मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोक्जेन फरम्यानफरमेइएन
२०७७ असार २१ आइतबार ०७:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इरानले ट्रम्पविरुद्ध किन पक्राउ पुर्जी जारी गर्‍यो ?

अन्तर्राष्ट्रिय समुदायमा वासिंटनको बेइमानीपूर्ण मुखुन्डो उतार्ने रणनीतिअन्तर्गत इरानले पुर्जी जारी गरेको हुनुपर्छ 

Read Time : > 2 मिनेट
रोक्जेन फरम्यानफरमेइएन
२०७७ असार २१ आइतबार ०७:४९:००

सन् ३० मा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा इरानमाथिको हतियार प्रतिबन्ध थप लम्ब्याउने आह्वानले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउने आशा गरिएको थियो । तर, अन्तर्राष्ट्रिय समाचारमा भने अर्कै घोषणाले प्राथमिकता पायो । इरानी अदालतले डोनाल्ड ट्रम्पको पक्राउ पुर्जी जारी गरेको समाचार विश्वमा छायो । जनवरी ३ मा इरानका शीर्ष जनरल कासिम सुलेमानीको हत्याका लागि जिम्मेवार भन्दै ट्रप्पको पक्राउ पुर्जी जारी गरिएको छ । इरानले ट्रम्पलाई पक्रन इन्टरपोलको समेत सहयोग मागेको छ । 

इरानका लागि अमेरिकी विशेष दूत ब्रायन हुकले इरानको घोषणाको प्रतिक्रियामा भने, ‘राजनीतिक रूपले प्रेरित यस कदमलाई इन्टरपोलले गम्भीर रूपमा नलेला र रेड कर्नर नोटिस जारी नगर्ला भन्ने हाम्रो आशा छ ।’ इन्टरपोलले केही समयपछि इरानले भनेजस्तो पुर्जी जारी नगरिने बताएको छ । पक्राउ पुर्जी जुन समयमा जारी भयो, त्यसका आधारमा धेरैले यसलाई अमेरिकाको हतियार प्रतिबन्धको अवधि लम्ब्याउने आह्वानबाट ध्यान अन्यत्र मोड्ने इरानको रणनीतिका रूपमा मात्र लिए । इरान आणविक सम्झौता भनिने सन् २०१५ मा हस्ताक्षर भएको ‘संयुक्त विस्तृत कार्ययोजना’ले इरानको रिभोलुस्नरी गार्डका महत्वपूर्ण सदस्यमाथि विगतदेखि लागू भएको हतियार तथा यात्रा प्रतिबन्ध अक्टोबरमा अन्त्य हुने व्यवस्था गरेको छ । 

मे २०१८ मै त्यस सम्झौताबाट बाहिरिएको अमेरिकाले ती प्रावधानलाई मान्ने कुरा भएन । वासिंटन अहिले सम्झौताका अन्य सदस्यमाथि हतियार प्रतिबन्ध जारी राख्न दबाब दिइरहेको छ । 

अमेरिका र इरान दुवैमा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा दुई देश युद्धविना कसरी एकअर्कामाथि बढीभन्दा बढी क्षति पुर्‍याउने भन्ने कुरामा केन्द्रित भएकोजस्तो देखिन्छ।

पुर्जी जारी गरेर ट्रम्प पक्राउ पर्लान् भन्ने इरान आफैँले पनि विश्वास गरेको छैन होला । यो खासमा एक सांकेतिक कदम हो । पक्राउ पुर्जी जारी गरेर इरानले अमेरिकी व्यवहारमाथि प्रकाश पार्न खोजेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनहरूलाई जथाभावी रूपमा आफ्नो फाइदाका लागि उपयोग गरेको सर्वविदितै छ । ‘सुलेमानीको हत्या गर्दा एउटा राज्यले अर्को राज्यमाथि शक्ति प्रयोग गर्ने अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन भएको छ,’ एग्न क्यालमार्डले भनिन् । एग्न संयुक्त राष्ट्र संघको गैरन्यायिक हत्यासम्बन्धी विशेष दूत हुन् । अमेरिकी रक्षा मन्त्रालयले आमअमेरिकीमाथि आक्रमणको खतरा रहेकाले प्रतिरक्षाका लागि जनरल सुलेमानीको हत्या गरेको तर्क गरेको थियो । तर, सुलेमानीको हत्यालगत्तैको ट्विटमा एग्नले आत्मरक्षाका लागि आक्रमण गरेको भन्ने अमेरिकी दाबीमा आधार नभेटिने बताइन् । 

सुलेमानीको हत्याको आफूहरूले बदला लिने इरानले चेतावनी दिएको थियो । अहिलेको पक्राउ पुर्जी वासिंटनको अन्तर्राष्ट्रिय समुदायप्रतिको अन्याय र बेइमानीमा प्रकाश पार्ने बृहत्तर रणनीतिको हिस्सा हुन सक्छ । सुलेमानीको हत्यापछि अमेरिकाले हत्याको कारणबारे दिएको प्रस्टीकरणलाई पुष्टि गर्न कुनै कागजात पनि प्रस्तुत गरेको छैन । इन्टरपोलको समर्थन नपाए पनि पुर्जी जारी गरेपछिको अवस्थामा इरानका अगाडि ट्रम्प भ्रमण गरेका राष्ट्रलाई ट्रम्पलाई सुपुर्दगी गर्न आह्वान गर्ने कानुनी अधिकार तयार भएको छ । हुन त कुनै पनि देशले अमेरिकी राष्ट्रपतिलाई इरानसामु सुपुर्दगी गर्ने हिम्मत गर्नेछैनन् । तर, यो वारेन्टले प्रदान गर्ने कानुनी प्रावधान भावी दिनमा कुनै अमेरिकी अधिकारीको यात्रामा अवरोध पारिँदा प्रयोग हुन सक्छ ।

इरानले जारी गरेको पक्राउ वारेन्टले अमेरिकाले कैयौँ इरानी अधिकारीमाथि लागू गरेको यात्रा प्रतिबन्धतर्फ पनि प्रकाश पारेको छ । अमेरिकाले स्वयं इरानी विदेशमन्त्रीमाथि समेत यात्रा प्रतिबन्ध लगाएको छ । दुई देश अहिले हरेक क्षेत्र, चाहे त्यो ट्विटर होस् वा इराकी भूमि वा अन्तर्राष्ट्रिय कानुनमै किन नहोस्, एकअर्कासँग संघर्षरत छन् । अमेरिका र इरान दुवैमा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा दुई देश युद्धविना कसरी एकअर्कामाथि बढीभन्दा बढी क्षति पु-याउने भन्ने कुरामा केन्द्रित भएकोजस्तो देखिन्छ । अमेरिका इरान आणविक सम्झौतालाई पूर्णतः ध्वस्त बनाउन उद्यत् छ । इरान र सम्झौताका अन्य हस्ताक्षरकर्ता सम्झौता जोगाउन संघर्षरत छन् । हतियार प्रतिबन्ध अक्टोबरभन्दा बढी लम्ब्याइए इरानले आणविक अप्रसार सम्झौताबाट बाहिरिने धम्की दिएको छ ।

इरानको त्यस्तो कदमले मध्यपूर्वमा आणविक हतियारको दौड सुरु गराउन सक्छ । हतियार प्रतिबन्ध लम्ब्याउने प्रस्तावमाथि चीन र रुसले भिटो लगाउने बताएका छन् । अमेरिका यस कार्यमा असफल भयो भने इरानमाथि थप प्रतिबन्ध लगाउने योजनामा छ । धर्मराउँदो इरानी अर्थतन्त्र थप कमजोर बनाउने उसको लक्ष्य छ । त्यसबाहेक आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पभन्दा फरक राष्ट्रपति उम्मेदवारले जितेर आए पनि सम्झौता सुचारु गर्न नसक्ने बनाउन वर्तमान प्रशासन अघि बढेको छ ।

(रोक्जेन क्यालिफोर्निया विश्वविद्यालयकी लेक्चरर हुन् ।)
अल जजिराबाट