मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १९ शुक्रबार २२:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री पौडेलको राजीनामा माग

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार २२:०९:००

सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकमा सहभागीहरूले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेका छन् । चार दिन अघिदेखि भएको दलको बैठकमा मुख्यमन्त्री र सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै सत्तापक्षकै सांसदहरूले राजीनामा माग गरेका हुन् । 

बैठकमा नेता माधव नेपालनिकट र पूर्वमाओवादीका सांसदहरूले सरकारले प्रभावकारी काम नगरेको र बजेट कार्यान्वयन गर्न असफल भएको भन्दै मुख्यमन्त्रीको राजीनामा मागेका हुन् । उनीहरूले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटसमेत मुख्यमन्त्री र मन्त्रीकेन्द्रित भएको आरोप लगाएका छन् । 

बैठकमा सहभागी एक सांसदका अनुसार पूर्वमाओवादी र नेपालनिकट सांसदहरूले मुख्यमन्त्री पौडेलसहित मन्त्रीहरूको राजीनामा मागेको बताए । सरकारले जनतालाई निराश बनाउने काम मात्र गरेका कारण राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई बैठकमा सांसदहरूले सुझाब दिएको उनको भनाइ छ । 

सरकार चुकेका कारण हामीले विरोध गरेका हौँ : सांसद चौलागाईं
सल्लाह–सुझाबलाई कुल्चिएर प्रदेश सरकार अघि बढेका कारण सरकारको विरोध गर्न बाध्य भएको सत्तारुढ दल नेकपाका सांसद पशुपति चौलागाईंले बताए । ‘निर्वाचनको क्रममा पार्टीको घोषणापत्रमा उल्लेख गरेअनुसार बजेट निर्माणमा सरकार चुकेका कारणले सरकारको विरोध गरेका हौँ,’ चौलागाईंले भने । सरकारको कमीकमजोरीसँगै आफूहरूले समेत काम गर्न नसकेकोबारे बैठकमा स्पष्ट पारेको उनले बताए ।

सुझाब दिन पाँच सदस्यीय समिति गठन
संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूप्रति विभिन्न आरोप लागेपछि समस्या समाधान गर्न सुझाब समिति गठन भएको छ । संसदीय दललाई सुझाब दिन पाँच सदस्यीय समिति गठन गरिएको हो । नेकपा संसदीय दलका उपनेता शालिकराम जम्कट्टेलको संयोजकत्वमा मुख्यसचेतक केशवराज पाण्डे, केशव पोखरेल, प्रतिमा श्रेष्ठ र रत्न ढकाल सदस्य रहेको समिति गठन गरिएको संसदीय दलको कार्यालयको जनाएको छ । 

समितिले सरकारको अवस्थाबारे समीक्षा गर्ने र चुनावी घोषणापत्रअनुसारको कामबारे मूल्यांकन गरी निष्कर्षसहितको प्रतिवेदन तयार पार्नेछ ।