खेलमै जीवन समर्पित गर्ने खेलाडी अनुशासित हुनुका साथै समान व्यवहार गर्छन् । मैदानबाहिरका व्यक्तित्वले अनुशासित बन्न खेलाडीकै पथ पछ्याउने गर्छन् । तर, विडम्बना नै भन्नुपर्छ यी दुई महत्वपूर्ण कुरा आत्मसात् गर्दै मैदानमा उत्रने खेलाडी अक्सर कालो र सेतो वर्णका भनी विपक्षी टोलीका प्रतिस्पर्धीलाई टीका–टिप्प्णी गर्न पुग्छन् । यसप्रकार हुने घटनाले समग्र खेल क्षेत्रलाई नराम्रो बनाइरहेको छ ।
गत महिना अमेरिकामा भएको एक घटनापछि रंगभेदी विवाद बढेको हो । अमेरिकन पुलिसले एक कालो वर्णका जर्ज फ्लोडलाई कस्टडीमै मारिएपछि यो विवाद चुलिएको हो । जसले सबै क्षेत्रमा प्रभावित बनाएका छन् । कोरोना भाइरस महामारीका रूपमा फैलिरहँदा पनि खेल क्षेत्रमा जर्जकै उदाहरण प्रस्तुत गर्दै रंगभेदी विषयमाथि खेलाडीहरूले आफ्नो भनाइ सार्वजनिक गरिरहेका छन् ।
यसैक्रममा वेस्टइन्डिजका कप्तान ज्यासन होल्डरले यो बहस मात्र नभएर निश्चित त्यस्ता कार्य गर्नेविरुद्ध नियम बनाउनुपर्ने धारणा राखेका छन् । डोपिङ र फिक्सिङ काण्डमा परेका खेलाडीविरुद्धको कारबाहीजस्तै कालो र सेता वर्ण भनी छुट्याउने खेलाडीमाथि कडा कारबाही हुनुपर्ने ज्यासनले माग राखेका छन् ।
कप्तान ज्यासन भन्छन्, ‘जसरी डोपिङ लिने र म्याच फिक्सिङमाथि कारबाहीको व्यवस्था छ, रंगभेदी गर्ने खेलाडीमाथि पनि यस्तै किसिमको व्यवहार हुनुपर्छ ।’ रंगभेदीविरुद्ध सबै एक भएर विरोध गर्नुपर्ने उनी बताउँछन् । ‘रंगभेदीजस्तो व्यवहार अरू ठूलो हुन सक्दैन, खेल क्षेत्रमा समान व्यवहार लागू गर्न हामी सबै मिल्नु र लड्नुपर्छ ।’
रंगभेदी व्यवहार गर्ने खेलाडी र व्यक्तिविरुद्ध आक्रामक भइरहँदा वेस्टइन्डिजका युवा कप्तान ज्यासनले आफूमाथि यस्तो व्यवहार कहिले नभएको बताए । ‘यद्यपि मैले अहिलेसम्म यस्तो व्यवहारको सामना गर्नुपरेको छैन, तर म आसपास यस्तै कार्य भइरहेको महसुस गर्न सक्छु,’ उनले भने, ‘यस्तो कार्य गर्नेलाई विशेष किसिमको दण्ड हुनुपर्छ अनि मात्र खेल क्षेत्र स्वच्छ बन्नेछ ।’
यद्यपि यस्तो कार्य गर्ने खेलाडी कारबाहीमा पर्न नसक्ने भने होइन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रंगभेदी क्रियाकलाप गर्ने खेलाडीलाई कारबाही गर्न सक्ने नियम बनाएको छ । आइसिसीले डोपिङ तथा म्याच फिक्सिङमा जस्तो कडा कारबाही रंगभेदी गर्ने खेलाडीलाई हल्का दण्ड दिन सकेको छैन ।
आइसिसीको एन्टिरेसिज्म कोर्डअनुसार एक खेलाडीले तेस्रो पटकसम्म कालो र सेता वर्णजस्तो भेदभाव गरे, उनी आजीवन प्रतिबन्धमा पर्न सक्छन् । यदि खेलाडीले एकपटक मात्र यस्तो कार्य गरे, उसलाई चार टेस्ट तथा आठ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा प्रतिबन्ध लगाइन्छ ।
पाकिस्तानका कप्तान सर्फराज अहमेदले एकपटक दक्षिण अफ्रिकाका अलराउन्डर एन्डी फेलुक्वायोलाई कालो वर्णका भनी शब्द उचारण गरेका थिए । आइसिसीले तत्कालै अहमेदलाई चार खेलमा प्रतिबन्ध लगाएको थियो । क्रिकेटमा अक्सर वेस्टइन्डिजका खेलाडी रंगभेदीको सिकार भइरहेका छन् । पूर्वकप्तान डेरन सामी तथा क्रिसगेल यसका उदाहरण हुन् ।
यसैबीच तीन महिनापछि इंग्ल्यान्डले घरेलु मैदानमा हुने सिरिज क्रममै रंगभेदीविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । यसमा वेस्टइन्डिजका खेलाडीको पनि साथ रहनेछ । वेस्टइन्डिजले इंग्ल्यान्डमा तीन टेस्ट सिरिज खेल्नेछ । पहिलो खेल ८ जुलाईमा हुनेछ । वेस्टइन्डिज र इंग्ल्यान्डबीच हुने खेल कोरोना भाइरसबीच अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो सिरिज हुनेछ ।