१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २० शनिबार ०७:२२:००
Read Time : > 4 मिनेट
खेलकुद

कोभिड–१९ प्रभाव आर्थिक समस्यामा खेलाडी

Read Time : > 4 मिनेट
२०७७ असार २० शनिबार ०७:२२:००

प्रतियोगितामा भाग लिएर मात्र हुँदैन, जितेपछि मात्र आम्दानी हुने हो । लकडाउन र कोरोना संकटले आर्थिक रूपमा कमजोर बनाएको छ ।

गत ३ फागुनमा मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्यो । लिगच्याम्पियन बन्न मच्छिन्द्रले करिब डेढ करोड खर्चियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीले मच्छिन्द्रबाटै खेले । र, २५ हजारदेखि एक लाख रुपैयाँसम्म पारिश्रमिक बुझे । लिगमा सहभागी अन्य क्लबले पनि एक करोड हाराहारी खर्च गरे । र, सबै क्लबका खेलाडीले राम्रो आम्दानी गरे ।

त्यसको महिनादिन बित्दानबित्दै कोभिड–१९ संकट सुरु भयो । फागुनपछि न कुनै प्रतियोगिता हुन सक्यो, न त खेलाडीले आम्दानीको माध्यम नै पाए । स्थानीयदेखि राष्ट्रियस्तरका सबै खेलाडी बेरोजगार बनेका छन् । मच्छिन्द्रलगायत क्लब पनि मनग्य खर्च गर्ने अवस्थामा छैनन् । संकट लम्बिँदै जाँदा मच्छिन्द्रले चैतयता खेलाडीसँग सम्झौता नवीकरण गरेको छैन ।

विभागीय क्लबमा आबद्ध नरहेका खेलाडी आर्थिक संकटमा परेका छन् । विभागीय क्लबमा आबद्ध खेलाडीलाई भने मासिक तलब दिइने भएकाले दैनिकी चलाउन त्यति गाह्रो छैन ।

राष्ट्रिय खेलकुद परिषद्मा दुई सय आठवटा संघ दर्ता छन् । तीमध्ये दुईवटा संघले मात्र राष्ट्रिय टोलीका खेलाडीलाई मासिक तलब दिन्छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुषतर्फको राष्ट्रिय टोलीका सदस्यलाई मासिक १५ हजार र महिलालाई सात हजार रुपैयाँ दिन्छ ।

यस्तै, नेपाल क्रिकेट संघले पुरुष टोलीतर्फ ‘समूह–ए’का खेलाडीलाई ३५ हजार, ‘बी’लाई २५ हजार र ‘सी’लाई १५ हजार मासिक तलब दिन्छ । अन्य खेलाडीका लागि प्रतियोगिता जित्दा भएको आम्दानी मात्र विकल्प हो ।

‘कोभिड–१९ ले विश्वभरका खेलाडीलाई प्रभावित बनाएको छ,’ मच्छिन्द्रका कप्तान विराज महर्जन भन्छन्, ‘हामीजस्तो सम्झौता गरेका खेलाडी पनि अहिले बेरोजगार छौँ, कतैबाट सहयोग छैन ।’

                                                             .............

कोभिड–१९ संकट विश्वभरको साझा समस्या हो । र, खेलाडी बेरोजगार बन्नु पनि नेपालको मात्र समस्या होइन । वार्षिक अर्बौं डलर लगानी रहने क्रिकेट, फुटबल, टेनिस, बक्सिङ र गल्फलगायत खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत कोभिड–१९ को मारमा छन् । यही संकटबीच अस्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई मासिक तलब दिन नसक्ने घोषणा गरेको छ । तलब खुवाउन नसक्ने भएपछि बोर्डले आफैँ पहलकदमी लिएर कर्मचारीलाई डिपार्टमेन्टल स्टोरहरूमा पार्टटाइम जब दिलाएको छ ।

आइपिएल नहुँदा दैनिक गुजारा चलाउनै मुस्किल परेको अस्ट्रेलियन क्रिकेटरले बताएका छन् । क्रिकेट मात्र नभई युरोपका पाँच ठूला लिग व्यवस्थापकले पनि खेलाडीको मासिक तलब तथा वार्षिक सम्झौताअनुसारको रकम कटौती गरेका छन् । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेमार जुनियर, केलियन एम्बाप्पे र पाउल डिबालाजस्ता स्टार खेलाडी पनि आम्दानी आधा घटाउन बाध्य छन् ।

                                                                   ...............

खेलाडीको मुख्य आम्दानी भनेकै प्रतियोगितामा खेल्दा आउने म्याच–फी, क्लोज क्याम्पमा रहँदा प्राप्त गर्ने दैनिक भत्ता, चर्चित कम्पनीसँगका ब्रान्ड एम्बासडर हुँदा र उपाधि जित्दा प्राप्त हुने रकम हो ।

नेपाली खेलाडीले कोभिड–१९ अघि त्यस्तै रकमबाट दैनिक जीवन चलाइरहेका थिए । सरकारले खेलकुदलाई पुनः सञ्चालनमा ल्याउन ठोस योजना ल्याउन नसक्दा खेलाडी घरमै खुम्चिन बाध्य छन् । उनीहरूको खेलजीवन ठप्प छ ।

कोभिड–१९ अघि र पछि पनि खेलाडी आर्थिक रूपमा समस्यामै रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । भन्छन्, ‘अहिले यू–१९ को तलब रोकिएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल नहुँदा हामीले पारिश्रमिक र पकेट मनी पनि पाएका छैनौँ ।’ नेपालमा अन्य खेलको दाँजोमा क्रिकेट खेलाडीको वार्षिक आम्दानी राम्रो छ । पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग र एभरेस्ट टी–२० फ्रेन्चाइज लिगमा खेल्न पाउँदा क्रिकेटरको आम्दानी राम्रो रहन्छ । अहिले तीनवटै लिग स्थगित छन् । यस्तै, नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा उनीहरूसँग पकेट मनी पर्याप्त हुन्छ ।

नाम चलेका अधिकांश खेलाडी कुनै न कुनै ब्रान्डसँग आबद्ध छन् । ती सबैको आम्दानीले उनीहरूको आम्दानीको स्रोत बलियो हुने हो । तर, अहिले खेलकुद गतिविधि निष्क्रिय रहेकाले आम्दानीका सबै माध्यम बन्द रहेको कप्तान मल्ल बताउँछन् । ‘खेल गतिविधि ठप्प छ, प्रायोजकले कहाँ लगानी गर्नु ?’ उनी भन्छन्, ‘आफ्नो उत्पादन प्रवद्र्धन गर्दा थप आम्दानी प्राप्त हुने उनीहरूको अपेक्षा हुन्छ ।’ भर्खरै व्यावसायिक बन्न थालेको नेपाली क्रिकेटलाई कोभिड–१९ ले पुरानै दिनमा फर्काउन लागेको उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा नियमित सहभागिता जनाउँदै वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने लेग स्पिनर सन्दीप लामिछाने पनि कोभिड–१९ को मारमा परेका छन् । सरकारले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक विजेता र ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउँछ । अरू खेलाडीले सरकारबाट कुनै भत्ता पाउँदैनन् ।

राष्ट्रिय खेलकुद परिषद्मा आधाभन्दा बढी मार्सल आर्टस् संघ दर्ता छन् । यो प्रकृतिका अधिकांश खेलाडी बेरोजगार छन् । विभागीय क्लबमा आबद्ध खेलाडीलाई समस्या नरहेको १३औँ सागमा कराँतेमा स्वर्ण जितेकी अनु अधिकारी बताउँछिन् । भन्छिन्, ‘विभागीय क्लबमा आबद्ध नरहेका हामीजस्ता खेलाडी समस्यामा छौँ ।’ त्यसबाहेक अधिकांश खेलाडी विभिन्न स्कुल र कलेजमा पार्टटाइम प्रशिक्षक छन् । तर, कोभिड–१९ का कारण स्कुल र कलेज पनि बन्द छन् । खेलाडीको आम्दानीको यो माध्यम पनि रोकिएको छ ।

अधिकारीका अनुसार राष्ट्रियस्तरका अधिकांश खेलाडी स्कुल, कलेजमा पार्ट टाइम प्रशिक्षक छन् । ‘आर्थिक समस्याबीच स्कुलबाट आउने तलब पनि ३० प्रतिशत कटौती भएको छ,’ उनी भन्छिन् । तेक्वान्दोका कमल श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी र सुटिङकी कल्पना परियार विभागीय क्लबमा आबद्ध छन् । अरू खेलाडी कोभिड–१९ का कारण समस्यामा रहेको उनीहरू बताउँछन् ।

‘हामीलाई त्यति ठूलो समस्या छैन, जति विभागीय क्लबबाहिरका खेलाडीलाई छ,’ चौधरी भन्छिन्, ‘धेरै खेलाडीले प्रतियोगितामा जितेको रकमबाट जीवन चलाउँछन् । कतिपय साथी अन्यत्र जागिर गर्नुहुन्थ्यो । सबै क्षेत्र ठप्प रहँदा पक्कै असर गरेको छ ।’

नेपाल पुलिसका आर्चरी खेलाडी तिलक पुनमगर पनि विभागीय टोलीबाहिरका खेलाडी समस्यामा रहेको बताउँछन् । ‘त्यस्ता खेलाडीको मुख्य आयस्रोत नै प्रतियोगिताहरू हुन् । कुनै प्रतियोगिता नहुँदा उनीहरूको जीवन कष्टकर छ,’ उनी भन्छन् । ब्याडमिन्टनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा सक्रिय सहभागिता जनाउने प्रिन्स दाहाल पनि खेल गतिविधि ठप्प रहँदा आम्दानी घटेको बताउँछन् । ‘अहिले पूरै खाली बस्नुपरेको छ । प्रतियोगितामा भाग लिएर मात्र हुँदैन, जितेपछि मात्र आम्दानी हुने हो,’ उनी भन्छन्, ‘लकडाउन र कोरोना संकटले आर्थिक रूपमा कमजोर बनाएको छ ।’ उनी विश्व जुनियर ब्याडमिन्टनको वरीयतामा छैटौँ स्थानमा छन् ।

सबै खेलाडी कोभिड–१९ का कारण चरम आर्थिक संकटमा रहेको खेलाडीहरूको संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन् । भन्छन्, ‘व्यावसायिक नबनिसकेको नेपाली खेलकुदमा कोभिड–१९ ले गम्भीर प्रभाव पारेको छ ।’

खेलाडीको समस्याबारे खेलकुद मन्त्रालय, परिषद् र नेपाल ओलम्पिक कमिटीबीच छिटै छलफल हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको दाबी छ । ‘यो समस्या हाम्रो मात्र नभई अन्तर्राष्ट्रियस्तरकै हो,’ उनी भन्छन्, ‘राज्यले त्यस्ता खेलाडीका बारेमा योजना बनाउनेछ ।’