१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार १९ शुक्रबार २१:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बादी समुदायको पीडा : पेसा बदल्दा पनि दुःख सकिएन 

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार २१:३४:००

कुशे गाउँपालिका –५ साँधिबिसौनाका गणेशबहादुर बादी बिहान मिरमिरेदेखि बेलुकी साँझसम्मै १३ वर्षीय छोरा रमण बादीको साथमा फलामको काममा व्यस्त हुन्छन् । माछा मार्ने पुर्खौली पेसा छोडेर १३ वर्षदेखि फलामको काम गर्दा पनि उनको परिवारले दुईछाक मिठोमसिनो पेटभरि खान पाएका छैन । 

‘पुर्ख्याैली काम बन्द गरी फलामका भाँडा बनाउनतर्फ लागेँ,’ गणेशबहादुरले भने, ‘पेसा बदले पनि समस्या उस्तै छन् ।’ माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर बेच्न थालेको उनको भनाइ छ । तर, आफूहरूले बनाएको भाँडा बजारमा बिक्री नहुँदा यो पेसाले पनि जीवनस्तरमा सुधार नआएको उनले बताए । उनको परिवारमा ६ जना छोराछोरीसहित आठजना छन् । उनले छोराछोरी विद्यालय पठाएका पछि छैनन् । आठजनाको परिवार एक तलाको खरले छाएको कच्ची घर बस्दै आएका छन् । यो घर र जमिन पनि उनको नाममा छैन । उनले ऐलानी जग्गामा घर बनाएर बसेका हुन् । उनकी श्रीमती फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाइन् । 

पुर्ख्याैली पेसा टिकाउनै गह्रो 
मादल बनाएर बेच्ने पुर्ख्याैली पेसा छाडेका कर्णबहादुर बादीको पीडा पनि गणेशबहादुरको भन्दा फरक छैन । ‘नयाँ–नयाँ प्रविधि आएपछि मादल बिक्री हुनै छाड्यो । फेरि मादल बनाउने काठ पनि पाउन छाड्यो । काठ नै नभएपछि हाम्रो पेसा कसरी चल्छ ?’ कर्णबहादुरले भने । पुर्ख्याैली पेसा माछा मार्ने, मादल बनाएर बेच्ने गरेर जीवन निर्वाह गर्ने बादी समुदायले बिस्तारै पेसा छोडे पनि नयाँ पेसाबाट पनि उनीहरू खुसी भने छैनन् । 

३० परिवारको आफ्नै जमिन छैन
उनीहूजस्तै कुशे गाउँपालिकाका ३० बादी परिवारको आफ्नो जमिन र घर छैन । रुकुम पश्चिम आठबिसकोटको राडीमा बसोवास गर्दै आएका उनीहरू कुशे गाउँपालिका आएको करिब दुई दशक बितेको छ । 

बादी समुदायलाई स्थानीय सरकारले आयआर्जनमा केही योजना ल्याएर श्रम गर्ने वातावरण मिलाइदेला कि भन्ने आशा छ । नलगाड नगरपालिका– ७ दल्लीस्थित बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगर प्रमुख टेकबहादुर रावल बताउँछन् । ‘अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन,’ नगरप्रमुख रावलले भने,’ सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीहरूलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ ।’