मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७७ असार २१ आइतबार ०९:२७:००
Read Time : > 3 मिनेट
नयाँCity प्रिन्ट संस्करण

घरको छतमै अर्गानिक तरकारी

Read Time : > 3 मिनेट
२०७७ असार २१ आइतबार ०९:२७:००

व्यवसायी लक्ष्मी गुरुङले लकडाउनमा घरको कौसीलाई खेतबारीझैँ उर्वर बनाइन् । काठमाडौं सुन्धारास्थित घरको छतमा फलेको आलु खन्ने वेला भएको छ । फर्सी, स्कुस, अकबरे खुर्सानीदेखि चाइनिज र लट्टे सागसम्म छतमै फलेका छन् । पुदिना मिन्ट र चुकन्दर बेलायतबाट बिउ ल्याएर रोपेकी छन् । छिमेकीहरू साँझ–बिहान तरकारी किन्न बजार धाउँछन्, उनी भने छततिर उक्लिन्छिन् । होटेल, ट्राभल एजेन्सी, हस्तकलाका सामान, जडीबुटीलगायत व्यवसायमा संलग्न स्वस्तिक ग्रुपकी अध्यक्ष हुन्, उनी । घरको छत नै तरकारी फलाउने बारी बनेको छ, उनका लागि । भन्छिन्, ‘मेरो भान्सामा बजारको तरकारी बिरलै भित्रिन्छ ।’

कृषि वैज्ञानिक मदन राईका अनुसार काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी परिवारले कौसी खेती गर्दै आएका छन् । पछिल्लो समय डाक्टर, इन्जिनियरलगायत व्यावसायिक व्यक्तिका परिवार यसतर्फ आकर्षित देखिन्छन् । 

बजारमा विषादीरहित तरकारी पाउन गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । त्यसैले हो, सहरी इलाकामा कौसी खेतीको अवधारणा भित्रिएको पनि । कोभिड–१९ महामारीमा त कौसी खेती संक्रमणको जोखिमबाट बच्ने उपाय पनि बनेको छ । कंक्रिटको जंगलमा हरियाली मासिएको छ । आफ्नै छतको हरियालीमा रमाउने अवसर दिएको छ, कौसी खेतीले । ‘खाली ठाउँमा तरकारी लगाउँदा घरको माहोल आनन्ददायी बनेको छ,’ गुरुङ भन्छिन्, ‘बालबच्चाले खेतीबारे जानकारी पनि पाएका छन् ।’

भान्साबाट निस्किने फोहोर, काम नलाग्ने कागज र थोत्रा कपडालाई कौसी खेतीमा मल बनाउन प्रयोग गर्छिन् । उनका अनुसार यसलाई भर्मी कम्पोस्ट भनिन्छ । ‘त्यसका लागि एक खालको गड्यौला किन्न पाइन्छ, जसले आफूले खाएको ५० प्रतिशत मल बनाउँछ,’ उनी भन्छिन् । उनले कौसी खेती सुरु गरेको करिब १२ वर्ष भयो ।

उनका अनुसार घरमै खेतीपातीमा रमाउँदा लकडाउनका कारण डिप्रेसनको समस्याबाट पनि मुक्ति मिल्छ । हालै उनले अन्य दुई साथीसँग मिलेर ‘एएलके इन्स्पाइरेसन अभियान’ सुरु गरेकी छन् । जुममार्फत कृषि र कौसी खेतीबारे जानकारी दिने उनीहरूको उद्देश्य हो ।
...

काठमाडौं नीलोपुल घर भएकी विद्या सुवेदीले पनि लकडाउनको पट्यारलाग्दो समय कौसी खेतीमा बिताइन् । सामाजिक सेवामा रुचि भएकी उनले चार वर्षयता बजारबाट तरकारी किनेकी छैनन् । सिमी, बोडी, फर्सी, काँक्रो, भान्टा, भिन्डी, खुर्सानी, सागलगायत तरकारी उनले छतमै फलाउँछिन् ।

 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

कौसी खेतीका लागि आवश्यक मल आफ्नै भान्साबाट निस्किने फोहोरले धानेको छ । दैनिक करिब डेढ घन्टा कौसी खेतीलाई छुट्याउँछिन् । ‘माटो फेर्नुप-यो भने मात्र बढी समय दिनुपर्छ,’ उनी भन्छिन्, ‘अरू वेला सुकेका पात टिप्ने, तरकारी गोडमेल गर्ने र पानी हाल्नेजस्ता सामान्य काम मात्र हुन्छ ।’

काठमाडौंका स्थानीय तहले पछिल्लो समय कौसी खेतीलाई प्रोत्साहन गरिरहेका छन् । काठमाडौं महानगरपालिका–२९ ले इच्छुक वडावासीलाई सहायता गर्दै आएको छ । वडाकै सहायता लिएर डिल्लीबजारकी इन्दिरा पौडेल पराजुलीले असारदेखि छतमा तरकारी लगाएकी छन् । उनका अनुसार व्यक्तिले १० हजार बुझाएपछि वडाले १० हजार थपेर २० हजारबराबरका सामान उपलब्ध गराउँछ, जसमा ५० लिटरको ट्यांकी, ४० थान गमला, सिँचाइका लागि आवश्यक पाइपलगायत हुन्छन् । सामान जडानका लागि वडाले प्राविधिक पठाइदिन्छ । ‘पहिले थोरै तरकारी लगाएका थियौँ, वडाको सहयोग पाएपछि बढाएका छौँ,’ पराजुली भन्छिन् ।
...

पुरानो बानेश्वरबाट सिनामंगलतिर पाँच सय मिटर बढेपछि बायाँतर्फ ‘अर्गानिक वल्र्ड’ लेखिएको भवन देखिन्छ । घरमालिक उमेश लामाले छतमा अर्गानिक तरकारी र फलफूल फलाउँछन् । उनको कौसीमा पुग्दा कुनै बगैँचामा पुगेको भान हुन्छ । रायोको साग, धनियाँ, अंगुर, अनार, आरु, आलु, सिमी, काँक्रो, भान्टा, सुन्तला, सिमसाग, रूख गोलभेँडा फलिरहेका हुन्छन् । तीनदेखि चारवटा गमलाको सागले परिवारलाई पुग्छ । बाँकी साग बजार पु-याउँछन् ।

गमलामै लटरम्म फलिरहन्छ, ‘पेपिनो मेलोन’ । गोलभेँडा परिवारको ‘पेपिनो मेलोन’ दक्षिण अमेरिकी मुलुक पेरु र चिलीमा लोकप्रिय तरकारी हो, जुन बाह्रैमास फल्छ । यसमा ओमेगा–३, क्यालोरी, भिटामिन ए, बी, सी र फलाम प्रशस्त पाइन्छ । लामाका अनुसार पेपिनो नेपाली बजारमा प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुन्छ । सबैभन्दा माथिल्लो तलामा आलु फलाउँछन् । आलु रोपिएकै छेउमा खोर बनाएर गिरिराज कुखुरा पालेका छन् । कुखुराको मल तरकारी र फलफूलमा प्रयोग गर्छन् ।
...

बालाजु चोकबाट बिजी मलनजिक पर्छ, ‘होली गार्डेन बोर्डिङ स्कुल’ । यस विद्यालयका सञ्चालक हुन्, फिल्म निर्देशक तथा गायक किरण प्रधान । विद्यालयको छतमा उनले कौसी खेती गर्दै आएका छन् । भवनको छतमा सिजनअनुसार अनार, अम्बा, उखु, एभोकाडो, आरु, भोगटे, सुन्तला, मुन्तला, आँप, कागती, तेजपत्ता, टिम्बुर, खुर्सानी, सिमी, करेला, फर्सी, लौका, घिरौँला, गोलभेँडा, साग, लसुन, प्याज, स्कुस, कुभिन्डो, बैगुन, भिन्डीलगायत तरकारी र फलफूल फल्छन् । 
हरियाली भएकाले चराचुरुंगीको आउजाउ पनि बाक्लो हुन्छ । काग, जुरेली, धोबिनी चरा कौसीमा रमाइरहेका हुन्छन् । आरुचा, घिउकुमारी, पारिजात, गुलाबको फूल, लालुपाते र हेबिस्कोस पनि रोपेका छन् । ०५८ सालदेखि प्रधानले कौसी खेती गरिरहेका छन् । प्रधान दम्पतीबाहेक माया तामाङले यसको स्याहार गर्छिन् । कौसी खेतीमा तामाङको लगाव देखेर प्रधानले नाम नै राखिदिएका छन्, फूलबौला । विद्यार्थीलाई छतमा पु¥याएर तरकारी खेतीबारे व्यावहारिक ज्ञान दिने गरिएको छ ।

तारकेश्वर नगरपालिकास्थित मनमैजुका खिमानन्द न्यौपानेले पनि दुई वर्षदेखि कौसी खेती गर्दै आएका छन् । उनको कौसीमा साग, धनियाँ, लसुन, भिन्डी, कागतीजस्ता तरकारी मात्र होइन, लालीगुराँस, गुलाबलगायत फूल पनि रोपिएको छ । छतमा कुखुरा पालिएको छ, जसको मल तरकारी खेतीमा प्रयोग हुन्छ ।
...

कृषिवैज्ञानिक मदन राईका अनुसार काठमाडौं उपत्यकामा १० हजारभन्दा बढीले कौसी खेती गर्दै आएका छन् । पछिल्लो समय डाक्टर, इन्जिनियरलगायत व्यावसायिक व्यक्तिका परिवार यसतर्फ आकर्षित देखिन्छन् । गमला, प्लास्टिक र माटोका भाँडा, बोरा र थोत्रा जर्किनमै पनि तरकारी र फलफूल फलाउन सकिने भएकाले सहरी इलाकामा यसप्रति आकर्षण बढेको राई बताउँछन् । ‘गोबर, पात पतिंगर, तरकारीका छिल्का, कुखुराको सुली र सडेगलेका खानालाई मल बनाउन सकिन्छ,’ उनी भन्छन् ।

कृषिविज्ञ प्रा.डा. आनन्दशोभा ताम्राकार कौसीमा गरिने अर्गानिक खेती स्वास्थ्यका लागि अति उपयोगी हुने बताउँछिन् । ‘बजारबाट ल्याइने तरकारीमा विषादी प्रयोग गरिएको हुन्छ, जसले गम्भीर प्रकृतिका रोग निम्त्याउँछ,’ उनी भन्छिन्, ‘त्यसबाट बच्न कौसी खेती उपयुक्त हुन्छ ।’ 

उनका अनुसार गँड्यौला किनेर घरमै भर्मी कम्पोस्ट मल बनाउन सकिन्छ, जसले भान्साबाट निस्किने फोहोर, प्रयोग भइसकेका कागज र थोत्रा कपडा खाएर मल बनाउँछ । ‘यो खर्चिलो छैन, थोरै समय छुट्याउँदा स्वस्थ तरकारी र फलफूल खान पाइन्छ,’ उनी भन्छिन्, ‘बजार जाँदा कोरोना संक्रमणमा पर्ने जोखिम पनि भएन । लकडाउनमा समय कटाउने उपयुक्त मौका पनि हुने भयो । काममा व्यस्त रहँदा मानसिक समस्याको जोखिम पनि भएन ।’ उनी आफैँ कौसी खेती गर्छिन् । भर्मी कम्पोस्ट र गँड्यौला बिक्री गरेर आम्दानी पनि गर्छिन् ।