१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शेरबहादुर सिंह भीमदत्तनगर
२०७७ असार १७ बुधबार ०८:२३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

सुदूरपश्चिममा मात्रै एक सय ७५ जना बालबालिकामा कोरोना संक्रमण

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै  

Read Time : > 1 मिनेट
शेरबहादुर सिंह भीमदत्तनगर
२०७७ असार १७ बुधबार ०८:२३:००

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको देखिएको हो ।     

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना संक्रमण देखिए पनि सो संख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘संक्रमण देखिएका सबै बालबालिका बुबाआमासँग भारतबाट फर्किएकाहरू हुन्,’ उनले भने ।     

कोरोना संक्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको  मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मंगलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये पाँच सय ७३ महिला सङ्क्रमित छन् ।     

‘महिलाहरू पनि प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्’, उनले भने, ‘समुदायमा महिला सङ्क्रमितको संख्या न्यून छ ।’

हालसम्म पाँचको मृत्यु, चार सय ७९ सङ्क्रमित निको

कोरोनाबाट यस प्रदेशमा हालसम्म पाँचको मृत्यु भइसकेको छ भने चार सय ७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका पाँच सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।     

निर्देशक डा. अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिमका तीन जिल्लामा पिसिआर मेसिन जडानको काम थालिने जानकारी दिए । ‘डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम सुरु भइसकेको छ’, अवस्थीले भने, ‘आठ–दश दिनमा सबै सामान आइसक्छ ।’   

क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै     

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइनलाई आइसोलेसन कक्षमा परिणत गरिँदै छ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार नाै सय ३४ स्थानमा करिब ७४ हजार चार सय ३४ शय्याका क्वारेन्टाइन छन् ।      

यहाँका क्वारेन्टाइनमा १३ हजार एक सय ७८ जना बसिरहेका छन् । विगत एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएका छन् । तीमध्ये अधिकांश क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।     

१५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण  

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा. अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टाइनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए। ‘पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए’, उनले भने, ‘सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टाइनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।’    

उनले १४ दिन क्वारेन्टाइनमा बसेकालाई होम क्वारेन्टाइन पठाएर आइसोलेसन बढाउन लागेको जानकारी दिए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शंकास्पद बिरामी उपचाररत छन् । ‘होम क्वारेन्टाइन र क्वारेन्टाइनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरूसित उनीहरू समन्वयमै छन्’, अवस्थीले भने, ‘लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ ।’  

रासस