मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २१ आइतबार १६:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिपक्षीको नाराबाजीबीच सुदूरपश्चिम प्रदेश सभा सुरु

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १६:०३:००

सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रतिपक्षीको अवरोधका बीच आइतबार बजेटमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिपक्षीको निरन्तर अवरोधले संसद् चल्न नसक्दा आर्थिक वर्षको अन्त्यतिर पुग्दा पनि प्रदेश सरकारले १ असारमा ल्याएको बजेटमाथि छलफल सुरु हुन सकेको छैन । प्रतिपक्षी दल अवरोध हटाउन तयार नभएपछि सभामुख अर्जुनबहादुर थापाले अवरोधकै बीच बैठक चलाएका हुन् ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए ।

प्रतिपक्षीको विरोधबीच सभामुख थापाले सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई बजेटमाथिको छलफल प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री बोहराले पेस गरेको बजेटमाथिको छलफलको प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुखले गरे । बैठकको कारबाही चलिरहेका वेला प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू भने नाराबाजी गरिरहेका थिए ।

पटकपटक छलफल गरेर सहमतिको प्रयास गरिए पनि प्रतिपक्ष सहमत नभएपछि सत्ता पक्षले पेलेरै जाने रणनीति अपनाएको हो । 

प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले १० असारयता सदनमा निरन्तर अवरोध गरिरहेका छन् ।

बजेटमाथिको छलफल सुरु गर्नका लागि १० र १२ असारमा आह्वान गरिएका बैठक प्रतिपक्षी सांसदको अवरोधका कारण अवरुद्ध भएका थिए । त्यसपछि तय गरिएका बैठक पनि प्रतिपक्षीले अवरोध गर्ने भनेपछि स्थगित भएका छन् ।