१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार १५:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भारतले हटाउन लाग्यो भनेर सार्वजनिक रूपमा रुवाबासी गर्नु शोभनीय भएन : कांग्रेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार १५:२९:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासँग लड्न नसकी भोगेको असफलतापछि जनताले खोजेको परिवर्तन ढाकछोप गर्न खोजेको जनाएको छ । 
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा सोमबार दिउँसो लगातार तीनवटा ट्विट गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिएका हुन् । 

आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका थिए । 

कांग्रेस प्रवक्ता शर्माले गरेको ट्विटमा प्रधानमन्त्रीले कुनै देशले हटाउन लाग्यो भनेर रुवाबासी गर्नु शोभनीय नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन्, सहयोद्धाहरूले जोगाइदिए तिनलाई धन्यवाद दिनुहोस् । बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन । थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन प्रधानमन्त्रीजी ।’

त्यसैगरी प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्री पदबाट हटाउन खोजेको भनी दिएको अभिव्यक्ति प्रस्ट्याउन माग पनि गरेका छन् । 

साथै कांग्रेसले नेकपासँग संसदमा रहेको बहुमतको आधारमा संवैधानिक सार्वभौमिकता नेकपासँगै रहे–नरहेको पनि प्रस्ट पार्न भनेको छ । 

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले हटाउन खोजेको भनी दिएको अभिव्यक्ति प्रस्ट्याउनुपर्ने माग गर्दै दुईवटा प्रश्न अघि सारेका छन् । 

प्रवक्ता शर्माले लेखेका छन्, ‘भारतले हटाउन खोज्दै छ प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ– १. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? २. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेकउपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’

साथै प्रवक्ता शर्माले संसदबाट पारित नक्सा सिंगो देश एकढिक्का भएर उभिएर सर्वसम्मत पारित गरेकाले उक्त नक्सा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा दिएको अटोग्राफ नभएको बताएका छन् । 

साथै कांग्रेसले प्रधानमन्त्रीले नक्सा पासको विषयलाई सत्तारक्षाको कवच बनाउन खोजेको प्रवृत्ति राजनीतिक र कूटनीतिक दुवै नभएको जनाएको छ ।