मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १३:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १३:२६:००

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाह निजी भ्रमणको सिलसिलामा सोमबार पोखरा आइपुगेका छन् । भ्रमणका उद्देश्यले उनीहरू पोखरा आए पनि भ्रमण तालिका भने सार्वजनिक गरेका छैनन् । उनीहरू करिब दुई साता पोखरामा रहने जनाइएको छ । बुद्ध एयरको विमानमार्फत दिउँसो करिब सवा १२ बजेतिर उनीहरू पोखरा अवतरण गरेका हुन् ।

पोखरा विमास्थलमा पूर्वराजा र रानीलाई स्वागत गर्न पूर्वराजावादीहरू, राप्रपाका कार्यकर्ता, स्थानीय एवं सर्वसाधारणको बाक्लो उपस्थिति थियो । पूर्वराजा ज्ञानेन्द्रले पनि सर्वसाधारणको स्वागतलाई सहजै स्वीकार गर्दै पैदलयात्रा गरेका थिए । कोमल भने गाडीमै थिइन् । उनी करिब २५ मिनेट पैदल हिँडेर उपस्थितहरूको स्वागत ग्रहण गरेका थिए ।

पैदल हिँड्ने क्रममा ज्ञानेन्द्रले सर्वसाधारणसँग हालचाल सोधेका थिए भने केहीले सरकार हामीले दुःख पायौँ, सरकारले हेरेन भनी गुनासो सुनाएका थिए । पूर्वराजारानीको भ्रमण व्यवस्थापन एवं स्वागतका लागि राष्ट्रवादी समूहको भेलाले केशव भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय स्वागत व्यवस्थापन समिति गठन गरेका थिए ।

समितिमा पूर्वराजावादीहरूसँगै, राप्रपा, कांग्रेस बिपी, शिवसेना, हिन्दूधर्मसभा, राष्ट्रवादी दललगायतका हिन्दूवादी संघ–संगठनका पदाधिकारी रहेका छन् । यसैगरी, पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठक एक साताअघि पोखरा आएर भ्रमणको चाँजोपाँजो मिलाएर फर्केका थिए ।

यसअघि पोखरा आउँदा सधैँ लेकसाइडमा बस्ने गरेका ज्ञानेन्द्र भने यसपटक लेकसाइडदेखि करिब ८ किलोमिटरको दूरीमा रहेको दोबिल्लास्थित नवनिर्मित रिसोर्टमा बसेका छन् । समितिका संयोजक भण्डारीले ज्ञानेन्द्रको यो भ्रमण नितान्त व्यक्तिगत र धार्मिक रहेको बताए । पूर्वराजा ज्ञानेन्द्रले पोखरा बसाइका क्रममा विन्ध्यवासिनीलगायतका पोखरामा रहेका अन्य मन्दिरहरूको दर्शन गर्ने कार्यक्रम मात्र रहेको भण्डारीले जानकारी दिएका थिए ।


 देशमा शान्ति र अमनचयन कायम होस् : ज्ञानेन्द्र

पोखरा भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्रले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुनुपर्ने बताएका थिए । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले देशमा शान्ति होस्, अमनचयन कामय होस् भन्ने कामना गरेका थिए । उनले पोखरामा स्वागतका लागि उपस्थित भएका सर्वसाधारणहरू देखेर धेरै खुसी भएको र जनताले माया गरेर बोलाएका जुन ठाउँमा पनि आउने प्रतिबद्धता जनाए ।