मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०८:५२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

नेकपा विवाद :  पार्टी विधान नाघेर देशको संविधानतर्फ उन्मुख

Read Time : > 3 मिनेट
२०७७ असार १९ शुक्रबार ०८:५२:००

विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपालाई बचाउन दुवैतर्फका नेताहरूले अन्तिम कोसिस जारी राखेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुवै पद नछाड्ने ‘बटमलाइन’ स्पष्ट पारिसकेका छन् । तर, उनका सहयोगी नेताहरू अर्का अध्यक्ष प्रचण्डसँग संवादमा छन् । 

स्थायी कमिटीले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिने, तर ओलीले राजीनामा नदिने स्पष्ट भएपछि निकास निकाल्न बिहीबार दिनभर प्रयास भएका छन् । स्थायी कमिटीको बैठक बालुवाटारमै बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बिहीबार बैठकमा सहभागी भएनन् । प्रधानमन्त्रीले एक कदम अगाडि बढेर संसद्को अधिवेशन नै अन्त गराएपछि स्थायी कमिटीले आफ्नो सम्भावित निर्णय स्थगित गरेको छ । एकता बचाउन शुक्रबार प्रयास गर्ने र शनिबार निर्णय गर्ने नेकपाको तयारी छ । 

तर, प्रधानमन्त्री ओलीले संवैधानिक र प्रचण्ड–माधव समूहले राजनीतिक कदम अगाडि बढाइरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले बिहान ८ बजे आफ्नो निवास खुमलटारमा प्रधानमन्त्री ओली समूहका नेताहरूसँग छलफल गरेका थिए । अघिल्लो साँझ बहुमत नेताहरूको झम्सिखेल भेलाले पार्टीमा एक व्यक्ति : एक जिम्मेवारीको नीति लागू गरेर जाँदा उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी गराएका थिए । छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए । त्यस्तै, प्रचण्डनिकट नेता एव‌ं ऊर्जामन्त्री वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताहरू पनि छलफलमा थिए । 

छलफलमा ओलीनिकट नेताहरूले दुई अध्यक्षबीचको जिम्मेवारी बाँडफाँडलाई इमानपूर्वक लागू गरेर पार्टी एकतालाई सुदृढ बनाउन प्रचण्डको ध्यानाकर्षण गराएका थिए । ‘जनताको आशीर्वाद पाएर झन्डै दुईतिहाइ पायौँ, जनताको म्यान्डेटअनुसार एकीकरण गर्‍यौँ । हामीले पार्टी फुटायौँ भने जनताले फेरि किन भोट हाल्ने ? यस्ता गम्भीर प्रश्नको उत्तर दिन धेरै कठिन हुन्छ,’ अध्यक्ष प्रचण्डलाई दिएको सुझाब उद्धृत गर्दै संसदीय दलका उपनेता नेम्वाङले भने, ‘त्यसकारण बरु एकता र सहमतिका लागि के सहयोग गर्नुपर्ने हो, हामी गर्छौँ, तर तपाईंहरू अघि बढ्नुस्, पार्टीलाई मिलाउनुस्, दुई अध्यक्षले पहल गर्नुस्, सहमति र एकताबाहेकको अर्को विकल्प छैन, हामीले त्यही भन्यौँ ।’

छलफलमा सहभागी प्रचण्डनिकट नेता गजुरेलले बीचको बिन्दुमा भेट्ने गरी पार्टीलाई फुटबाट बचाउने गरी छलफल भएको बताए । ‘उहाँहरूले पनि पार्टीलाई फुटबाट बचाउनुपर्छ, त्यसका लागि दुवै अध्यक्षले पहल लिएर सम्झौता गर्नुपर्छ भन्दै अहिलेको परिस्थितिबारे चिन्ता प्रकट गर्नुभो,’ उनले भने, ‘कम्प्रमाइज भनेको दुवै पक्ष आ–आफ्नो ठाउँबाट अलिकति पछि हट्ने कुरा हो । पूर्व र पश्चिमबाट अलिकति पछि हट्दा बीचमा भेट हुन्छ, पछि हटेरै एकता कायम गर्ने हो ।’

ओलीनिकट नेताहरूसँगको डेढ घन्टा छलफलपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानमन्त्री ओलीसँग उनको करिब आधा घन्टा छलफल भएको थियो । झम्सिखेलमा भेला गरेर आफूलाई हटाउने निष्कर्ष निकालेको विषयमा आक्रोशित ओलीले स्थायी कमिटी बैठक बस्नुको औचित्यमाथि नै प्रश्न उठाएका थिए । प्रचण्डले अन्तिम निर्णय पार्टी बैठकले गर्ने भएकोले छलफल गरौँ भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन स्थगित गर्ने सरकारको तयारी थियो, अहिले त्यसलाई स्थगित गर्ने र छलफललाई निरन्तरता दिने समझदारी भएको जानकारी आएको छ,’ उनले भने । 

तर, स्थायी कमिटी बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास गएका थिए । फर्केर उनी स्थायी कमिटी बैठकमा आएनन्, बरु बैठक चलिरहेकै बीचमा उनले १२ बजे बालुवाटारमै आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक डाकेका थिए । स्थायी कमिटीको बैठक चलिरहेकै वेला बालुवाटारको अर्को कक्षमा मन्त्रिपरिषद् बैठक बस्न थालेको सूचना आएको थियो । प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको हुन सक्ने भन्दै स्थायी कमिटीमा ‘खैलाबैला’ मच्चिएको थियो । मन्त्रीहरू बैठकका लागि हिँडेपछि नेकपा स्थायी कमिटी बैठक पनि स्थगित भयो । 

उता स्थायी कमिटी बैठकमा रहेका केही मन्त्रीहरू जाँदाजाँदै मन्त्रिपरिषद् बैठक सकिएको थियो । ‘हामी पुग्दापुग्दै मन्त्रिपरिषद् बैठक सकिएको रहेछ,’ पर्यटनमन्त्री योगेश भट्टराईले पत्रकारहरूलाई भने । बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि नै संसद्को अधिवेशन अन्त्य गरेकी थिइन् । संसद्को अधिवेशन अन्त्य भएकाले अब सरकारले चाहेको अध्यादेश ल्याउन बाटो खुलेको छ । 

संसद् अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको जानकारी पाएपछि अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । ‘पार्टी बैठकमा पनि नआउने र दल विभाजन गर्ने कोसिस भन्दै प्रचण्डले आफ्नो भनाइ राख्नुभयो । त्यस्तै, प्रधानमन्त्रीले आफूमाथि घेराबन्दी भएपछि अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने दोहोर्‍याउनुभयो,’ स्थायी कमिटीका एक सदस्यले भने । 

विभाजनको खतरा भन्दै बैठक स्थगित

सरकारले संसद् अधिवेशन अन्त्य गराएर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । ‘पुनः पार्टी एकतालाई हरहालतमा रक्षा गर्न, सुदृढ गर्न तथा पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेकाले पर्सि (शनिबार) ११ बजेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरिएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । 

नियोजित रूपमा प्रधानमन्त्रीलाई अपमानित गर्ने प्रयास भएकाले पार्टी एकताको मर्ममाथि प्रहार भएको ओलीनिकट नेताहरूको भनाइ छ । ‘एकताको मर्मविपरीत बाहिर–बाहिरै भेला गरेर नियोजित एजेन्डा बोकेर प्रधानमन्त्रीलाई लगातार अपमान र तेजोबध गर्ने उद्देश्यले उहाँहरू प्रस्तुत हुन थालेका कारण पनि प्रधानमन्त्री बिहीबारको बैठकमा उपस्थित नहुनुभएको हो,’ ओलीनिकट एक नेताले भने, ‘पार्टी बैठकमा को के बोल्ने र के निर्णय गर्ने भन्ने अघिल्लो दिन नै मिडियामा आएपछि त्यस्तो बैठकमा किन जाने भन्ने प्रधानमन्त्रीको भनाइ छ ।’ 

प्रचण्डले पार्टी फुटको संघारमा पुगेकाले एकता जोगाउन सबैलाई आ–आफ्नो ठाउँमा पहलका लागि आग्रह गर्दै बैठक शनिबारसम्मका लागि स्थगित भएको जानकारी बैठकलाई गराएका थिए । ‘पार्टी एकता संकटमा छ, विभाजनको संघारमा पुगेको छ, यस्तो गम्भीर संकटका वेला एकता बचाउनु हामी सबैको दायित्व हो, त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ । त्यसैका लागि बैठक एक दिन रोकेर फेरि बसौँ, सकारात्मक दिशातिर लैजान सबैले पहल गरौँ,’ अध्यक्षको भनाइ उद्धृत गर्दै नेता हरिबोल गजुरेलले भने ।