मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १३ शनिबार ०५:५१:००
Read Time : > 1 मिनेट
खेलकुद

चर्चित खेलाडी  जो कोरोना संक्रमित भए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १३ शनिबार ०५:५१:००

पाकिस्तानले यही २८ जुनमा इंग्ल्यान्डविरुद्ध सिरिज खेल्न त्यसतर्फ जाने तयारी गरेको थियो । कोरोना भाइरस महामारीबीच हुन लागेको यो नै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । तर, भ्रमणको मुखैमा इंग्ल्यान्ड भ्रमणमा निस्किन लागेको पाकिस्तानी टोलीभित्र हलचल मच्चिएको छ । 

सहभागी सबै खेलाडीको कोरोना परीक्षण भएको थियो । जसमा १० खेलाडी कोरोना पोजेटिभ भेटिएका छन् । फखर जमान, इमरान खान, कासिफ भाटी, मोहमद हफिज, मोहमद हैसन, मोहमद रिजवान, वाहव रिज, हैदर अली तथा ह्यारिस रौफ यतिवेला कोरोना संक्रमणविरुद्ध लडिरहेका छन् । 

इंग्ल्यान्डविरुद्धको सिरिजका लागि तयार गरेको टोलीका मुख्य खेलाडी संक्रमित भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले विकल्प खोजिरहेको छ । तर, मुख्य स्पिनर सहदाव खान पनि संक्रमित भएका छन् । पिसिबीले उनको विकल्प भेटाउन सकेको छैन । पिसिबीले अर्को सूचना जारी नगर्दासम्म सबै खेलाडी क्वारेन्टाइनमै रहनेछन् । 

क्वारेन्टाइनपछिको परीक्षणमा नेगेटिभ आए मात्र उनीहरूले इंग्ल्यान्ड भ्रमण गर्न पाउनेछन् । यसअघि पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी संक्रमित भएका थिए । अफ्रिदी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । क्रिकेट मात्र होइन, टेनिसका स्टार खेलाडी पनि सुरक्षित रहन सकेनन् । वर्तमान समयका एक नम्बर खेलाडी नोभाक जोकोभिक नै संक्रमित भएका छन् । 

जोकोभिक पनि कोभिड–१९ बाट सुरक्षित नरहेको समाचार सार्वजनिक हुँदा यस क्षेत्रमै सन्नाटा छाएको छ । कोभिड–१९ मै फुटबल खेल सुचारु भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फर्कंदा त्यति सहज रहेन । खेलाडीहरू कोरोना संक्रमित हुँदा सुरुवाती दिनमा क्लबले धेरै कठिनाइ सामना गर्नुपर्‍यो । युभेन्टसका फरवार्ड पाउल डिबाला स्टार खेलाडीमध्ये सुरुमै संक्रमित लिस्टमा परे । इटालियन सिरिए लिग रद्द हुनुअघि उनी संक्रमित भए । यसअघि युभेन्टसका डिफेन्डर डानिएल रुगानी संक्रमित भएका थिए । त्यसपछि युभेन्टसकै ब्लासे माटुडीले पनि डिबाला र रुगानीकै पथ पछ्याए । बुन्डेस लिगापछि सुरु भएको इंग्लिस प्रिमियर लिगमा चेल्सीका स्टार खेलाडी कालुम हुडसन पनि कोभिड–१९ विरुद्ध लडिरहेका छन् ।