मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार ज्नकपुरधाम
२०७७ असार १४ आइतबार २१:४७:००
Read Time : < 1 मिनेट
समाचार

राजु सदा मृत्यु घटना : सर्वदलीय विशेष छानबिन समिति गठन 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, ज्नकपुरधाम
२०७७ असार १४ आइतबार २१:४७:००

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन केन्द्रमा उपचाररत राजु सदाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रदेश सभाले विशेष समिति गठन गरेको छ । राजु सदाको मृत्यु प्रकरणबारे प्रदेश सभा सदस्यहरूले आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले पाँच सदस्यीय सर्वदलीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा नेकपाका सांसद रवीन्द्र बैठा, जनता समाजवादी पार्टीका चमेलीदेवी दास, जसपाका सांसद सुरिताकुमारी साह, कांग्रेसका नरेशकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साह छन् । 

घटनाको छानबिन तथा अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिलाई पाँच दिनको समय दिएको सभामुखका राजनीतिक सल्लाहकार अनिल महासेठले जानकारी दिए । विशेष समितिले सभामुखको निर्देशनमा रही राजु सदाको मृत्यु सम्बन्धमा अध्ययन गर्ने, आवश्यक परेमा विशेषज्ञलगायत व्यक्तिको सहयोग लिन सक्ने, अध्ययनको क्रममा विभिन्न मन्त्रालय र कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने उनले बताए । यसैगरी, समितिले आफैँ कार्यविधि बनाई घटनाको छानबिन तथा अध्ययन गर्ने उनले बताए । 
यसअघि घटनाको विषयमा छानबिन गर्न प्रदेश २ सरकारले स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशरण साहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियाे । उक्त समितिलाई सात दिनको म्याद दिएको थियो ।    

भारतको चेन्नईबाट १४ जेठमा घर फर्केका धनुषा हंसपुर नगरपालिका– ७ पर्साहीका १६ वर्षीय राजु सदा क्वारेन्टाइनमा झाडापखाल लागेपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचाररत थिए । सोही  क्रममा ९ असारमा उनको मृत्यु भएको थियो । मृतकका परिवारले चिकित्सकको लापरबाही र उचित उपचार अभावमा राजुको मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।