१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार १३:२१:००
Read Time : > 1 मिनेट
सेयर बजार डिजिटल संस्करण

६ प्रतिशतले नेप्से घटेपछि सेयर कारोबार बन्द 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १८ बिहीबार १३:२१:००

बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर सेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घन्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अंकले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अंकले घटेर दुई सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँबराबरको एक लाख ६१ हजार आठ सय ९० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

बजार खुलेको तीन मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि पाँच प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो । सोमबारदेखि खुलेको बजार सोमबार केही अंकले घटेको थियो भने मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो । तर, बिहीबार भने लगातार घट्दो क्रममा तीनपटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।

बजारमा कारोबारमा आएका समूहमध्ये म्युचुअल फन्डबाहेकका सबै समूहका सूचकहरू घटेका थिए । बैंकिङ समूह सात दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बिमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटेल समूहमा भने सबैभन्दा धेरै आठ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बजार घटे पनि स्वावलम्बन लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका सेयरधनीले कमाएका छन् । स्वावलम्बन लघुवित्तका सेयरधनीले आज आठ प्रतिशतले कमाएका छन् । सोल्टी होटेल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंकलगायतका कम्पनीका सेयरधनीले नाै प्रतिशत माथि गुमाएका छन् । जसमध्ये सोल्टी होटेलका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।