मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रभात भट्टराई
२०७७ असार १८ बिहीबार ०८:२२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

सामाजिक न्याय खोजिरहेको अमेरिकामा नेतृत्वको हाहाकार

एकातिर कोरोना भाइरस महामारी र अर्कोतिर सामाजिक अन्यायको भुमरीमा परेका वेला अमेरिका साँच्चै नेतृत्वविहीन प्रतीत हुन थालेको छ 

Read Time : > 5 मिनेट
प्रभात भट्टराई
२०७७ असार १८ बिहीबार ०८:२२:००

गत जुन १, साँझ साढे ६ बजे, ह्वाइट हाउसस्थित रोज गार्डेनमा राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकीलाई सम्बोधन गर्दै थिए- ‘शान्तिपूर्ण आन्दोलनलाई म आफ्नो सहयात्रीको रूपमा स्वागत गर्छु ।’ ठीक त्यही वेला ट्रम्पसँगै रहेका महान्यायाधिवक्ता विलियम बारको निर्देशनमा ह्वाइट हाउसबाहिरको लाफायेट स्क्वायरमा रहेका शान्तिपूर्ण प्रदर्शनकारीमाथि टियर ग्यास र रबरको गोली प्रहार भइरहेको थियो, ताकि स्क्वायरपारि रहेको सेन्ट जोसेफ चर्चमा पुगेर ट्रम्पले फोटो खिच्न पाऊन् । प्रदर्शनकारीलाई तितर–बितर पारिसकेपछि सुरक्षाकर्मीको कडा पहराबीच ट्रम्प ह्वाइट हाउसबाट पाँच मिनेटको दूरीमा रहेको चर्च पुगे । लाफायेट स्क्वायरमा उनले बाटो काट्दा टियर ग्यासको गन्ध अझै हटिसकेको थिएन ।

भित्तामा प्रदर्शनकारीले न्याय माग्दै रंग्याएका नाराहरू देखेको–नदेख्यै गरेर उनले बाटो काटे । बन्द चर्चबाहिर पुगेर सहयोगीको हातबाट बाइबल लिए र फोटो पोज दिए । उनको त्यहाँ न प्रार्थनाको तयारी थियो, न कुनै जरुरी कारण नै । यतिसम्म कि त्यहाँ उपस्थिति जनाउनेबारे चर्च व्यवस्थापनसँग उनले अनुमतिसमेत नलिएको तथ्य त्यही दिन साँझ सार्वजनिक भयो ।

जर्ज फ्लोयड हत्याका कारण देशभर विस्तार प्रदर्शनलाई अर्कोतिर मोड्न ट्रम्पले अनेक प्रयत्न गरे । अनुदारवादी क्रिस्चियन अगुवाहरूलाई रिझाउने ध्येयले उनी चर्च पुग्ने गर्छन् । उनको तीर्थाटनलाई राजनीतिक लाभका लागि प्रार्थनास्थलहरूलाई दुरुपयोग गरिएको भन्दै धार्मिक नेताहरूले नै चर्को आलोचना गर्दै आएका छन् । तर, धार्मिक नेता एवं नागरिकस्तरबाट भएको विरोधले ट्रम्पलाई छुँदैन । फ्लोयडको हत्यापछिका हरेक सम्बोधनमा शान्तिपूर्ण तवरले न्याय माग्नेहरूको आवाज सुन्नुभन्दा उनीहरूप्रति नै कटाक्ष गर्दै आए । उनले देशव्यापी रूपमा उठेको रंगभेदविरुद्धको आवाज सम्बोधनको आश्वासनसम्म दिएनन् । 

मिनिसोटा राज्यको मिनियापोलिस प्रहरीले निःशस्त्र अवस्थामा पक्राउ गरी जमिनमा पछारेर घुँडाले घाँटी थिची फ्लोयडको हत्या गरेपछि फेरि जर्जियामा गोरा प्रहरीले एक निःशस्त्र काला व्यक्तिलाई पछाडिबाट गोली हानी हत्या गरिसकेका छन् । प्रहरी अधिकारी गारेट रोल्फले तीन गोली प्रहार गरी २७ वर्षीय रेसार्ड ब्रुक्सलाई ढालेपछि उपचारमा लैजानुको साटो लात्ताले हानेका थिए । रोल्फलाई प्रहरी सेवाबाट बर्खास्त गरी नियतवश हत्याको आरोपमा मुद्दा चलाइएको छ । 

अनुदारवादी क्रिस्चियन अगुवाहरूलाई रिझाउने ध्येयले ट्रम्प चर्च पुग्ने गर्छन् । उनको तीर्थाटनलाई राजनीतिक लाभका लागि प्रार्थनास्थलको दुरुपयोग गरिएको भन्दै धार्मिक नेताहरूले नै चर्को आलोचना गर्दै आएका छन् ।

त्कालै भिडियो सार्वजनिक भएकाले प्रहरीले ब्रुक्स हत्यामा फ्लोयडको जस्तो कहानी बनाउन पाएन । सुरुमा प्रहरीले फ्लोयडको स्वास्थ्य अवस्थाका कारण ज्यान गएको दाबी गरेको थियो । भिडियो सार्वजनिक भई न्यायको मागसहित जनआन्दोलन उठेपछि मात्र प्रहरी अधिकारी डेरेक चाउभिनलाई ‘सेकेन्ड डिग्री’ हत्याको अभियोगमा मुद्दा चलाइयो । देशव्यापी रूपमा उठेका आन्दोलनले एउटा घटना विशेषको भिडियो सार्वजनिक भएपछि दोषीलाई कारबाही गरेका भरले न्याय हासिल नहुने बताउँछ । उनीहरू अश्वेतप्रति पूर्वाग्रही आपराधिक न्याय प्रणालीमा सुधारको प्रतिबद्धता माग गरिरहेका छन् । जुन मागको दायरामा ट्रम्प छिर्नै चाहँदैनन् । उनीसहित उनका आसेपासेहरू बहुमत अमेरिकीले स्विकारेको संरचनात्मक रंगभेदको अवस्थालाई पत्याउन नै तयार छैनन् । 

ट्रम्प सिंगो अमेरिकाको राष्ट्रपतिका रूपमा कहिल्यै प्रस्तुत भएनन् । चुनावअघिदेखिकै उनको अनुदार एवं रंगभेदी छवि निर्वाचित भएपछि पनि बदलिएन । अमेरिकी फुटबल खेलाडी कोलिन काएपर्निकले सन् २०१६ मा अश्वेतहरूमाथिको प्रहरी ज्यादती र रंगभेदविरुद्ध खेल सुरु हुनुअघि राष्ट्रगान बज्दा एउटा घुँटा टेकेर विरोध जनाएका थिए । भाषणमा शान्तिपूर्ण आन्दोलनलाई आफ्नो समर्थन रहेको दाबी गर्ने ट्रम्पले कोलिनको उक्त विरोधलाई राष्ट्रगानको अपमान भन्दै जेहाद नै छेडे । २०१६ को प्रचार अवधिभरि कोलिनजस्ता खेलाडीलाई तत्काल निलम्बन गर्नुपर्ने दाबी दोहो¥याए र चुनाव जिते । 

कोलिनप्रति समर्थन जनाउँदै अमेरिकी महिला सकर (फुटबल) टिमकी स्टार मेगन रापिनोले पनि राष्ट्रगानका दौरान घुँडा टेकिन् । उनी पनि ट्रम्पको तारो भइन् । विवाद चर्किंदै जाँदा गत वर्षको महिला विश्वकप फुटबल विजेता भएर स्वदेश फर्किएको अमेरिकी टोली उत्सव मनाउन ह्वाइट हाउस पनि गएन । अन्ततः फ्लोयड हत्यापछि विश्वव्यापी रूपमै अश्वेतप्रति समान व्यवहारको माग राख्दै प्रदर्शन भएपछि नेसनल फुटबल लिग र युएस सकर फेडसेसनले कोलिन र मेगनलाई वेलैमा नसुनेको भन्दै क्षमा मागेका छन् । तर, ट्रम्प उनीहरूको मर्म बुझ्नुभन्दा राष्ट्रगानमा घुँडा टेक्न नपाइने रटान दोहो¥याउनमै व्यस्त छन् । आफूले खेल नै नहेर्ने धम्की दिँदै छन् ।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो ६ महिनामै प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै अभियुक्त पक्राउ गर्दा नरम नहुन अपिल नै गरेका थिए । कोलिनले रंगभेदविरुद्ध जसरी घुँडा टेकेर विरोधको सुरुवात गरेका थिए, ठीक त्यही शैलीको यातनाबाट गोरा प्रहरी अधिकारीले फ्लोयडको ज्यान लिए । डेरेकको त्यो यातना अमेरिकी रंगभेदको प्रतीकको रूपमा लामो समय रहिरहनेछ ।

फ्लोयड र ब्रुक्स हत्यापछि न्यायका लागि उठेको आवाजलाई अन्यत्र मोड्न ट्रम्पले छिनछिनमा ट्विट गरे । उनले आन्दोलनका दौरान भएका हिंसा र लुटपाटको आरोप ‘एन्टी फासिस्ट (एन्टिफा)’ भनेर चिनिने अनौपचारिक वामपन्थी संगठनलाई लगाए । उनले एन्टिफालाई आतंककारी संगठनको रूपमा व्यवहार गर्नेसमेत बताए । उनीसँगै लोली मिलाउँदै रिपब्लिकन नेता र दक्षिणपन्थी मिडिया पनि एन्टिफाले लुट मच्चाएको तर्क दोहो-याइरहेका छन् । तर, सुरक्षा अधिकारीहरूका अनुसार वामपन्थीसँगै उग्रदक्षिणपन्थी संगठन ‘ह्वाइट सुप्रिमिस्ट (गोरा उग्रवादी)’ पनि हिंसा भड्काउन तल्लीन थिए । 

ट्रम्प एवं उनका अनुयायीले एन्टिफालाई डेमोक्र््याटहरूसँग जोडेर हिंसाको समग्र दोष विपक्षी दलमाथि थापेर्न त्यसो गरेको विश्लेषकहरूको बुझाइ छ । ह्वाइट सुप्रिमिस्टजस्ता उग्रदक्षिणपन्थी संगठनप्रति ट्रम्पको सुरुदेखि नै नरम नीति रहेको छ । आफ्ना विरोधीप्रति चरम घृणात्मक अभिव्यक्ति दिने ट्रम्पको बानीका कारण उनका समर्थक हिंसाकै लागि समेत लालायित हुने गरेका छन् । एनबिसी न्युजको गणनाअनुसार पछिल्ला साढे तीन वर्षमा अमेरिकामा भएका कम्तीमा ५४ हिंसात्मक घटनाका दोषी ट्रम्पको बोली या व्यवहारबाट प्रभावित भएको पाइएको छ । तीन वर्षअघि भर्जिनियामा ह्वाइट सुप्रिमिस्टहरूले निकालेको जुलुसमा सहभागीलाई ट्रम्पले ‘भेरी फाइन पिपुल (असल मान्छे)’को संज्ञा दिएका थिए । गोरा पुरुषहरूको समर्थन नै ट्रम्प राजनीतिको मुख्य आधार रहेको छ । त्यसमा दक्षिणपन्थी विचार बोक्ने उग्रराष्ट्रवादीहरूको हिस्सा ठूलो छ ।

सोही कारण उनमा रंगभेदप्रतिको गुनासो र आक्रोशलाई सम्बोधन गर्ने ल्याकत र इच्छाशक्ति दुवै छैन । रिपब्लिकन पार्टीकै पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले समेत विज्ञप्ति निकालेर रंगभेदी व्यवहार अन्त्यका लागि प्रहरीको संरचनागत प्रणालीमै सुधार आवश्यक रहेको स्विकारेका छन् । 

अमेरिकीहरूले डोनाल्ड ट्रम्पको कार्यकालमा बढेको रंगभेदी व्यवहारलाई प्रस्ट मनन गरेको विभिन्न अध्ययनले देखाइसकेका छन् । मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणअनुसार प्रहरी ज्यादतीलाई अमेरिकाको गम्भीर समस्याको रूपमा स्विकार्नेको संख्या ५२ प्रतिशत पुगेको छ । सन् २०१६ को जुलाईको तुलनामा यो ६ प्रतिशत बिन्दुले बढेको हो । सन् २०१४ मा एरिक गार्नर र लाक्वान म्याक डोनाल्ड एवं सन् २०१६ मा फिलान्डो क्यास्टिललाई प्रहरीले निःशस्त्र अवस्थामा पक्रेर बर्बर यातना दिएको भिडियो सार्वजनिक भएको थियो । त्यसयता आपराधिक न्याय–प्रणालीमा सुधारका लागि निरन्तर माग उठिरहेको छ । बहुसंख्यक अमेरिकीमा गोरा प्रहरी अधिकारी काला जातिका अभियुक्त देख्नेबित्तिकै अनुसन्धानभन्दा पहिला आक्रमणमा उत्रिहाल्ने गरेको गुनासो तीव्र छ । सोही कारण फ्लोयडप्रति न्याय माग्दै सुरु भएको आन्दोलनले नेतृत्वबाट समग्र प्रणाली सुधार मागेको हो । 

फ्लोयड र ब्रुक्सप्रति न्याय माग्दै भएको प्रदर्शनमा अश्वेतको मात्र उपस्थिति छैन । न्याय र समानता चाहने गोराहरू पनि उत्तिकै आएका छन् । ९४ प्रतिशत बढी गोराको बसोवास रहेको न्यु ह्यामसरजस्ता साना राज्यमा ‘ब्ल्याक लाइफ म्याटर (कालालाई बाँच्न देऊ)’ भन्दै हजारौँको जुलुस निस्कियो । जुलुसमा आउने अधिकांश गोरा थिए । उनीहरू यो काला र गोराको लडाइँ नभई रंगभेदविरुद्धको साझा आवाज भनेर हातेमालोसाथ सडकमा आए । कैयन् राज्यमा कफ्र्यु तोडेर राति अबेरसम्म नागरिकहरूले शान्तिपूर्ण धर्ना दिए । कैयन् प्रहरी अधिकारी एवं नेसनल गार्डका जवानहरूले आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाउन घुँडा टेके, मार्चपास गरे । टेक्सासस्थित होस्टन सिटीका प्रहरी प्रमुख आर्ट एसेभेडोले त समस्या समाधान गर्न नसक्ने हो भने मुख बन्द गर्न ट्रम्पलाई सार्वजनिक चेतावनी नै दिए ।

तर, ट्रम्प चुप लागेका छैनन् । न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा आएकाहरूलाई उनी उडाइ नै रहेका छन् । उनीहरूमध्ये धेरैलाई आफू किन प्रदर्शनमा आएको नै थाहा नभएको ट्रम्पको आक्षेप छ । उनले आन्दोलनकारीहरूलाई अपराधी, लुटेरादेखि आतंककारीसम्मको संज्ञा दिन छाडेका छैनन् । सामाजिक न्यायप्रति मात्र होइन, जनस्वास्थ्य संकटप्रति पनि उनको बेवास्ता उस्तै छ । अमेरिकाले कोरोना भाइरस संक्रमण र मृत्यु दुवैमा सबै देशलाई उछिनेको छ । यस्तो अवस्थामा पनि ट्रम्प भिड जुटाएर राजनीतिक प्रचार गर्न दृढ छन् ।

उनी आफ्नो राजनीतिक आधारप्रति मात्र जवाफदेही बन्दा अमेरिका गम्भीर संकटको नजिक पुगिसकेको विश्लेषण हुन थालेको छ । ट्रम्पले ‘जब लुट सुरु हुन्छ, तब सुट (बन्दुक चल्छ) हुन्छ’ भन्दै गरेको ट्विटप्रति ट्विटरले नै हिंसा भड्काउने अभिव्यक्ति भन्दै सचेतताको सूचना राखेको थियो । त्यसमाथि सेना परिचालन गरेर आन्दोलन दबाउने उनको अभिव्यक्तिले भने अमेरिकी समाजमा गम्भीर तरंग पैदा गरिदिएको छ । रक्षामन्त्री मार्क एस्परले पत्रकार सम्मेलन नै गरेर प्रदर्शनकारीमाथि सेना प्रयोगमा आफू सहमत नरहेको बताए ।

ट्रम्पकै मन्त्रिपरिषद्मा रक्षामन्त्री रहिसकेका जिम म्याटिसले ट्रम्प देशलाई एक बनाउन कोसिस नगर्ने एक मात्र राष्ट्रपति रहेको संज्ञा दिएका छन् । जोइन्ट चिफ अफ स्टाफका पूर्वप्रमुख माइक मुलेनले त सार्वजनिक रूपमै अब आफू चुप बस्न नसक्ने बताएका छन् । शान्तिपूर्ण आन्दोलनकारीमाथि बल प्रयोग गरेर राष्ट्रपतिका लागि बाटो खुलाउनुलाई उनले अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा व्याख्या गरेका छन् । काला जातिका मान्छेलाई व्यवहारमै समानता दिलाएर न्यायको स्थापना गर्न ढिलाइ भइसकेको उनको निचोड छ । 

तर, जसले ट्रम्प हिँडेको बाटो गलत भन्छ, ऊ ट्रम्प र उनका समर्थकको नजरमा आलोचक होइन, शत्रु नै बन्न पुग्छ । ट्रम्पको सिद्धान्तमा उनलाई समर्थन गर्नेबाहेक अरू सबै ‘देशद्रोही एवं झुटा डेमोक्र््याट’ हुन् । ट्रम्पको यो प्रवृत्तिलाई फक्स न्युजलगायत दक्षिणपन्थी मिडियाले लगातार साथ दिँदा उनमा आफूले जे बोले पनि हुने भन्ने मान्यता हाबी भइसकेको छ । अब उनमा सच्चिने या समीक्षा गर्ने कुनै ठाउँ छैन । त्यसैले एकातिर कोरोना भाइरस महामारी र अर्कोतिर सामाजिक अन्यायको भुमरीमा परेका वेला अमेरिका साँच्चै नेतृत्वविहीन प्रतीत हुन थालेको छ ।