मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार ११:०९:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग

प्रेरक प्रसंग : राज-ज्योतिषको भविष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार ११:०९:००

एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राज-ज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राज-ज्योतिष बन्न चाहने धेरै ज्योतिष दरबारमा पुगे । राजाले पहिलो ज्योतिषसित प्रश्न गरे- तपाईं कसरी भविष्य भन्न सक्नुहुन्छ ? ज्योतिषले जवाफ दिए- ताराहरूको गणना गरेर । अर्का ज्योतिषसित पनि राजाले यही प्रश्न सोधे । उनले जवाफ दिए– म जन्मकुण्डली हेरेर भविष्य भन्न सक्छु । तेस्रा ज्योतिषले भने- म हस्तरेखा हेरेर भविष्यको आकलन गर्छु । राजाले सबैका जवाफ सुने, तर उनी सन्तुष्ट हुन सकेनन् ।

अचानक उनलाई आफ्नै राज्यका चर्चित ज्योतिष विष्णु शर्माको सम्झना भयो । तर, उनी भने यस छनोटमा सहभागी हुन आएका थिएनन् । त्यसैले, राजाले तत्काल उनलाई बोलाउन कर्मचारी पठाए । शर्मा दरबारमा हाजिर हुनासाथ राजाले सोधे– ‘ज्योतिषजी, मैले राज्यका लागि एउटा योग्य राज-ज्योतिषको खोजी गरेको तपाईंलाई पनि थाहै होला । तर, तपाईं त छनोटमा सहभागी हुनै आउनुभएन नि !’

विष्णु शर्माले आत्मविश्वाससाथ भने- महाराज म आफ्नो भविष्य जान्दछु । मलाई म नै राज-ज्योतिष हुनेछु भन्ने थाहा छ । आफैँले पाउने निश्चित भएको पद पाउन निवेदन दिन किन हालिराख्नु भनेर म छनोटमा सहभागी भइनँ । छनोटमा सहभागी ज्योतिष महानुभावलाई आफ्नै भविष्यबारे जानकारी रहेनछ । उहाँहरूले राज्यको भविष्य कसरी पो बताउनुहोला खै ? शर्माको जवाफ सुनेर राजा बाहुबली सन्तुष्ट भए र उनैलाई राज–ज्योतिष नियुक्त गरे ।