मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०८:५०:००
Read Time : < 1 मिनेट
अर्थ

साढे तीन महिनापछि खुल्यो पुनः श्रम स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १९ शुक्रबार ०८:५०:००

साढे तीन महिनापछि सरकारले पुनः श्रम स्वीकृति खुला गरेको छ । मन्त्रिपरिषद्को १५ असारमा बसेको बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका कामदारलाई पुनः वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । कामदारले कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पूरा गरी रोजगारीमा जान सक्नेछन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलाको करार अवधि समाप्त भई पुनः करार नवीकरण र भिसाको समेत म्याद थप भएका कामदारले आवश्यक कागजातसहित निवेदन दिएमा स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतका आधारमा पुनः श्रम स्वीकृति दिइनेछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत फागुन २९ गते बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । 

नेपाली कामदार फर्काउन आएका विदेशी मुलुकका जहाज वा विदेश लिन जाने नेपाली जहाजमार्फत नेपाली कामदार पठाइने योजना रहेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।   

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्ययनअनुसार रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागबाट विदेश अनुमति प्राप्त गरेका १ लाख १५ हजार कामदार महामारीका कारणले विदेश जान पाएनन् । त्यस्तै, पूर्वस्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदार पठाउनेसम्बन्धी सबै कार्य बन्द भएको छ । 

मलेसियाका केही कम्पनीहरू नेपालबाट कामदार लैजान तयार रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । त्यस्तै, साउदी अरबले जुलाई ७ देखि भिसा दिने बताएको छ । साथै, कतार पनि नेपालबाट कामदार लैजान सकारात्मक भएको उनले बताए ।