मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १३:४४:००
Read Time : > 1 मिनेट
समाचार

यातायात क्षेत्रदेखि स्वास्थ्यकर्मी कुटपिटसम्मका विषयमा सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार १३:४४:००

बिहीबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्नेदेखि  स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्ने सांसदहरूले निजी र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताएका हुन् । 

सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा नेपालीहरूको खर्बाैं लगानी भए पनि यसलाई हेर्ने विशेष निकाय चाहिने बताए । 

यात्रुबाहक, मालबाहकलगायत विभिन्न प्रकारका यातायातका साधन सञ्चालनमा रहे पनि यसका लागि छुट्टै नीति पनि नभएकाले नीति ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए । 

निजीले पनि सार्वजनिक भाडाको काम गरिरहेको उल्लेख गर्दै उनले यातायात व्यवसायीहरूलाई १० प्रतिशत पुनर्कर्जा र ढुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । 

त्यसैगरी सांसद विमला राई पौडेलले अति विशिष्ट व्यक्तिहरूका लागि राम्रो सुरक्षा प्रबन्ध गर्ने चलन रहे पनि पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भए पनि उनीहरूमाथि आक्रमण भइरहेकाले उनले स्वास्थ्यकर्मीहरूको सुरक्षाको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् । 

स्वास्थ्यकर्मी नै सुरक्षित नभए आमनागरिक कसरी सुरक्षित हुन्छन् ? भन्दै उनले प्रश्न गरिन् । 

सांसद शान्तिकुमारी अधिकारीले असारे विकासले विनाश निम्त्याएको बताइन् । 

१५ जेठमा बजेट सार्वजनिक भएर असारमा पास हुने भए पनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने उनको भनाइ थियो । 

साउन र भदौ महिनामा कर्मचारीहरू पालैपालो बिदामा बस्ने हुँदा काममा ढिलाइ भइरहेको उनले बताइन् । 

सम्बन्धित मन्त्रालयहरूले अख्तियारी चाँडो दिएर कात्तिकभित्र कम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उनको ठहर छ ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारेन्टाइनहरूको भद्रगोल अवस्थाका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । 

संलकन भएका स्वाबको पिसिआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर बढेको बताए ।