मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १९ शुक्रबार १२:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाको अन्तरकलह : दुई अध्यक्षलाई भेटेर पार्टी एकताका लागि दबाब दिँदै दोस्रो तहका नेताहरू

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १२:३९:००

नेकपाका दोस्रो पुस्ताका नेताहरूले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको नेतृत्वमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई भेटर एकताका लागि दबाब दिने भएका छन् । 

शुक्रबार बिहान उनकै निवासमा भएको भेलाले भुसाललाई ओली र प्रचण्डको समय लिने जिम्मेवारी दिएको छ ।

पार्टी एकीकरणका क्रममा भएका यसअघि भएका मुख्य दुई सहमतिको आधारमा टेकेर एकताको नयाँ आधारमा सहमति गर्न दुवै अध्यक्षलाई सुझाब दिइने भुसालले नयाँ पत्रिकालाई बताए ।

‘हामीले एकताका आधारहरूमा केन्द्रित रहेर समग्रमा कुरा गरेका छौँ । औपचारिक रूपले भएका २ जेठ ०७५ र ४ मंसिर ०७६ को सहमतिको आधारमा टेकेर फराकिलो एकताका लागि प्रयास जारी राख्ने र नयाँ सहमतिका आधारमा पार्टीलाई एकता बनाउने निष्कर्ष निकालेका छौँ,’ भुसालले नयाँ पत्रिकासँग भने ।

उनले एकताको नयाँ आधार खोज्दा अहिले उठिरहेको ‘एक व्यक्ति–एक जिम्मेवारी’ वा दुई पदको जिम्मेवारीको विषय पनि सम्बोधन हुने पनि बताए । 

‘पार्टीलाई एउटा विधिमा लैजानैपर्छ, त्यो विधि भनेकै नयाँ एकताको आधार हुनेछ । त्यसअन्तर्गत अहिले उठेका एक पद वा दुई पद सबै पर्नेछन् । कुनै हालतमा पार्टी बिभाजन हुन दिन्नौँ,’ उनले भने । 

दुई अध्यक्षको भेटपछि निरन्तर छलफल अघि बढ्ने पनि उनले बताए । 

भेलामा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, मणि थापा, टोपबहादुर रायमाझीलगायत सहभागी थिए । 

बिहीबारको स्थायी समिति बैठकले एकताको विकल्प खोजी गर्ने गृहकार्यका लागि दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको थियो । 

शुक्रबार बिहानैदेखि नेताहरू अनौपचारिक छलफल र गृहकार्यमा जुटिरहेका छन् ।