१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १३ शनिबार २०:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सलह नियन्त्रण गर्न प्रदेश ५ सरकारको ‘स्किम’ : एक केजी समातेर ल्याउनेलाई २० रुपैयाँ

Read Time : > 1 मिनेट
२०७७ असार १३ शनिबार २०:०५:००

रुपन्देहीलगायत जिल्लामा सलह भित्रिएपछि प्रदेश ५ सरकार नियन्त्रणको उपायमा लागेको छ । शनिबार दिउँसो बसेको प्रदेश विपत् व्यवस्थापन समितिको बैठकले सलह समातेर ल्याउनेलाई प्रतिकेजी २० रुपैयाँ नगद दिने रोचक  ‘स्किम’ ल्याएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले सलह नियन्त्रणका लागि तीन उपाय अपनाउने निर्णय भएको बताए । सलह समातेर ल्याउनेलाई प्रतिकेजी २० रुपैयाँका दरले दिने, अहिले खेतमा रहेको धानको बिउ झुल अथवा जालीले जोगाउने तथा विषादी झर्किएर सलह नष्ट गर्न किसानहरूलाई भन्ने निर्णय भएको बताए । 

किसानलाई प्रोत्साहन गर्न प्रतिकेजीका दरले नगद दिने निर्णय भएको मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए । एकजनाले धेरै जम्मा गर्न सक्ने भएकाले प्रतिकेजी २० रुपैयाँ दिँदा पनि धेरै प्रोत्साहन हुने उनको भनाइ छ । 

प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलह भित्रिएपछि विज्ञहरूसहित सरोकारवालाबीच छलफल भएको बताए । प्रदेश ५ को बुटवलमा धेरै सलह देखिएको छ । भारतबाट बिहान भित्रिएको सलह उत्तरतर्फ लागिरहेको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

निर्णयपछि मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् 
आज मिति २०७७ साल असार १३ गतेका दिन भारतबाट सलह किराको ठूलो झुण्ड प्रदेश नं. ५ को रुपन्हेहीबाट प्रवेश भई तराई तथा मध्य पहाड क्षेत्रको खेतवारीमा लगाएका वालीनालीलाई व्यापक क्षति गरी कृषि क्षेत्रमा प्रतिकूल असर पार्ने अवस्था देखिएको छ ।

यो किरा कुनै ठाउ विशेषमा स्थिर रहेर नवस्ने स्वभावको भएको कारणले केही दिन आफ्नो खेतवारीको निगरानी गर्नु आवश्यक छ । हाल धानको रोपाइ भईरहेकोले अझै धानको व्याड राखिएको अवस्था भएमा उक्त व्याडलाई कपडा वा प्लाष्टिकले छोपेर सुरक्षित राख्न उचित हुन्छ ।

सलह किरा नियन्त्रणका लागि खेतवारीमा धुवाउने, आगो बाल्ने, तत्काल उपलव्ध हुने विभिन्न माध्यमबाट ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतवारीको वारपार टाँगेर दुवैबाट बालीनालीका बोटहरू हल्लाइदिने, हास तथा चराहरूलाई किरा खान वातावरण तयार गर्ने, सलह उडनु अघि सवेरै विहान बाली खानुभन्दा पहिलै खेतबारीबाट सलहलाई धपाउने, प्रभावित क्षेत्रका कृषकहरूलाई सलह किरा संकलन गरी पशुपंछी तथा मत्स्य दानाको रुपमा प्रयोग गर्ने, पातमा जैविक विषादी वा गन्ध आउने वा टासिने वस्तु प्रयोग गर्ने, झूल र जालमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न सकिन्छ। अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्न उचित हुन्छ।

प्रदेश सरकारले सलह किरा छोपेर वुझाउनेलाई प्रोत्साहन स्वरुप रु २० दिने निर्णय पनि गरेको छ । वसेको वेलामा सजिलै समात्न सकिन्छ । केही दिनको सतर्कता र सचेत पहलकदमीवाट सलहको प्रकोपवाट वालिनाली जोगाउन सकिन्छ ।