१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार २१ आइतबार ०९:०५:००
Read Time : > 1 मिनेट
अर्थ

विदेशबाट १८ हजारको उद्धार,  नेपालबाट साढे १२ हजार बाहिरिए

लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार २१ आइतबार ०९:०५:००

लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक स्वदेश फर्किएका छन् । 

सरकारले असार २१ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानलाई बन्द गरेको छ । यो बन्द आगामी साउन १७ सम्म पुर्‍याउने तयारी छ । चैत ९ गतेयता सातौँपटक निर्णय गर्दै सरकारले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न भन्दै उडानमा रोक लगाउँदै आएको छ । 

विदेशमा अलपत्र नेपालीको उद्धार उडान भने जेठ ३२ गतेदेखि सुरु गरेको थियो । पहिलो चरणमा असार ११ सम्म २४ हजार नेपालीको उद्धार गर्ने भने तापनि हालसम्म १८ हजारको मात्रै उद्धार गरिएको छ । सरकारले असार १६ गतेबाट उद्धार गर्ने भने तापनि अहिले केही समय थप गरेर असार २६ सम्मका लागि पुर्‍याएको छ । सरकारले असार २६ सम्म २४ हजार नेपाली नेपाल ल्याउने योजना बनाएको छ ।

नेपाल सरकारले नियमितभन्दा झन्डै दोब्बर भाडामा चार्टर गर्ने तयारीपछि व्यापक आलोचना भएको थियो । आलोचनापछि सरकारले दुईपटक भाडा घटाएको थियो । हाल नेपालबाट नेपाल वायुसेवा निगमका ४ जहाज र हिमालय एयरलाइन्सका ३ जहाजमार्फत चार्टर उडान भइरहेको छ । यता विदेशी एयरलाइन्सहरूले पनि चार्टर गरिरहेका छन् । 

विभिन्न १७ मुलुकबाट नेपालीहरू उद्धार उडानमार्फत स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कार्गोसहित लकडाउनमा २ सय ६१ चार्टर उडान भएका छन् । जसमा नेपाल वायुसेवा निगमका ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका ४ र श्री एयरलाइन्सका ६ उडान गरी १ सय ७० वटा चार्टर उडान विभिन्न मुलुकमा भएका छन् । 

विमानस्थलमार्फत एक सय दिनमा ४७ वटा कार्गो उडान भएका छन् । ४७ कार्गो उडानमार्फत ८ सय ९१ टन कार्गो नेपाल भित्रिएको छ । त्यसैगरी, ४ सय ४७ टन कार्गो बाहिरिएको छ । 

लकडाउनको एक सय दिनमा आन्तरिक उद्धार उडानतर्फ ६१ हेलिकोप्टरका चार्टर उडान भएका छन् भने जहाजतर्फ पनि ६१ चार्टर उडान भएका छन् । त्यसैगरी, ३ सय ५ वटा उडान आन्तरिकतर्फको कार्गो उडान भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।