मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ असार १२ शुक्रबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

परराष्ट्रमन्त्री ज्ञवालीको ब्रिफिङ : भारत वार्ताका लागि अझै अनिच्छुक, चीनले सीमा अतिक्रमण गरेको प्रचार नियोजित 

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार १७:१८:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थायी समितिकाे बैठकमा भारतले सीमा समस्या समाधानका लागि नेपालसँगको वार्तामा अझै तत्परता नदेखाएको ‘ब्रिफिङ’ गरेका छन् ।

बैठकमा शुक्रबार उनले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ‘ब्रिफिङ’ गर्दै त्यस्तो जानकारी गराएका हुन् । ज्ञवालीले सीमा अतिक्रमणको समस्या समाधानका लागि पटक–पटक भारतलाई दुई देशस्तरीय सचिव तहको वार्ताका लागि प्रस्ताव गरे पनि तत्परता नदेखाएको बताए ।

‘परराष्ट्रमन्त्रीले सीमा समस्या र समाधानका बारेमा सुरुदेखि अहिलेसम्मका विकसित घटनाक्रमबारे जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘त्यसक्रममा नेपालले कूटनीतिक संवादको माध्यमबाटै अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहे पनि अहिलेसम्म वार्ताका निम्ति सकारात्मक तत्परता नदेखाएको ब्रिफिङ सुनाउनुभएको छ ।’

यद्यपि, नेकपा भारत छिट्टै वार्ताका लागि तयार हुने र कूटनीतिक वार्ताको माध्यमबाटै सीमा समस्या समाधान हुनेमा आशावादी रहेको पनि श्रेष्ठले बताए । 

त्यस्तै, मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यममा आएकाे चीनद्वारा नेपाली भूमि अतिक्रमण भन्ने समाचार  झुटाे भएको पनि जानकारी गराएका थिए ।

‘उहाँले चीनद्वारा नेपाली भूमि अतिक्रमण गरेको भन्ने केही सञ्चारमाध्यममा आएको कुरा सर्वथा झुटो, नियोजित र भ्रमात्मक प्रचार हो र चीनसँग सीमाका सम्बन्धमा अहिलेसम्म कुनै समस्या नभएको जानकारी गराउनुभएको छ,’ बैठकपछि श्रेष्ठले भने ।