Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७७ असार १३ शनिबार ०४:०८:००
मुख्य समाचार

चीनले अनुदान दिएको ३० हजार किट प्रयोग गर्न नमिलेर गोदाममा, सेनाले ६ करोड खर्चेर त्यही कम्पनीको २८ हजार किट ल्यायो

२०७७ असार १३ शनिबार ०४:०८:००

सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँचवटै मेसिन प्रयोग गर्न नमिलेर थन्किएका छन्

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ ।

कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । थ्री एमएलभन्दा वान एमएल आफैँमा कम गुणस्तरको हो । सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । ‘गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन् । 

दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ । ‘चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग गर्‍यौँ, तर एक्स्ट्रयाक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्रयाक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन,’ डा. झा भन्छिन्, ‘एक्स्ट्रयाक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) प्रयोग हुन्छ । ‘सेनाले ल्याएको किटले सोही कम्पनीको भिटिएममा मात्र सपोर्ट गर्छ, अरू भिटिएममा प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी भन्छन्, ‘देशमा हाल थरिथरिका भिटिएम प्रयोग भएका छन् । तर, सेनाले ल्याएको किट अरू कुनै पनि भिटिएममा प्रयोग गर्न मिल्दैन ।’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने सेनाले खरिद गरेको किट प्रयोगमा आएन भन्ने सुन्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् । ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौँ । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दुःखी बनाएको छ,’ उनले भने, ‘स्पेसिफिकेसनमा मागेको भन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपथ्र्यो । त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ ।’ 

सेनाले के–के सामग्री चाहिन्छ भनेर सोधे पनि ‘स्पेसिफिकेसन’बारे छलफल नभएकाले अहिले समस्या आएको डा. झाको भनाइ छ । ‘हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सोधेको हो । तर, पिसिआर ल्याबका लागि के–के सामान चाहिन्छ, १० मिनेटभित्र पठाइदिनु भन्ने कुरा आयो । करिब एक घन्टामा मैले एउटा पिसिआर ल्याब सञ्चालन गर्न के–कति सामान चाहिन्छ भनेर सिफारिस गरेँ । पिसिआर किट, आरएनए एक्स्ट्रयाक्सन र भिटिएमलगायत ल्याबमा चाहिने अन्य सामग्रीहरूको सूची उपलब्ध गराएँ,’ उनी भन्छिन्, ‘तर, हामीले यस्तो प्रकारको भिटिएम र आरएनए एक्स्ट्रयाक्सन आउला भन्ने सोचेका थिएनौँ । सामान आएपछि हामी त आरएनए एक्स्ट्र्याक्सन वितरण गर्न तैनाथ भएका थियौँ, तर एयरपोर्टमा आएको किटको फोटो हेर्दा छक्क पर्‍यौँ ।’

सेटमा प्रयोग गर्नुपर्ने किटहरू वितरण गरेर प्रयोग गर्दा समस्या आएको हुन सक्ने सेनाको बुझाइ रहेको सैनिक प्रवक्ताको भनाइ छ । ‘हामीले ल्याएका किट सेटमा मात्रै प्रयोग गर्न मिल्ने देखियो । सेटको किटलाई भिटिएम र आरएनए एक्स्ट्रयाक्सन फरकफरक रूपमा वितरण गर्दा समस्या आएको हुन सक्छ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने ।

हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्रयाक्सन किट, भिटिएम र पिसिआर रिएजेन्ट सबै आरटी पिसिआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका छन् । देशको कुनै पनि भागमा पठाएको ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन गरी जहाँ पनि परीक्षण गर्न सकिन्छ । तर, सेनाले ल्याएको एक्स्ट्रयाक्सन किट ओम्नीले ल्याएको मेसिनमा मात्र प्रयोग गर्न मिल्छ, तर ती मेसिन काम नलाग्ने भएर थन्किएका छन् । 

ओम्नीले २१ हजार डलरका दरले पाँच पोर्टेबल मेसिन ल्याएको थियो । जसमा कुल एक लाख पाँच हजार डलर अर्थात् एक करोड २५ लाख ९४ हजार खर्च भएको थियो । ‘त्यति ठूलो धनराशि खर्च भएको मेसिन बिग्रिएका छन्, चीन सरकारले दिएका २८ हजार किट थन्किएका छन्, त्यसमाथि ६ करोड खर्च गरेर त्यस्तै किट ल्याइएको छ, यसले राज्यकोषमाथि खेलबाड मात्र भएको देखिन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

देशमा अहिले २१ प्रयोगशाला छन्, दुई प्रयोगशालामा यो किट प्रयोग गर्न सकिने अनुमानका आधारमा परीक्षण पनि गरिएको थियो । स्वास्थ्यसचिव लक्ष्मण अर्याल भन्छन्, ‘आमरूपमा यो किट प्रयोगमा समस्या आएको छ, तर वीर र पाटन अस्पतालमा केही मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी पनि आएको छ, यो विषयमा हामी छलफल गरिरहेका छौँ ।’ 

तर, वीर अस्पतालले प्रयोग गर्न खोजे पनि समस्या देखिएको छ । ‘त्यो भिटिएममा संकलन गरिएको स्वाब लामो समय राख्न मिल्दैन । सेनाले ल्याएको भिटिएम र एक्स्ट्रयाक्सन किट दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । तर, हाल देशभर प्रयोगमा रहेका ‘थ्री एमएल’का भिटिएम कोठाको सामान्य तापक्रममा राख्न सकिन्छ,’ वीर अस्पतालका कोभिड फोकलपर्सन डा. अच्युत कार्की भन्छन्, ‘सेनाले दिएको केही किट हामीले प्रयोगमा ल्याएका थियौँ । तर, यसबाट स्वाब परीक्षणमा गम्भीर त्रुटि देखियो । यो आरएनए एक्स्ट्रयाक्सन किट अन्य बजारमा भएका भिटिएमसँग मिल्दैन ।’ 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पनि नमुना संकलन गरेर प्रयोगशालामा लग्ने पद्धतिका लागि सेनाले ल्याएको किट प्रयोग गर्न नमिल्ने जानकारी आएको बताए । ‘एक ठाउँमा स्वाब संकलन गरे अन्यन्त्र लगी परीक्षण गर्न नमिल्ने प्रकारको किट आयो भन्ने जानकारी आएको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयले गहन छलफल गरिरहेको छ,’ उनले भने । 

अभावका वेला खरिद गरिएको २८ हजार किट प्रयोगमा नआउँदा स्वास्थ्य मन्त्रालय ठूलो समस्यामा परेको छ । मन्त्रालयले १५ असारदेखि दैनिक १० हजार नमुना परीक्षण गर्ने लक्ष्य राखेको छ । वीर अस्पतालका कोभिड फोकलपर्सन डा. कार्की भन्छन्, ‘धेरै परीक्षण गर्ने सरकारको योजनामा यो किटले बार लगाएको छ ।’ अब स्वास्थ्य मन्त्रालयसँग २० हजार मात्रै किट मौज्दात छ । दैनिक पाँचदेखि सात हजारका दरले परीक्षण हुन थालेकाले बढीमा एक साताभन्दा धान्न नसक्ने देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन्–किट ठीक छ भनेर हस्ताक्षर गर्न भनिएको थियो, मैले गरिनँ

अहिले जताततै आरएनए एक्स्ट्र्याक्सन किट, पिसिआर र भिटिएमको नाम पटक–पटक आइरहेको छ । तिनको नाम धेरैले उच्चारण गरेको सुनिन्छ, तर तिनको काम के हो भनेर सरल रूपमा कसरी बुझ्न सकिन्छ ?

कुनै पनि व्यक्तिको नमुना निकालेर राख्ने भाँडोलाई भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) भनिन्छ । भिटिएममा संकलित नमुनालाई केमिकलमा घोलिन्छ किनकि कोरोना भाइरस पत्रपत्रभित्र लुकेको हुन्छ । पत्र फुटाएर भाइरस निकाल्न आरएनए एक्स्ट्रयाक्सन किट चाहिन्छ ।

यसरी निकालिएको आरएनए कोरोना भाइरसको आरएनए हो कि होइन भनेर थाहा पाउन पिसिआर किट चाहिन्छ । पिसिआरले एउटा सानो जीवाणुलाई लाखौँमा फोटोकपी गरेर देखाउँछ जसको आधारमा भाइरस छ कि छैन, प्रस्ट देख्न सकिन्छ । त्यसैले भिटिएम, आरएनए एक्स्ट्रयाक्सन किट र पिसिआर एउटै प्रक्रियाका लागि आवश्यक तीन सामग्री हुन् । 

सेनाले ल्याएको र प्रयोग गर्न समस्या भएको सामग्री के हो ? उसले छुट्टाछुट्टै सामग्री ल्याएको छ कि सेट नै ? 

सेनाले ल्याएको किट सेटमै छ । उसले ल्याएको किट नेपालमा नयाँ पनि होइन । विगतमा ओम्नीले पनि यही किट ल्याएको थियो । ओम्नीले खरिद गरी सानो पोर्टेबल पिसिआर मेसिनका लागि ल्याएको थियो । चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग गर्‍यौँ, तर एक्स्ट्रयाक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्रयाक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन ।

हाम्रो प्रयोगशालामा नमिल्ने किटले गलत नतिजा आउँदा समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो । 

सेनाले त खरिद मात्र गरेको हो, प्राविधिक रूपमा कस्तो सामग्री ल्याउने भनेर त स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य प्रयोगशालाले निश्चित गरेको होला । जुन कम्पनीको किट अनुदानमा पाउँदा पनि प्रयोग गरिएन, अहिले किनेर किन ल्याइयो ? यसमा तपाईंहरूले पनि जिम्मेवारी लिनुपर्छ होला नि  ?

सेनाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सोधेको हो । तर, पिसिआर ल्याबका लागि के–के सामान चाहिन्छ, १० मिनेटभित्र पठाइदिनु भन्ने कुरा आयो । करिब एक घन्टामा मैले एउटा पिसिआर ल्याब सञ्चालन गर्न के–कति सामान चाहिन्छ भनेर सिफारिस गरेँ । पिसिआर किट, आरएनए एक्स्ट्रयाक्सन र भिटिएमलगायत ल्याबमा चाहिने अन्य सामग्रीको सूची उपलब्ध गराएँ ।

तर, हामीले यस्तो प्रकारको भिटिएम र आरएनए एक्स्ट्र्याक्सन आउला भन्ने सोचेका थिएनौँ । सामान आएपछि हामी त आरएनए एक्स्ट्र्याक्सन वितरण गर्न तैनाथ भएका थियौँ, तर एयरपोर्टमा आएको किटको फोटो हेर्दा छक्क पर्‍यौँ । चीनले अनुदानमा दिएका ३० हजार किट स्टोरमा राखिएको छ, फेरि त्यही किट आइपुग्यो । 

किट ल्याएपछि त्यो प्रयोग गर्न मिल्ने हो कि होइन भनेर तपाईंहरूबीच के–कस्तो छलफल भयो ? 

किट ल्याएको तीन दिनमा सामान बुझ्न स्वास्थ्य मन्त्रालयलाई बोलाउनुभएछ । त्यसमा मलाई पनि आमन्त्रितका रूपमा बोलाउनुभयो । सामान हेरेपछि यो सामान ठीक छ भनेर हस्ताक्षर गराउन सेनाले पत्र तयार पारेको थियो । २८ हजार किट प्रयोग गर्न उपयुक्त छ भनेर पत्र बनाइएको थियो । तर, मैले त्यसमा हस्ताक्षर गर्न मानिनँ । ल्याबमा प्रयोग नगर्दासम्म उपयुक्त हो वा होइन भन्न मिल्दैन । आइपुग्नुअघि नै यस्तो किट आउँदै छ भनेर सोधेको भए त्यस्तो नल्याउनुस् भनेर स्पष्ट भनिदने थियौँ । 

यस विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको भूमिका के थियो ? तपाईंहरूले पनि यो विषयमा छलफल गर्नुभयो होला नि ? 

किट प्रयोगमा समस्या भएको जानकारी आएपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई जानकारी गराइएको थियो । तर, निर्देशक नयाँ भएकाले उहाँको बुझाइमा केही कमी देखियो । महाशाखाका निर्देशक डा. रमेश खरेललाई यो किट प्रयोग गर्न सकिँदैन भन्ने जानकारी गराइएको थियो । तर, प्राविधिक विषय बुझ्न नसक्दा उहाँले यसलाई ‘नेगेटिभ’ अर्थमा लिन पुग्नुभयो । बरु, महाशाखाबाट त्यो सामग्री विभिन्न स्थानमा वितरण भएको जानकारीमा आयो । वीर अस्पतालले सुरुमा त्यही सेटभित्रको किट प्रयोग गर्दा नतिजा राम्रो आयो भनेर विभिन्न ठाउँमा वितरण गरियो । तर, नमुना बिग्रन थालेपछि फिर्ता भएको छ । 

यो किट अब प्रयोग हुन सक्छ कि सक्दैन, कुनै न कुनै प्रयोगशालामा त प्रयोग हुन सक्ला नि ?

आफैँले नमुना संकलन गरेर ल्याउने अवस्थामा मिल्न सक्छ । किट आफैँमा गुणस्तरीय छैन । तर, महामारीको समयमा प्रयोगमा ल्याउन सकिन्छ । आफैँ संकलन गर्न गएर ल्याए मिल्न सक्छ । तर, जहाँ नमुना संकलन भएर मात्रै परीक्षणका लागि पुग्छ, त्यस्तो ठाउँमा गाह्रो छ । वीर, पाटन, शिक्षण अस्पतालले प्रयोग गर्न सक्छन् । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्–सेनाले ल्याएको किट प्रयोगमा नआएको सुन्दा दुःखी छौँ

हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौँ ।

तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दु:खी बनाएको छ ।

स्पेसिफिकेसनमा मागेकोभन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपर्थ्यो।

त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ ।

हामीले ल्याएका किट सेटमा मात्रै प्रयोग गर्न मिल्ने देखियो ।

सेटको किटलाई भिटिएम र आरएनए एक्स्ट्रयाक्सन फरक–फरक रूपमा वितरण गर्दा समस्या आएको हुन सक्छ भन्ने हाम्रो बुझाइ छ ।