन्त्य भएको बताएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘दुई दशकदेखि अलमलमा रहेको आयोजना अब नयाँ चरणमा प्रवेश गरेको छ, मेलम्ची आउँछ, आउँछ भन्दाभन्दै दन्तेकथाजस्तै बनेको थियो, अब त्यो पनि अन्त्य भएको छ ।’ 

आयोजनाले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्न निर्माण गरेको २६ किलाेमिटर लामो सुरुङमा आइतबार बिहानबाट पानी छाडेको छ । मन्त्री मगरले कोरोनाका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएकाले केही ढिला भए पनि दशकौँदेखिको उपत्यकावासीको प्रतीक्षा र निराशालाई लक्षित गरेर अस्थायी प्रकृतिका संरचना निर्माण गरेर भए पनि सुरुङ परीक्षणको काम अघि बढाइएको बताइन् । ‘मेलम्चीले थुप्रै उतारचढाव झेल्यो, प्राविधिक र सामाजिक रूपमा लामो संघर्षपछि मात्रै यहाँसम्म पुगेको छ,’ उनले भनिन्, ‘अब निराशाहरूको अन्त्य भएको छ, अब मेलम्ची विफल होइन, सफल आयोजना बनेको छ ।’ 

उनले आगामी वर्षभित्रमा उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भन्दै छिट्टै उद्घाटनको मिति घोषणा गरिनेसमेत बताइन् । 

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याउन बनाइएको सुरुङमा अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गरिएको आयोजना प्रमुख तिरेशकुमार खत्रीले बताए । उनले भने, ‘यसअनुरूप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ क्रमशः परीक्षण गर्दै भर्नका लागि १५ देखि २० दिन लाग्छ, त्यसपछिका दश दिन त्यत्तिकै छाडिन्छ, पुनः पानी खाली गर्न पनि अरू २० दिन लाग्छ, त्यसपछि मात्रै सुरुङको अनुगमन सुरु हुन्छ ।’ 

उनले यसरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने बताए । इटालियन कम्पनी सिएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । 

आयोजनाको सुरुङ परीक्षण करिब दुई महिनामा सकिए पनि मेलम्चीको पानी तत्कालै काठमाडौंमा आउँदैन । आयोजनाको मुख्य डाइभर्सन टनेल नै निर्माण भइसकेको छैन । मेलम्चीको पानी सून्दरीजल आइसकेपछि पनि उपभोक्ताको घरसम्म पुऱ्याउन अरू समय लाग्छ । 

सरकारले आगामी वर्षभित्र मेलम्चीको पानी उपभोक्ताले पिउन पाउने दाबी गरेको छ । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्षका लागि पाँच अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । मेलम्चीको पानी काठमाडौं आए पनि माग पूरा नभएकाले सरकारले याङ्ग्री र लार्के खोलाबाट पनि पानी ल्याउने योजना बनाइसकेको छ । तीनवटै खोलाको पानी ल्याउँदा मात्रै उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आउनेछ ।