मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार १८ बिहीबार ०४:०३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार १८ बिहीबार ०४:०३:००

वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको बैंकिङ कारोबार गरेको देखिएको छ । गत १० असारमा बौद्धबाट पक्राउ परेका तिब्बती मूलका कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङको अस्वाभाविक सम्पत्ति देखिएको हो । 

कुन्जोक वन्यजन्तु तस्करी मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त हुन् । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्येका एक रहेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए । 

प्रारम्भिक छानबिनमा उनको अर्बौँको सम्पत्ति भेटिएको छ । दुई अर्बको त बैंकिङ कारोबार मात्रै गरेको देखिन्छ । बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका कुन्जोकको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । उनले गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका थिए ।

कर्णाली गार्मेन्ट पसल पनि चलाएका छन् । आफन्तहरूको नाममा कुन्जोकले करोडौँ सम्पत्ति लुकाएको प्रहरी आशंका छ । उनको सम्पत्तिको विवरण प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ । वन्यजन्तु तस्करीबाट उनले अथाह सम्पत्ति जोडेको प्रहरीको आशंका छ । 

  • कुन्जोक लामा

०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा कुन्जोकको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसवेला स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाका छाला, दुई सय ३८ वटा ओतका छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरू पक्राउ परेका थिए । 

उनीहरूकै बयानका आधारमा तस्करीमा कुन्जोकको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर कुन्जोकको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआइबीले १० असारमा पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा १३ असारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । 

१५ वर्षपछिको सफलता 

कुन्जोकको पक्राउलाई अन्तर्राष्ट्रियस्तरमै वन्यजन्तु अपराधविरुद्ध महत्वपूर्ण सफलता मानिएको छ । उनलाई पक्राउ गर्न ठूलै प्रयास भएको थियो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । अन्तर्राष्ट्रिय गिरोहहरूसँग संलग्नता देखिएको भन्दै इन्टरपोलले उनको बारेमा सूचना दिने गरेको थियो । 

‘मोस्टवान्टेड’ भए पनि कुन्जोक अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोक लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोकछिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोकछिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि भएको छ । ‘इन्टरपोलबाट हामीलाई कुन्जोकछिरिङ तामाङको बारेमा सूचना आइरहेको थियो,’ सिआइबीका एक अधिकारीले भने, ‘हामी कुन्जोक लामा खोजिरहेका थियौँ । अहिले आएर दुवै नाम एकै व्यक्तिको भएको पुष्टि भएको छ ।’ 

कुन्जोकले त्यतिखेर प्रयोग गरेको सिमकार्ड अहिले पनि प्रयोग गर्दै आएको खुलेको छ । अभियुक्तहरूले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिने वेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुन सकेको थिए । त्यतिवेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास गरेको स्रोत बताउँछ । 

पक्राउ पर्ने डरले केही महिनायता कुन्जोक आफ्नो घरमा समेत बस्न छाडेका थिए । साथीहरूसँग जमघट तथा जुवा खेल्न मात्र कहिलेकाहीँ घरमा जाने गरेको खुलेको छ । 

प्रहरीकै संरक्षण ?

सिआइबीले गत वर्ष नै कुन्जोकलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा प्रहरी नेतृत्वका कारण रोकिएको स्रोत बताउँछ । नेतृत्वले स्वीकृत नदिएपछि पक्राउ गर्न गएको सिआइबीको टोली रित्तो हात फर्किएको थियो । यसबाट पनि उनको कुन तहसम्म सम्बन्ध छ भन्ने देखाउँछ । प्रहरीका धेरै उच्च अधिकारीसँग कुन्जोकको निकटता देखिएको स्रोत बताउँछ । कतिपय प्रहरी अधिकारीले उनी ‘मोस्टवान्टेड’ व्यक्ति भनेर थाहा नपाएर पनि संगत गरेको पाइन्छ । केहीले उनलाई नै कुन्जोक लामाबारे सूचना मागेकोसमेत खुलेको छ । जसमा उनले गलत सूचना दिएर प्रहरीलाई झुलाएको अहिले पत्ता लागेको छ । 

कुन्जोकको नेपालमा कर्णाली गार्मेन्ट पसल नामक कम्पनी छ । आफूलाई गार्मेन्ट व्यवसायीका रूपमा चिनाउने गरेका छन् । तर, अहिले पनि उनी अन्तर्राष्ट्रिय नेटवर्कमा रहेर वन्यजन्तुको तस्करी गरिरहेको स्रोत बताउँछ । भारतको सिलगुढीमा समेत उनको सम्पत्ति छ । त्यहाँ पनि पस्मिनाको नाममा उनले सहतुसको अवैध तस्करी गर्दै आएको सूचना इन्टरपोलको छ । 

६ सय बाघको चोरी–सिकारी 

भारतीय सुरक्षा अधिकारीहरूबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार कुन्जोक आबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी–सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ । भारतीय प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद गरेको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा कुन्जोकलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेको समूहले त्यसअघि पनि आफूहरूले पटक–पटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए । 

कुन्जोक भारतमा पनि ‘मोस्टवान्टेड’को सूचीमा छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तरप्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बरामद भएको बाघको छाला तस्करी गर्ने नाइके उनी नै भएको खुलेको थियो । सोही आधारमा भारतले पटक–पटक नेपालसँग कुन्जोकलाई पक्राउ गर्नेबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् । 

कुन्जोक करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै छिन्, उनी जोरपाटीमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरूसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताएको छ । उनी पक्राउ परेपछि गिरोहका रहेका अन्य व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्टरपोलले पनि कुन्जोकको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले बरामद गरेका वन्यजन्तुका अंग