मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार १७ बुधबार १८:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज भन्सारबाट लकडाउनमा पौने पाँच अर्बको औषधि भित्रियाे 

Read Time : > 1 मिनेट
२०७७ असार १७ बुधबार १८:०४:००

देशको प्रमुख भन्सार नाका वीरगन्जबाट लकडाउन अवधिमा पौने पाँच अर्बको अत्यावश्यक औषधि भित्रिएकोे छ । यो नाकाबाट ११ चैतयता भारतका विभिन्न राज्य हुँदै २२ लाख ८३ हजार ६ सय १७ किलो औषधि र औषधिका लागि आवश्यक कच्चा पदार्थ भित्रिएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि अत्यावश्यकबाहेकका अन्य सामग्रीको आयात भने कमी आएको छ । तर, औषधि आयातमा भने वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । फागुन महिनाको तुलनामा चैतदेखि विभिन्न किसिमका थप औषधि आयात भएको भन्सार कार्यालयको तथ्यांक छ । नेपाल औषधि उत्पादक संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र अन्य देशहरूबाट पाँच प्रतिशत औषधि नेपालमा आयात हुने गरेको छ ।

औषधि आपूर्तिमा समस्या छैन
नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा ६२ वटा औषधि उद्योग रहेकामा अहिले लगभग ४२ वटा औषधि उद्योग मात्रै सञ्चालनमा छन् । लकडाउनमा औषधि उद्योग पूर्ण रूपमा सञ्चालन नभएको नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुँगटाले बताए । लकडाउनमा भारतबाट औषधि आयातमा पनि कुनै समस्या नभएको रुँगटाले बताए । वीरगन्जको बहुबरीस्थित मारुती फर्मा उद्योगका सञ्चालक समेत रहेका रुँगटाले लकडाउनको सुरुमा भारतको सीमानाकामा केही अवरोध भए पनि पछि समस्या समाधान भएको बताए । औषधि उत्पादन कम्पनीहरूले करिब एक महिनासम्मको औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ तत्कालका लागि जगेडामा रहेको बताए ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार लकडाउन सुरु भएसँगै नेपालका औषधि उद्योगहरूले कच्चा पदार्थ आयत बढाएको र अन्य औषधिसमेत आयातमा वृद्धि भएको छ । वीरगन्ज भन्सारका सूचना अधिकारी विमलकुमारले १ फागुनदेखि १० चैतसम्म एक अर्ब ६१ करोड १७ लाख ८८ हजारबराबरको ११ हजार आठ सय ९८ टन औषधि आयात भएको बताए । तर, लकडाउन सुरु भएको ११ चैतदेखि हालसम्ममा चार अर्ब ८३ करोड ३९ लाख ४९ हजार तीन सय ९२ रुपैयाँको २२ लाख ८३ हजार ६ सय १७ किलो औषधि आयात भएको उनले जानकारी दिए । आवश्यक औषधि प्रयोगका साथै जगेडा गरिएकाले औषधि आयात वृद्धि भएको भन्सारका अधिकृत रमेश सुकमणिले बताए । 

कति संकलन भयो राजस्व
यस आवधिका औषधि आयातबाट २१ करोड तीन लाख ६९ हजार पाँच सय २७ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको ११ महिनामा १७ अर्ब २९ करोड ९१ लाख ५३ हजार पाँच सय ५९ रुपैयाँको एक करोड नौ लाख ६१ हजार चार सय ४३ किलो औषधि आयात हुँदा ९३ करोड ६७ लाख ८३ हजार एक रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका अधिकृत सुकमणिले बताए ।