मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार ०५:५०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिड–१९ : डेढ सयभन्दा बढी औषधिमा अनुसन्धान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार ०५:५०:००

-कोभिड–१९ महामारी फैलिएको ६ महिनाभन्दा बढी भयो । रोगविरुद्ध खोप र औषधि तयार नभइसकेकाले महामारी नियन्त्रणमा आउन सकेको छैन । यसविरुद्ध डेढ सयभन्दा बढी औषधिमाथि अनुसन्धान भइरहेका छन्।

-संक्रमणको सुरुदेखि नै कोरोना भाइरसविरुद्ध सम्भाव्य खोप र औषधिबारे अध्ययन–अनुसन्धान तीव्र बनाइएको छ।

-हालसम्म अनुसन्धान भएका औषधिमा कोरोनाविरुद्धका कुनै न कुनै गुण पाइएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अगुवाइमा अमेरिका, बेलायत, चीनलगायत मुलुकका विज्ञ र वैज्ञानिक अनुसन्धानरत छन् ।

-पछिल्लो समय अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले डेक्सामेथासोन नामक औषधिलाई आइसियू र भेन्टिलेटरमा रहेका बिरामीको ज्यान बचाउन सबैभन्दा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

-बेलायतका वैज्ञानिकहरूले निकालेको यस निष्कर्षलाई कोभिड–१९ माथि विजय पाउन ठूलो उपलब्धि मानिएको छ । सन् १९६० को दशकमा गठिया र दमको उपचारका लागि तयार पारिएको डेक्सामेथासोन कोभिड–१९ विरुद्ध पनि उपयोगी हुने मानिएको छ ।

-डेक्सामेथासोन संसारभर सहजै उपलब्ध छ, र गरिब मुलुकका नागरिकका लागि सस्तो पनि । तर, यो संक्रमण रोकथाम र सामान्य अवस्थाका बिरामीका लागि कति उपयोगी छ भन्ने स्पष्ट भइसकेको छैन ।

-संसारभरका वैज्ञानिक बिरामीको रगत परीक्षणमा केन्द्रित छन् । एन्टिभाइरल औषधिले शरीरमा कोरोना भाइरस फैलिन रोक्न सक्छ कि सक्दैन भन्नेमा उनीहरू केन्द्रित छन् । यो नै अनुसन्धानको मुख्य विषय पनि हो ।

-संक्रमण नियन्त्रणमा शरीरको एन्टिबडीलाई मुख्य आधार मानिएको छ । बिरामीको रगत वा ल्याबमा बनाइएको एन्टिबडीले भाइरसको आक्रमण रोक्न सक्ने विश्वासमा वैज्ञानिक छन् ।

-भाइरस नियन्त्रणका लागि मानिसको रोगप्रतिरोधी क्षमता मजबुत हुनुपर्नेमा वैज्ञानिकहरू सहमत छन् । तर, भाइरस संक्रमणपछि रोगप्रतिरोधी क्षमता नै अति सक्रिय भएर शरीरमा प्रतिकूल प्रभाव पार्ने विषयले वैज्ञानिकहरूलाई चुनौती दिएको छ ।

-कोरोना भाइरसको प्रकृतिबारे अझै धेरै जानकारी आउन बाँकी रहेकाले संक्रमण रोकथाम र उपचारका लागि औषधि र खोप आउन अझै केही समय पर्खिनुपर्ने वैज्ञानिकहरू बताउँछन् ।