१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार २१:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापतिकाे आदेश उल्लंघन गर्ने जर्नेल र कर्णेल बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार २१:२१:००

नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनविपरीत रक्षा मन्त्रालयसँग सोझै पत्राचार गरेर आफूअनुकूलको निर्णय गराएको अभियोगमा सहायकरथी (एकतारे जर्नेल) सुरेन्द्रसिंह रावल र महासेनानी (फुल कर्णेल) अनिल खड्कालाई बुधबार सेवाबाट बर्खास्त गरेको छ । सेनाको समरी जनरल सैनिक अदालतले उनीहरूलाई सैनिक ऐन, २०६३ बमोजिम बर्खास्त गरेको हो । 

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई माथिल्लो कमान्डरले लिखित रूपमा दिएको आदेश जानी–जानी पालना नगरी अवज्ञासम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहाेदाअनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतको ठहर छ । यो दुई वर्षअघिको घटना हो । 

सेनाको व्यवस्था तथा नीति–निर्देशनालयका प्रमुख रहेका रावल र त्यहीँ कार्यरत महासेनानी खड्काले सेनाको हायर कमान्ड एन्ड मेनेजमेन्ट कोर्सको ग्रेडिङ प्रणालीसँग सम्बन्धित नीतिगत विषयमा प्रधानसेनापतिको आदेशलाई नै उल्लंघन गरेर रक्षा मन्त्रालयमा पत्राचार गरेको सेनाको अभियोग छ । उनीहरूले रक्षा मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत भएर आइसकेपछि मात्रै प्रधानसेनापति र उच्च सैनिक अधिकारीले थाहा पाएका थिए । त्यससम्बन्धी विषय सेनाको क्याबिनेट मानिने प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज)को बैठकमा पेस गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको लिखित तोकआदेश थियो ।

तर, निर्देशनालयका तर्फबाट रावलले तोकआदेशविपरीत रक्षामा पठाएको र रक्षाबाट स्वीकृति भएर जंगी अड्डा पुगेपछि मात्रै प्रधानसेनापतिले जानकारी पाएका थिए । रावल र खड्का सेनाभित्र राम्रो कार्यक्षमता भएका अधिकृत मानिन्थे । 

नेसनल डिफेन्स कोर्स (एनडिसी)का लागि अमेरिकामा रहेका रावल केही समयअघि मात्रै स्वदेश फर्केका थिए । उनी अमेरिका छँदै सेनाको छानबिन टोलीले भिडियोबाट बयान लिएको प्रवक्ता पाण्डेले बताए । महासेनानी खड्का भने विदेशमा एनडिसी तालिमका लागि मनोनयनमा पर्ने सूचीमा थिए ।