Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2020
ad
नवीन प्यासी काठमाडाैं
२०७७ असार १८ बिहीबार ०९:२७:००
साहित्य

लकडाउनमै तयार भए उपन्यास

नवीन प्यासी, काठमाडाैं
२०७७ असार १८ बिहीबार ०९:२७:००

आख्यानकार राजन मुकारुङले लकडाउनअघि नै आधा उपन्यास तयार पारेका थिए । लकडाउनपछि असमञ्जसमा परेका उनलाई त्यही आधा उपन्यास याद आयो । परिष्कृत गर्ने अभिप्रायले त्यही उपन्यासमा काम थालेका थिए, लकडाउन लम्बिँदै जाँदा पूर्णता दिए । दोस्रो विश्वयुद्धबाट सुरु भएको कथावस्तु अहिलेको नेपाली समाजसम्म आएर टुंगिएको छ । र, नाम जुराएका छन्, ‘अयोग्य’ ।

  • राजन मुकारुङ

यसबीचमा दोस्रो विश्वयुद्धका कथा पढे । जापानी साहित्यकारले बर्माको लडाइँमाथि लेखेका पुस्तक अध्ययन गरे । त्यस लडाइँमा गोर्खाली सैनिक पनि सहभागी थिए । सबै पुस्तक नेपालमा उपलब्ध थिएनन् । त्यसैले विदेशमा रहेका साथीभाइसँग पिडिएफ कपी मगाएर पढे । दोस्रो विश्वयुद्धपछि अहिलेसम्मको सामाजिक परिवर्तनलाई आख्यानमा ढाले । उपन्यास तयार भएपछि उनी फुर्सदिला बनेका छन् । मण्डला थिएटर र सेवा रेकर्डिङ स्टुडियो पुगेर साथीभाइसँग रमाइरहेका छन् । ‘पुस्तक लेखिसकेपछि हल्का महसुस हुन्छ,’ ९२ हजार शब्दको उपन्यास तयार पारेका उनी भन्छन्, ‘अचेल साथीभाइमाझ पुस्तक लेखिसक्नुको आनन्द बाँडिरहेको छु ।’

                                                       ..............

कवि सीमा आभासले ‘म स्त्री अर्थात् आइमाई’ कवितासंग्रह बजारमा ल्याएको चार वर्ष भइसकेको थियो । यसबीचमा नयाँ पुस्तक ल्याइनन् । यसपटक उनले आफ्नो परिचयमा आख्यानकार थप्ने सोच बनाइन् । करिब ६० हजार शब्दको उपन्यासलाई नाम दिएकी छन्, ‘भूस्वर्ग’ ।

  • सीमा आभास

उनले उपन्यास लेख्न थालेको केही महिना भइसकेको थियो । एकपटक टिपेको पात्र ६ महिनापछि अर्कै भइदिन्थ्यो । पात्रलाई ‘क्याप्चर’ गर्न उनलाई सकस भइरहेको थियो । ‘पात्रहरू लेखकले देखाएको बाटोमा हिँड्छन् । तर, बीचमा लेखक रोकियो भने पात्र आफैँ हिँड्न थाल्छन् । लेखक अलमलमा पर्छ,’ उनी भन्छिन् । लगातार समय दिन नसक्दा उपन्यासले पूर्णता नपाउने उनको बुझाइ छ । बीचमा ब्रेक लाग्यो भने पात्रहरू हुर्केर जान्छन् । ‘त्यो वेला कथा अर्कै थियो, अहिले अर्कै बन्यो,’ उनी भन्छिन्, ‘समयसँगै पात्रहरू हुर्कंदारहेछन् । कथा परिवर्तन भइरहे । तर, यो तीन महिनामा पात्रहरू हुर्कन पाएनन्, लेखिसकेँ ।’ यसलाई लकडाउनले जुराएको मौका ठानेकी छन्, उनले ।

उपन्यासले आफ्नो कवि परिचयलाई असर नपार्ने उनको ठम्याइ छ । ‘चुनौती मोल्न नसक्ने लेखक हुन सक्दैन,’ समाज र महिलाकै विषयमा उपन्यास तयार पारेकी उनी भन्छिन्, ‘यसअघि पाएको प्रतिष्ठा गुम्ने डरमा बस्नु कायरपन हो ।’

                                                    ...............

आख्यानकार सुबिन भट्टराईले नयाँ उपन्यासको पाण्डुलिपि यसअघि नै तयार पारेका थिए । लकडाउनको पहिलो महिना परिवारसँग बिताए । दोस्रो महिना पुस्तकहरू पढे । तेस्रो महिना लागेपछि मात्र पाण्डुलिपी पल्टाए । र, अहिले त्यसैमा पूरै समय दिएर पुनर्लेखन गरिरहेका छन् । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म लेखिरहन्छन् । दैनिक दुई हजार शब्दलाई अन्तिम रूप दिन्छन् ।

  • आख्यानकार सुबिन भट्टराई

‘कतिपय अवस्थामा नयाँ पात्र थपिन्छन् । पहिले चित्त नबुझेको प्लटमा फेरि पनि चित्त बुझ्दैन,’ भट्टराई भन्छन्, ‘यो प्रक्रिया हो । किताब लेख्न समयभन्दा पनि कस्तो लेख्ने भन्ने कुरा ठूलो हो ।’ अहिलेसम्म ९० हजार शब्दले पूर्णता पाएको उनको नयाँ उपन्यास एक लाख २० हजार शब्दको हुने अनुमान छ ।

प्रेमलाई विषयवस्तु बनाउन माहिर सुबिन भट्टराईले यसपटक भने सामाजिक विषय रोजेका छन् । नयाँ उपन्यास ०७८ सालमा मात्र ल्याउने उनको योजना छ । त्यतिवेलासम्ममा कोभिड–१९ संकटले पार पाइसक्ने उनको अनुमान छ ।

                                                           ...............

आख्यानकार अमर न्यौपानेलाई लकडाउनको समयमा मेसिन बन्न मन लागेन । अर्थात्, आफ्नो नयाँ कृति उनी कम्प्युटरमा नभई डायरीमा लेखिरहेका छन् । पहिलो पुस्तक ‘पानीको घाम’ पनि उनले डायरीमै लेखेका थिए । हातले लेख्दाको अपनत्व मेसिनबाट प्राप्त नहुने उनी बताउँछन् । ‘मेसिनमा लेख्दा मान्छे मेसिन नै भएजस्तो लाग्दोरहेछ,’ उनी भन्छन्, ‘शीर्षक फाइनल हुन बाँकी छ, पाठकसम्म पुग्न समय लाग्छ ।’

  • आख्यानकार अमर न्यौपाने

लकडाउनमा बिताएको ‘सेल्फ आइसोलेसन’ले आफैँलाई नजिकबाट नियाल्न पाएको न्यौपाने बताउँछन् । ‘प्रत्येक मान्छेभित्र ब्रह्माण्ड हुन्छ, त्यहाँ घाम उदाउँछ र अस्ताउँछ,’ उनी भन्छन्, ‘गाउन नजान्ने मान्छेभित्र पनि मीठो गीत हुँदोरहेछ । प्रत्येक मान्छे आफ्नो जीवनको गायक हो ।’

                                                                   ...............

आख्यानकार मीनराज वसन्त चैत पहिलो साता भारत पुगेका थिए । लकडाउन सुरु भएपछि उतै अड्किए । छोटो समयका लागि गएकाले ल्यापटप बोकेका थिएनन् ।

  • आख्यानकार मीनराज वसन्त

गत वर्ष आएको उपन्यास ‘पिपिरी’ मोबाइलमै लेखेका थिए । तर, आँखा दुख्ने समस्याका कारण यसपटक मोबाइलको सानो स्क्रिनको साटो डायरी रोजे । अहिले डायरीको लेखनलाई कम्प्युटरमा उतार्दै पुनर्लेखनमा व्यस्त छन् । प्रेमलाई कथावस्तु बनाउने उपन्यासको प्लट उनको दिमागमै थियो । त्यही प्लटमा करिब तीन महिनामा ३० हजार शब्द फाइनल गरिसके ।