विदेशमा रहेका झन्डै २९ हजार नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणले शनिबार साँझसम्म १४ देशमा रहेका एक सय ४३ नेपालीको ज्यान गएको छ । विदेशमा यो साता मात्रै थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, ओमानलगायतका देशमा रहेका नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको छ ।
समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नाै सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ हजार दुई सय २६ जना गैरआवासीय नेपाली कोरोनामुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।
१८ हजार दुई सय ९३ जनाको उद्धार
यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरूको उद्धारको कामलाई तीव्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार दुई सय ९३ जनाको उद्धार गरिएको छ ।
अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरू नेपाल फर्किएका छन् ।
एक सय १५ शव नेपाल ल्याइयो
यसैबीच विदेशमा निधन भएका नेपालीको तीन सय ५२ शवमध्ये एक सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी एक सय पाँच शव व्यवस्थापनको काम बाँकी रहेको छ । ती शवमध्ये एक सय ३२ जना नेपालीको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको एनआरएनएले जनाएको छ ।