उपत्यकामा ५९ प्रतिशतले बढ्यो सडक दुर्घटना
लकडाउनअघि दैनिक सातवटा सवारी दुर्घटना, खुकुलो भएसँगै १७ पुग्यो
लकडाउन खुकुलो भएसँगै उपत्यकामा सवारी दुर्घटनामा वृद्धि भएको छ । यस अवधिमा ५९ प्रतिशतले दुर्घटना बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार लकडाउन खुकुलो हुनुअघि उपत्यकामा सरदर दैनिक सातवटा सवारी दुर्घटना हुने गरेका थिए, अहिले १७ पुगेको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले लकडाउन खुकुलो भएयता सवारी दुर्घटनाको संख्या बढेको जानकारी दिए । ‘लकडाउन अवधिमा प्रत्येक दिन हुने सवारी दुर्घटना र अहिलेको तथ्यांक हामीले विश्लेषण गरेका छौँ । अध्ययनले पछिल्लो समय सवारी दुर्घटना बढेको देखाउँछ । सवारीसाधनको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण हो । त्यसबाहेक खुला सडक र चालकको लापरबाही जिम्मेवार देखिन्छ,’ उनले भने ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाल भन्छन्– लकडाउन अवधिमा प्रत्येक दिन हुने सवारी दुर्घटना र अहिलेको तथ्यांक हामीले विश्लेषण गरेका छौँ । अध्ययनले पछिल्लो समय सवारी दुर्घटना बढेको देखाउँछ । सवारीसाधनको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण हो । त्यसबाहेक खुला सडक र चालकको लापरबाही जिम्मेवार देखिन्छ ।
सरकारले १ असारबाट लकडाउन खुकुलो गर्ने नीति लिएको थियो । लकडाउन खुकुलो भएसँगै उद्योग, कलकारखाना, किराना पसल, कपडा पसल, फलफूल बिक्री केन्द्र, कृषिजन्य पदार्थ उत्पादन तथा बिक्री केन्द्र, विकास निर्माणलगायतका काम सुरु भएका छन् । योसँगै निजी सवारीसाधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालनमा आएका छन् । सार्वजनिक तथा विद्यालयका सवारीसाधन भने यस अवधिमा सञ्चालन हुन सकेका छैनन् ।
१५ दिनमा दुईको मृत्यु, घाइतेको संख्या बढ्यो
महाशाखाका अनुसार लकडाउनमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने घटेको छ । लकडाउन खुकुलो हुनुअघि उपत्यकामा भएका सवारी दुर्घटनामा प्रत्येक तीन दिनमा एकजनाको ज्यान जाने गरेको थियो । खुकुलो बनाइएपछिको १५ दिनमा दुईजनाको मात्रै मृत्यु भएको देखिन्छ । दुर्घटनामा परी घाइते हुनेको संख्या पनि बढेको छ । लकडाउन कडाइ अवधिमा भएको सवारी दुर्घटनामा प्रत्येक दिन तीनजना घाइते हुने गर्थे । खुकुलो भएयता भने प्रत्येक दिन १३ जना घाइते हुने गरेको देखिएको छ । महाशाखाका अनुसार दुर्घटनामा पर्ने अधिकांश मोटरसाइकल र त्यसमा सवार यात्रु नै घाइते भएका छन् । लकडाउन खुकुलोपछिको १५ दिनमा दुई सय ६० दुर्घटना भएका छन् । जसबाट दुईको मृत्यु र ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार एक सय ८२ जना सामान्य घाइते भएका छन् ।
‘दुर्घटना मात्र होइन, घाइते हुने दर पनि बढेको देखिन्छ । दुर्घटना हुने अधिकांश मोटरसाइकल छन् र घाइते हुने पनि मोटरसाइकलमै सवार यात्रु धेरै छन्,’ महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘तर, मृत्यु हुने संख्या भने घटेको छ ।’ ट्राफिक महाशाखाका अनुसार उपत्यकामा सामान्य अवस्थामा प्रत्येक दिन १६ दुर्घटना हुने गर्थे । जसमा सरदर एकजनाको ज्यान जाने गर्थ्यो । दुर्घटना हुने धेरै सवारीसाधन मोटरसाइकल नै थिए । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, मादक पदार्थ सेवन, ओभर स्पिड नै हुने ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाल भन्छन्–
लकडाउन अवधिमा प्रत्येक दिन हुने सवारी दुर्घटना र अहिलेको तथ्यांक हामीले विश्लेषण गरेका छौँ । अध्ययनले पछिल्लो समय सवारी दुर्घटना बढेको देखाउँछ । सवारीसाधनको चाप बढ्नु नै दुर्घटनाको मुख्य कारण हो । त्यसबाहेक खुला सडक र चालकको लापरबाही जिम्मेवार देखिन्छ ।