मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गोविन्द सुवेदी
२०७५ पौष ३ मंगलबार १३:१९:००
Read Time : > 1 मिनेट
प्रदेश

पोखरालाई पर्यटकीय राजधानी बनाउने निर्णय

Read Time : > 1 मिनेट
गोविन्द सुवेदी
२०७५ पौष ३ मंगलबार १३:१९:००

गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानी बनाउन केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारको निर्णय केन्द्र सरकारलाई पठाउने तयारी भइरहेको जानकारी दिए । एक÷दुई दिनमै सो निर्णय संघीय सरकारलाई पठाउने तयारी भएको उनले बताए । ‘यसअघि पोखरा पर्यटकीय राजधानी हो मात्र भनियो, अब सबै हिसाबले औपचारिक रूपमै केन्द्र सरकारले राजधानी घोषणा गर्ने गरी हाम्रो मन्त्रिपरिषद्ले निर्णय नै गरेको छ, केन्द्र सरकारलाई तुरुन्त निर्णय पठाउने तयारीमा छाँै,’ मन्त्री लम्सालले भने । 

सातवटै प्रदेश सरकारको सहमति 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न देशका सातवटै प्रदेशले स्वीकृति दिएको जनाइएको छ । पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले पोखरालाई पर्यटकीय राजधानी बनाउने गरी अनौपचारिक सहमति गरेको थियो । पछि सबै प्रदेशले औपचारिक सहमति दिएपछि गण्डकी  प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको पर्यटनमन्त्री लम्सालले जानकारी दिए । 

पोखराबाट देश विदेशमा राम्रो सन्देश जाने गरी घोषणासभा गरेरै पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको तयारी छ । सो घोषणा प्रधानमन्त्री केपी शर्मा ओली वा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री लम्सालले बताए । ‘केन्द्र सरकारले हामीले निर्णय गरेको प्रस्तावलाई अनुमोदन गरेसँगै हामी यहाँ बृहत् कार्यक्रम गर्नेछौँ,’ उनले भने, ‘यसले पोखराका बारेमा अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण सन्देश जानेछ ।’ 


यसकारण पोखरा पर्यटकीय राजधानी बन्न योग्य

पोखरा र वरपरको क्षेत्र अर्थात् समग्र गण्डकी प्रदेशलाई नै पर्यटकीय केन्द्रका रूपमा लिन सकिन्छ । प्रदेश सरकारको पहिलो प्राथमिकतामा पनि पर्यटन प्रर्वद्धन र पर्यटकीय क्षेत्र विकास रहेको छ । 

पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा काठमाडौं र मुग्लिन जोड्ने सडक चौडा हुने क्रममा, पोखरा लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग पनि चौडा गरिने, कोरला–पोखरा र पोखरा– सुस्ता जोड्ने सडक पूर्वाधार बन्ने क्रम जारी नै छ । यी पूर्वाधार बन्न अब धेरै समय लाग्नेछैन ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग, पोखरा र वरपर हुने साहसिक पर्यटकीय गतिविधि, देशकै मध्यभाग, उपयुक्त हावापानी, फेवातालसहित रामसार सूचीमा सूचीकृत ७ ताल, मनोरम अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमाल, महत्वपूर्ण धार्मिक स्थलहरू, यस क्षेत्रमा रहेका विभिन्न  जातजाति अनि भाषाभाषीका संस्कृतिजस्ता धेरै पर्यटकीय आधारहरूले पोखरा राजधानी घोषणाका लागि तयारी अवस्थामा रहेको प्रदेश सरकारको ठहर छ । पर्यटकीय राजधानी घोषणा गर्दा देशभित्र र बाहिर ध्यान केन्द्रित हुने र पर्यटन क्षेत्रमा लगानी पनि त्यही ढंगले बढ्नेछ ।